यसपालीको नयाँ सालमा घर फर्की आउँला आमा
गुन्द्रुक ढिडो भए पनि सँगै बसी खाउँला आमा
पसिना बगाएर कति बस्नु पराइ देश
आफ्नै जग्गा खनजोत गरी खेतीपाती लाउँला आमा
चुहिने छ रे घरको छानो भयो होला कति दु:ख
खरको छानो भत्काएर टिनले छानो छाउँला आमा
छोराछोरी सोध्दै होलान् कहिले आउँछन् बाबा भनी
फर्केपछि सबैजना सँगै घुम्न जाउँला आमा
अब त आफ्नै देशमा आउँछ रे शान्ति छिट्टै
द्वन्दकालका पीडा बिर्सी खुसीको गीत गाउँला आमा
