कुनै समय
आफैलाई कति बिघ्न अग्लो लाग्थ्यो
आफ्ना सन्तानहरूलाई
काँधमा चढाएर
चारैतिर रमिता देखाउँदा
नानीहरू रमाउँदै भन्ने गर्थे
बाबा ! तपाई हाम्रो धरहरा
हिजोआज प….र बाट
आँखाहरू आफूतिर पर्न आउँदा
सरमले अनुहार लुकाउँ जस्तो हुन्छ ।
थाहै नपाइ
मेरो उचाइ घटिसकेछ
थाहै नपाइ
मेरो छिमेकीले
नदेखिकन प्रतिस्पर्धा गर्दोरहेछ
दौड हारिसकेपछि मात्र थाहा पाएँ
अहो !
उचाइको निम्ति त
के के रणनीति रहेछ !
जितिछाड्नको निम्ति
कस्तो कस्तो सपना हुँदो रहेछ ।
इर्ष्या के हो ?
– आफ्नै घरभित्र पनि देख्न सकिन्छ
महत्त्वाकांक्षा के हो ?
– संगै सुत्ने साथीले
छक्क पार्दा पो थाहा हुन्छ
प्रगति के हो ?
– पल्लो घरसँग तुलना गरिहेर्दा पो देखिँदो रहेछ
मेरो छेउको सुन्धारामा
सुन छैन
सुक्खा आँसु बग्छ
धारामा पानी नदेखे झैं
मेरो आँखामा
आँसु देखिदैन
तर मन
रोइबसेको छ ।
रानीपोखरी सम्म लम्केर
आफ्नो प्रतिविम्ब हेरूँ जस्तो लाग्छ
तर मेरो ऐना
सर्माएर लुक्न चाहन्छ
मेरो विकृत अनुहार देखी ।
शत्रुले मेरो छाँती समाएर
मलाई बेस्सरी हल्लाउँदै
धाक दिए जस्तो
महाभूकम्पले मलाई हल्लाए पछि
मेरो शीर साह्रै ढलेको छ ।
म शीर उठाएर हेर्न सक्तिन
म दिनदिनै भासिदै गइरहेको छु ।
श्रीमतीलाई नाङ्गोझार पारेर
बजारमा तमासा बनाउने
दृष्टता देखी
भिमसेन जेलभित्र आफैं मरे
आँसु बग्दाबग्दै सुकिसकेको सुनधारा
भिमसेनको सम्झनाले
गला भरिसकेको छ मेरो
ए, मृत्यु बोकी ल्याउने लाज !
ए, एकान्तको आलाप र तृष्णा बोकी ल्याउने दुःख !
मेरा छेउछाउका यी भवनहरू
किन यति अग्ला ?
सास थुनिसक्यो मेरो
खोइ कहाँ छ, इमिली दुरखिम ?
आकास छिचोल्नेगरी
रोइदिउँ जस्तो जीवन
दुनियाको नजरमा भएको
मेरो ऐनालाई
एकपल्ट पनि
हेर्दा पनि नहेरी
दिल खोलेर रोइदिउँ जस्तो जीवन
कुनै कतै गाँउमा
पहाडको छाँती फोरेर बग्ने
बेगवान् नदी
यतै कतै समुद्रमा
विस्तारै विस्तारै
हराउँदै जाने जीवन !
उचाइको खोजीमा
आकास छुन लालयित
यी आलिशान भवनहरू
मेरै अघिपछि मात्र
किन अग्लिएका होलान् ?

हराएकाे धरहरा अाफूभित्रै खाेज्नुपर्ने छ अचेल ।
कविता धेरै अघि लेखिएकाे रैछ । तर अाज धरहराकाे उचाइ नरहेकाे अहिलेकाे अवस्थामा अाएर हेर्दा अाफू वरिपरि चर्किएरै भए पनि उभिरहेका अग्ला घरहरूले जिस्क्याइरहे पनि हराएकाे धरहरा अाफूभित्रै खाेज्नुपर्ने अावश्यकता देखेकाे छु मैले । तपाइँकाे विचारसँग मेल नखाला कि ?
sindhuliya_prakesh@yahoo.com
facebook/psindhuliya
कुनै कुनै कल्पना अनौठा हुन्छन्
हो प्रकेशजी, यो रचना भू-कम्प अाउन भन्दा करीब ४ वर्ष अघि लेखेको हुँ । कुनै कुनै कल्पना अनौठा हुन्छन् । बैशाख १२ को भूकम्प पछि धरहरा हर्न गएँ अनि मन अमिलो बनाउँदै फर्किएँ ।