अभिष्ट चाहना होली थिएन…


अनुप्रस्थ या अनुदैध्य
अनुराग या बैराग,
कस्तो तरङ्गबाट
सुरु गरुँ,
आजका
यी रङ्गीन होलीहरू…. ?

नागबेली चुल्ठी छ
रसवरी जवानी,
बिना खोटको अधर
कोकिल झै स्वर,
के मेरो बैंशको बारुली कम्बरले
अलिकती पनि लोभ्याएन …..?

होली त बहाना मात्र पो
मैले त चोलीको चाहेको छु !
होली त बहाना मात्रा पो
मैले त डोली चाहेको छु !
होली त बहाना मात्रा पो
मैले त भात खरुवा, लोकन्दे
अनि
हो यस्तो यस्तै
जन्ती र टोली चाहेको छु ।

आउ
मेरा बैशले उत्माद हर्थुङ्गो मुसार,
सप्तरङ्गी
रङ्गले,
उमङ्गले,
भरपुर परिपक्क
ढङ्गले,
भिजाउ
निथ्रुक्क,
तान, हान
हल्लाउ, चलाउ
तिम्रो औकातले थेग्ने गरी
समाजको परीधीमा
सबैले देख्ने गरी !
तब मेरा,
निथ्रुक्क भिजेका
पुष्ट नितमयुक्क चौबन्दी
होलीको बहानाले एकान्तमा
तिम्रो सामु फुक्न पाउँ
महिनौ महिना छ्याप्पै
साया र फरिया
तिम्रो रेखाको परिधीमा सुक्न पाउँ ।

के तिमी फागुको रङ्गिन मैदानमा खेल्दा
म क्षितिज नियाली कौसीमा बसुँ.. ?
या
तिमी पुर्णिमाले जाज्वल्यमान हुँदा
म अध्यारो औसीमा बसुँ ..?
छरी देउ बहाना ! होलीको
बैजनी र केसरी हैन
मन्यतायुक्क्त सिन्दुरको,
खोलेकी छु नाग्बेली चुल्ठी
स्विकार अभीष्ट चाहना
अनुरक्त छु
बहुपासामा स्वर्णिम
जीवन्त भोलीको… !
……….

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *