सज्जनसित अथाह सम्पत्ति थियो । सज्जनलाई कुनै कुराको कमी थिएन । सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो । सज्जनले उसको घरैअघिको गेटमा एउटा
माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो । सज्जनलाई सनक्क रिस उठ्यो र माग्नेलाई झपार्न थाल्यो – “ए भाते तँलाई माग्न लाज लाग्दैन? यत्रा हात पाखुरा छन् !”
माग्नेले भन्यो -“हजुर दुई दिनदेखि काम नपाएर भोको छु ।”
यो सुनेपछि सज्जनले -“ल ल धेरै बहस नगर्ने ” भन्दै नाम थर सोध्न थाल्यो ।
माग्नेले भन्यो – “हजुर मेरो नाम सज्जनदेव हो, थर बाह्रमासे ।”
सज्जनलाई उसको जबाफमा रोकिन मन लागेन र पुन सोध्न थाल्यो – “के भएर तिम्रो यो हाल भयो ?”
त्यो सज्जनदेवले भन्यो -“मलाई त मेरै आफन्तले कुलंघार बनाए हजुर । खाली पानामा सही गर्न लगाएर मेरो सबै घर, जग्गा ओघटे, मलाई पढ्न नै आउदैन ।”
अब सज्जनलाई त्यो सज्जनदेवलाई त्यहाँ उभिँदा आफ्नो सबै बिगत खोलिने डरले सताउँन थाल्यो । उसले खल्तीबाट सज्जनदेवको हातमा दशको नोट थमाएर गाडीमा बेगसाथ
हुइकियो । बाटाभरि उसलाई उसकी ठूली आमाको छोरा रमेशको याद आयो, जसको अज्ञानताको फाइदा उठाएर उसले यो माग्नेको हालतमा छोडेको थियो ।
अस्तु :
बिबेक दुलाल क्षेत्री
दमक
