Skip to content

झुल्किने छ नयाँ समय


मान्छेले बिछाएको एम्बुसमा पड्केर
हामीले खोजेको समय बेहोस छ
समयको अम्मलमा
बाँच्ने गरेको मान्छेको
ओठमा मुस्कान छैन
आँखामा उमङ्ग छैन
वातावरण सन्त्रासको पर्याय बनेको छ ।
सर्वत्र मृत्युको तस्वीर छ
आँसु जमेर बनेको छ हिमाल
रगत जमेर बनेको छ माटो

हामीले खोजेको समय
हाम्रो निशानामा परी बेहोस छ

त्यसैले समयको दाम्लो बाँधेर
समयको दास बनेको मान्छेको
जीवन जीवन जस्तो छैन ।
कहाँ छ आनन्द ? कहाँ छ गन्तब्य

गन्तब्य र्बिसेर हामी
ढुङ्गे युगतिर हानिएका छौं
स-साना टुक्रे राज्यहरू चाहिएको छ
स-साना शासकहरू चाहिएको छ

गाँस, वास कपासको सट्टा
फोस्रो आवाज चाहिएको छ
त्यही आवाजमा ठोक्किएर
बेहोस छ हाम्रो समय
स्थगित छ हाम्रो सपना

अहिले समयको
आवाज…..मात्र आवाज
सपना…..मात्र सपना

आयामहरू टक्क रोकिएका छन्
समय जस्तै
यसरी अधुरो इतिहास भित्र
हामी घायल छौं
अज्ञात भविष्यको तुवालोमा
हामी रोक्किएका छौं

होस गुमाएको समयले
हाम्रो चेतनामा वास पाएको छ
मौन बाँच्नुको सट्टा
जीवनलाई
पूर्णता दिने अभ्यास गरौं
हिंसा होइन
जीवनमा प्रेम र
प्रेममा जीवन भरौ
जीवन उत्सवको रोपाईंपछि
जीवनको कान्ला र गराहरूमा
चेतना उठेर
लालुपातेमा रङ्ग थप्दै

झुल्किने छ नयाँ समय ।

aaadarsha@outlook.com

First published: 2012-03-24 22:09:17 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *