Skip to content


दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम मानवीय गरिमाको रक्षाका लागि जोखिम मोलेर लडेका यी ‘जदौ बूढा’ मुलुकमा नागरिकको वास्तविक शासन व्यवस्था आए पनि एकले अर्कोलाई निषेध गर्ने परम्परा सुरू भएकोमा चिन्तित छन् । भन्छन्, ‘आजको चेतनाको बीउ महाकवि देवकोटाको के नेपाल सानो छ भन्ने निबन्धको सार हो तर हामी त्यसको ठीक उल्टोतिर गइरहेका छौं ।’

मान्छे जीवनमा सधैँ आदर्शलाई पछ्याएर मात्र बाँच्न नसक्ने हुनसक्छ भन्ने पनि यज्ञनिधिलाई राम्रैसँग थाहा छ । त्यसको उदाहरणका रूपमा उनी महान् कवि भूपी शेरचनलाई लिन्छन् । उनी भन्छन्,

‘पञ्चायतको अन्त्यतिर राजाको पछि लागेर प्राज्ञ बनेको समयमा पनि उनले कवितामा धर्म छाडेनन् । त्यहीबेला सर्पको खोजीमा जस्तो कविता लेखे ।’ उनले यो सन्दर्भलाई केहीपछि जोड्दै भने, ‘अहिलेका प्राज्ञ हुन् या राजनीतिज्ञ, आमबुद्धिजीवी हुन् या अधिकारवादी, आर्यवादी हुन् या जनजाति सबैमा आफ्नो चेतना र दायित्व अनुसार काम गर्ने संस्कार छैन ।’

वि.सं. २०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहालको शैक्षिक पृष्ठभूमि संस्कृत शिक्षा हो । धरानबाट पूर्वमध्यमा सकेपछि उनी २०३० सालमा काठमाडौँं छिरे । वाल्मीकि विद्यापीठबाट उनले शास्त्री पास गरे । यो क्रमसँगै उनी साहित्यप्रति उन्मुख हुन थाले, विभिन्न कार्यक्रम उद्घोषण गरेर । संंस्कृत शिक्षा र वेदको शुद्ध पाठको परम्परा भएका कारण उनमा आत्मविश्वास पनि थियो । त्यो आत्मविश्वासको पछि लाग्दै यज्ञनिधिले रेडियो नेपालमा काम सुरु गरे साहित्यिक कार्यक्रम नामको दैनिक कार्यक्रमबाट । त्यही कार्यक्रमको निरन्तरताका रूपमा पछि साहित्य संसार नामको साताको तीनदिने कार्यक्रम चलाउन थालेका दाहालले विज्ञापन र अन्य नीतिका कारण समय छोटिँदै गएको सोही कार्यक्रम र विभिन्न समयमा हाम्रो संस्कृति, हाम्रो परम्परा कार्यक्रम पनि सञ्चालन गरे । यिनै दुई कार्यक्रमको उद्घोषण र प्रस्तुतिका कारण उनी संभवतः त्यो कालमा सबैभन्दा बढी सुनिने रेडियो कार्यक्रम प्रस्तोताका रूपमा स्थापित हुन पुगे । उनको कार्यक्रम गम्भीर श्रोताका लागि त उपयोगी र लोकप्रिय थियो नै, सामान्य र साधारण श्रोताका लागि पनि निकै चाखलाग्दो थियो । त्यसको मूल कारण दाहालको प्रस्ट उच्चारण र ठेट नेपाली भाषा नै थियो । त्यहीबेला उनले सुरु गरेको नमस्कारको ठाउँमा ‘जदौ’ भन्ने परम्पराले त्यो शब्द र आम उत्पीडित समुदायलाई सम्मान दिने क्रम सुरू गर्‍यो । उनको त्यो अभियानकै कारण पनि आज त्यो शब्द हेय नभएर आत्मसम्मान र गरिमाको पर्याय बनेको छ । त्यो शब्द प्रयोगसँगै उनले गरेको व्याख्यामा आम सचेत वर्गले स्वीकृति दिएको छ । अहिले नयाँ पुस्ताका सर्जकहरूले ससाना विषयमा गर्नुपरेको सङ्घर्ष हेर्दा यज्ञनिधिले आफ्नो सिर्जनशील ‘अराजकतामा’ अडिन सानो सङ्घर्ष गरेनछन् भन्ने प्रष्ट हुन्छ । नामभन्दा अघि थर वाचन गर्नु, जदौ शब्दले कार्यक्रम सुरु गर्नु, भारत र दरबारको विरोधमा पटकपटक साहित्यमार्फत् केही न केही बोलिरहनु उनका विशेषता थिए, सरकारी रेडियोमार्फत् । उनको अराजकतालाई नबुझ्ने र सरकारी मानसिकताका व्यक्तिहरूले उनीमाथि बारम्बार अनेकौँं ढङ्गले आक्रमण नगरेका होइनन् ।

त्यो बेला खेतमा काम गर्दा पनि ‘जदौ बूढा’ को कार्यक्रम छुट्ला भनेर रेडियो बोकेर काम गर्न जाने श्रमजीवी नेपालीको समूह ठूलै थियो । रेडियो नेपालबाट झर्रो आन्दोलनको प्रयोग गर्ने दाहालको आँट त्यो बेलाको चानेचुने हिम्मत थिएन । सुरूमा भोग्यप्रसाद शाहको समर्थन र पछि आफैँ स्थापित भएपछिको बलले उनले ‘जदौ’ अभियान चलाइरहे, साहित्य संसारमा उनी टिकिरहे । रेडियो नेपालमा वि.सं. २०३४ र दरबार स्कुलमा २०३५ मा प्रवेश गरेका दाहाल राजधानीको साहित्य र वौद्धिक क्षेत्रमा मात्र होइन, यहाँको समाजमा पनि स्थापित भए । रेडियो नेपालमा उनी काम गर्दै, छोडाइँदै र छोड्दै गरेर करिब तीन दशक रहे ।

दुर्गम ठाउँबाट राजधानी आएर दरबार र शासकीय षड्यन्त्र जानेको शिक्षित वर्गसँग प्रतिस्पर्धामा टिक्नु उनका लागि कम्ती चुनौतीपूर्ण थिएन । सङ्घर्ष र उतारचढावका ती दिन सम्झँदै उनी भन्छन्, ‘मलाई वेदका ऋचा र लोकगीतबाहेक खासै केही आउँदैनथ्यो तर नेपालीमा बीएड गरेपछि मलाई त्यसले रेडियोमा र स्कुलमा पनि टिकाउने काम गर्‍यो ।’ सांस्कृतिक विषयको कार्यक्रममा चाहिँ उनी आफूलाई डोरबहादुर विष्टका किताबले पनि निकै सघाएको बताउँछन् । रेडियो नेपाल सुनेको पुस्ता र राजधानी वा काँठ क्षेत्रमा बसेर अघिल्लो दशकमा एफएम सुनेको पुस्ताले अझैसम्म उनले चलाएका साहित्यिक कार्यक्रम बिर्सिएका छैनन् तर उनको जीवनको सन्दर्भमा नभनी नहुने केही दुःखद पाटाहरू पनि छन् । जस्तो कि उनको परिवार नै मिर्गौला रोगी छ । ‘मेरा बाले त्यो समयमा धामीलाई उपचार गराउनकै लागि सात खायल खेत बेच्नु भएको थियो । उहाँ मिर्गौलाकै रोगले मर्नु भएको रहेछ भन्ने चाहिँ पछि मलाई रोग लागेपछि मात्रै थाहा भयो ।’ दाहालका अनुसार, उनकी बहिनीको यही रोगले निधन भइसकेको छ भने एकजना भाइ धेरै महिनादेखि अस्पतालमा छन् । अर्का भाइ र उनको पनि मिर्गौला फेरिएको छ । तुलनात्मक रूपमा यी दुई जनाको स्थिति हिँडडुल गर्नसक्ने हदसम्मको छ । ‘जेठी फुपू पनि यही रोगले जानुभो’, उनले अगाडि भने, ‘म चाहिँ रोग थाहा भएको २०४४ सालदेखि नै त्यसलाई हेपेर बसेको थिएँ, ०५७ मा चाहिँ नफेरी भएन ।’ त्योबेला पहिला जनस्तरमा र पछि सरकारी स्तरको सहयोगले उनको उपचारमा निकै मद्दत पुग्यो । रोगसँग लड्दै र सम्झौता गर्दै बाँच्नुपर्ने वर्तमानप्रति उनले अत्यन्त मन छुने गरी टिप्पणी गर्दै भने, ‘अहिलेको मेरो जीवन त फाँसी दिने म्याद सारेजस्तो मात्रै हो ।’

काठमाडौँको अनामनगरमा एउटा घर छ-दाहालको दैलो । यो टोलको नाम अनामनगर बनेको तीन दशक पनि भएको छैन । २०४२ सालमा बारीबाट नयाँबस्ती बनेको यो टोलमा सुधार र निर्माणका काम गर्नका लागि १३ जनाको समिति बनेको थियो । समितिमा उनी र पदमराज सुवेदीले टोलको नाम अनामनगर राख्ने प्रस्ताव गर्दा स्वीकृत भएनछ । दाहाललाई भने त्यही नाम मन परेका कारण उनले रेडियोको अनुरोध गीत कार्यक्रममा फर्माइस गरिदिनेदेखि ससाना नानीहरूलाई पनि सिकाएर अनामनगर नाम स्थापित गरेछन् । भन्छन्, ‘पछि आन्दोलनताका कफ्र्यु लगाउँदा सरकारले नै अनामनगर शब्द राखेपछि यो नामले औपचारिकता पायो ।’

सयौं लेख र कविता सिर्जना गरे पनि दाहालले अहिलेसम्म ती सिर्जनालाई पुस्तकाकार रूप चाहिँ दिएका छैनन् । उनका निबन्ध र अनौपचारिक शैलीका लेखमा समाज अध्ययनको परम्परागत पाटो आउँछ । उनका हरेक सिर्जनामा समाजको गहिरो दुःख र पीडा चित्रित भएका हुन्छन् । कुनै विश्वविद्यालय वा अन्तर्राष्ट्रिय दातृ निकायका करोडौं खर्च गरिएर भएका अध्ययनमा जनताको वास्तविक समस्या भेटिँदैन पनि । दाहाललाई यो टिप्पणीकारको प्रश्न थियो, ‘खै त दाइ, तपाईंका ती निबन्ध र लेख, नयाँपुस्तालाई त्यो चेतनाको पोको छाडेर जाने

हैन ?’ उनी स्वयम् कुनै विद्वता हासिल नगरेको र ती सामग्रीको कदर नहुने कारण उदासिन भएका देखिन्छन् । भन्छन्,

‘मसँग नै छैनन् हौ मेरा रचना, कहिल्यै पनि मैले पछि काम लाग्लान भनेर सोचिनँ ।’ यसो भनिरहँदा आफू केही भद्रगोले पनि भएको भन्न पनि उनले छुटाएनन् ।

बीपी कोइरालाको साहित्य र राजनीतिक चेतना दुबैलाई मान्ने दाहाल साहित्यका नाममा दासता स्वीकार गर्न नहुने तर त्यस्तै भइरहेको बताउँछन् । ‘अब चाहिँ दास र नागरिक छुट्टनिु पर्छ’, आफूसमेत बीपीको आदर्शमा लागेर अराजकतावादी भएको स्वीकार गर्दै उनले भने । उनको निष्कर्ष थियो,’ सचेत र वास्तविक नागरिक बन्ने मान्छे र चेतना अराजक देखिन्छ ।’

प्रस्तुति ः पदम गौतम

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *