Skip to content

कविताभित्रको कविता


हिजो अस्ति,
चतुर्दसीको भोलिपल्ट,
वा
परेवाको अघिल्लो दिन,
भनौ
शरीर रङ्गिन भएको दिन
वा
धर्तीभरी रङ्ग पोखिएको दिन
तिमीले फागुपूर्णे मनायौ
तिमीले होली मनायौ,
त्यो भन्दा ठुलो कुरा त!!
चैत्रमा छरिएको बतास जस्तै
होलीका सयौ कविता कोर्यौ
डोलीका लाखौ सेरहरू कोर्यौ
चोलीका कोटी कोटी बयानले
मुक्तक भन्यौ
म जाँन्दछु ..
तिमीलाई होली थाहा छ
तिमीलाई त्यस्को कविता थाहा छ
गजल थाहा छ
अनि हो यस्तै यस्तै
अरु थुप्रै थाहा छ
तर
कविता दिवस कहिले हो??
थाह छ ? शायद,
थाहा छैन !

बर्षभरिमा एक दिन आउने
प्रेम दिवसमा,
रातो गुलाबका
कविता कोरिए
सेर फुरे,
थोर हैन
धेर फुरे
तर कविता दिवसमा
न कसैले कविता कोरे
न कसैले कुनै सेर नै ओकले
कविता, अनि
कविता दिवस,
भूगर्भ भित्र नै लाचारी भैरहयो !

कविता दिवस कसैले मनाउँछ ??
मनाउन पनि किन र …
यस्को तिथिमिती थाहा छ ??
होस् पनि कि र …!
उसै त कवि बैरागी हो
उसै त कवि ब्याकुल हो
उसै त कवि गोठाले हो
उसै त कवि प्यासी हो
अनि फेरि,
कवि आँसु हो, जलन हो
बियोग हो, दोषी हो
हो यस्ताहरूको दिनको
हेक्का राखेनौ शायद
कविता कोरेनौ शायद
गजल लेखेनौ पक्कै
हुँदा हुँदा
कविता दिवसको शुभकामना
प्रेमदिवसको शुभकामना

फागुको शुभकामनाले ओझेल पार्नु
स्वाभाबिकै त हो नि….
म बुझ्दछु ..
म जान्दछु…

तिमी जे गर
मलाई त बैरागी हुनु छ
म त गोठाले न हुँ
गोठालो नै जानु छ
घायल हुन्छु, पायल हुन्छु
क्रान्ति गर्छु, शान्ति ल्याउँछु
अनि बिर्सनेहरूको
हिस्साको खायल हुन्छु
अरुले बिर्सें पनि
कविता भित्रको कविता
‘स्वीकार ल !’
‘कविता दिवसमा’ !!
………
………

Leave a Reply

Your email address will not be published. Required fields are marked *