Skip to content


१. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना
चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना
यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन
यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन ।

२. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी
पीडा, दर्द र दुक्ख, कष्ट मनका सन्ताप लग्ने हरी
अग्लो तीनजुरे पहाड हरियो हेर्दै हिमाली छटा
बस्छिन् पर्वतकी पवित्र दुहिता श्री पार्वती-सङ्कटा ।

३. पात्ले, खसुर, गुराँस जङ्गल हुँदै मान्छे हिँडे मास्तिर
मिल्ला सुन्दर, भव्य, पावन धरा, पाथीभरा-मन्दिर
भन्छन् नाम कवाइटार तर हो नागी निकै अब्बल
केही दोष शरीरमा यदि भए पार्ने सबै निर्मल ।

४. द्यौरालीतिर भेटिने प्रकृतिका छोरी उमा या रमा
भत्केको मन टालिनेछ पुगिए रत्नाउले खर्कमा
चारैतर्फ छ शान्ति सुन्दर सफा, टल्केर ऐनासरि
ओर्लिन्छन् हिमशृङ्खला प्रतिपला आफ्नै अँगालाभरि ।

५. आँखाभित्र प्रकाशपुञ्ज नअटी सारा जगत् ढाकिने
मैलो भाव पखालिएर मनमा आनन्द वर्षा हुने
जाँदा जोस जगाउने, अनि हुने सञ्चेतना उर्वरा
जाऊँ चिन्मय चेत जाग्रत हुने ज्योतिष्मतीको धरा ।

६. आई आज उचाइमा हृदयको आकाश छर्लङ्ग भो
छेवैको हिमशैलबाट मनको तिर्खा सबै भङ्ग भो
चङ्गा चित्त शरीर शीत-कँणले सर्वाङ्ग नै शुद्ध छ
मानौँ शुद्ध शरीरमा चहकिलो आलोकको बुद्ध छ ।

(कवाइटार ः तेह्रथुम जिल्लाको तीनजुरे पहाडस्थित ९,५०० फिट (२,९०० मिटर) अग्लो नागीमा अवस्थित पाथीभरा देवीको मन्दिर रहेको ठाउँ जहाँबाट ताप्लेजुङको प्रसिद्ध पाथीभरा लगायत मकालु, कञ्चनजङ्घा जस्ता हिमालहरूको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।)

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *