Skip to content

रेडियोका गीत र समयको फेर

  • by


धनकुटामा सानै छँदा मैले देखेको अति नौलो र सङ्गीत निकाल्ने आधुनिक यन्त्र भनेको ग्रामोफोन थियो जो मैले सिरवानीको कुनै साहुको घरमा सत्यनारायण वा यस्तै कुनै पूजाको अवसरमा फुपू र आमालाई पछ्याउँदै जाँदा देखेको मिरमिर सम्झना आउँछ । एउटा चारपाटे बाकसमा हातले खुइँखुइँ दम दिएर त्यसमाथि राखिएको कालो ‘रेकाट’ माथि हाँसको लामो घिच्रोजस्तो लर्कने वस्तुमा रहेको सियोले कोर्दा गीत बज्थ्यो । त्यो बज्ने कालो र गोला रेकाट देख्दा हामीलाई हामीले हिउँदमा खाने कोदाको रोटीजस्तो लागेथ्यो । ग्रामोफोनको त्यो रेकर्ड देखेपछि खानुअघि कोदाको रोटीलाई टाउकामाथि राखेर त्यसमा चोर औँला घुमाएर गीत गाउँदै मैले खेल्न सिकेको थिएँ ।

जीविकाको नयाँ उपायको खोजीमा गाउँका अरु तन्देरीहरुजस्तै मेरा बा पनि म जन्मनुअघि नै तमोर तरेर साँगुरी भाज्याङ काटी मधेसतिर कतै जानुभएको थियो । त्यो ठाउँ विराटनगर रहेछ । पछि आमा र म पनि उहाँलाई पछ्याउँदै विराटनगर गयौँ । हाम्रो फूसको छाप्रे डेरा र हिमालय टाकिज नामक सिनेमाहलको दूरी धेरै थिएन । सिनेमा हेर्ने औसर त कहाँ मिल्नु द्र तर साँड्ढपख प्रचारका लागि सिनेमाहलको छानाबाट माइकमा बजाइने गीतहरु भने सित्तै र मनग्गे सुन्न पाइन्थ्यो ।

छेउका ठूल्ठूला घरबाट गीतका आवाज उम्किएर हामी हिँड्ने धुले सडकमा आइपुग्थे । सायद ती रेडियो थिए तर म फुच्चे तिनलाई देख्न सक्दिनथेँ । मेरा कानमा केवल आवाज घन्किन्थे कुनै अदृष्य व्यक्तिले गाएको । कहिले केटा र कहिले केटीको स्वरमा सुन्थें ‘दूर कोइ गाये दुनियाँ सुनाये तेरे बिना छलिया रे’ ।

शायद मैले जिन्दगीमा पहिलो रेडियोसेट विराटनगरको बजारअड्डामा रहेको उसबेलाको नामूद ‘पानवाला ठूले’ को पानदोकानमा देखेँ हुँला । अहिलेको विराटनगरको ट्राफिकचोक उसबेला बजारअड्डा भनेर चिनिन्थ्यो र बजारअड्डाको आकर्षण ‘पानवाला ठूले’ को पानपसल थियो जहाँ सुकिला लुगा लगाएका मानिसहरु साँड्ढविहान जम्मा हुन्थे पान खान्थे अनि उभिइउभिइ गफ गर्थे । अनि त्यस पानपसलमा रेडियो हरदम नबिसाई बजिरहन्थ्यो । रेडियोमा बज्ने गीतहरु हिन्दी फिलिमका हुन्थे जसलाई म अलिअलि बुझ्न थालेको थिएँ ।

विराटनगरको गर्मीमा दुई या तीन वर्षात बिताएपछि हामी सरेर धरान गयौँ । हामी धरानको जुन टोलमा मिसिन पुगेका थियौँ त्यसलाई माथिल्लो छाताचोक भन्थे ।

त्यस टोलमा रेडियो राख्न सक्ने हैसियत भएका केही घरहरु थिए । रेडियो हुनेका घर टाढैबाट अलग्गै छुटिन्थे पनि । किनभने त्यस्ता घरका धुरीमा एक छेउदेखि अर्को छेउसम्म तामाका तारका ‘एन्टेना’ तानिएका हुन्थे । कसैकसैकामा एकसरो तारको ठाउँमा मसिना तारजालीको पेटारो नै धुरीमा वारपार तन्किएको देख्न सकिन्थ्यो । धुरीबाट तानिएको त्यस्तो तार २१ इञ्चको टिभीजत्तिकै ठूलो बाकसजस्ता रेडियोसेटमा लगेर जोडिएको हुन्थ्यो । त्यस सेटको भूइँतिरको भागमा दायाँवायाँपिट्ट जोडिएका हाडेओखरका दानाजत्रा स्वीचहरु हुन्थे । तिनका बीचमा ब्यान्ड बदल्न थिच्नुपर्ने बटनहरुका लहर । दायाँवायाँका स्वीचमध्ये एउटा घुमाउँदा एउटा स्टेशनबाट अर्को स्टेशन बदलिन्थ्यो । त्यसो गर्दा बोली फेरिन्थ्यो कुरा बद्लिन्थ्यो गीत र सङ्गीत अर्कै बज्दथ्यो । उत्रै ठूलो अर्कापिट्टको स्वीच घुमाउँदा आवाज मसिनो र ठूलो हुन्थ्यो । मर्फी वुश फिलिप्स आदि नामका त्यस्ता रेडियो सेट घरमा राख्न सक्नेको शानै बेग्लै हुन्थ्यो ।

आफूलाई त्यो रेडियोसेटबाट निस्कने आवाज अद्भूत र जादुमय लाग्दथ्यो । आवाजको त्यस यन्त्रको जादूमयी प्रभावमा परेर होला म पत्रिकाहरुमा छापिएका रेडियोका विज्ञापनका तस्विरहरु हेरेर तिनको स्केच मनोयोगले आफ्नो ड्रइङखातामा पेन्सिलले उतार्थें । घरछेउ खुलेको लक्ष्मी वाचनालयमा वनारसमा छापिने हिन्दी भाषाको दैनिक आज कार्टुन कमिक्स र अन्य फिल्मी म्यागेजिनहरु आउने गर्थे जो मेरा सूचना र ज्ञानका स्रोत बनेका थिए ।

मेरा लागि नजिकबाट रेडियो सुन्न पाउनु सम्भव थिएन र कसैको घरभित्रबाट हावामा तरङ्गित हुँदै आएको आवाज सुनेरै चित्त बुड्ढाउनु पथ्र्यो । रेडियो सुन्ने लालसाले नै मलाई मेरो एकजना सहपाठीका बाबु र सानीआमाले हाम्रो टोलमा खोलेको चियापसलमा घरी न घरी कुनै न कुनै निहुँले पुर् याउँथ्यो । मलाई त्यो चियादोकान रमाइलो लाग्दथ्यो र घरमा कुनै काम गर्नु नपरेको वा पढ्नु नपरेको बेला म त्यहाँ टुप्लिकिन्थे । त्यसको मूख्य कारण त्यहाँ निरन्तर बजिरहने रेडियो थियो । साथीसित खेलेजस्तो गरे पनि मेरा कान भने सदा रेडियोबाट आउने गीतहरुमा टाँसिएका हुन्थे ।

मेरो सहपाठीका बाबु थिए जन्ड प्रकृतिका । काठको काम गर्ने उनी बेलुकी टुइँक्क परेर घर आउँथे र बिहान चियापसलमा बेलुकाकै धङ्धङीमा हान्ने गोरु झैं आँखा राता पारेर बस्थे । मेरो चित्त रेडियो सुन्नमा अडिने गरेको बुझेर होला मलाई भगाउनलाई हो वा चिढाउनलाई हो उनी गीत बज्दाबज्दै बीचैमा रेडियोको स्वीच निमोठेर त्यसलाई तामिल तेलगु चिनियाँ वा यस्तै नबुझिने कुनै भाषामा कार्यक्रम आइरहेको स्टेशन लगाउँथे र भन्थे ‘सँधै गीत सुनेर हुँदैन रेडियोबाट अरु भाषा पनि सिक्नुपर्छ ।’ अनि आफू पनि ध्यानपूर्वक सुनेर बुझेजस्तो गर्थे ।

त्यसरी स्टेसन बीचैमा बदलिदिनाले गीत सुन्न नपाउने मेरो समस्याको समाधान ‘घुमाउने घर’ मा ताप्लेजुङ दोभानका एक जना साहुजीले आएर ठूलो किरानापसल खोलिदिनाले भयो । टोलका पुराना बासिन्दाहरुद्वारा ‘दोभाने’ नामाकरण गरिएका ती साहुजीको पसलमा अहोरात्रझैं रेडियो घन्किरहन्थ्यो । अब म रेडियो सिलोनको ‘विनाका गीतमाला’ मा अमीन सयानीका गलाबाट निस्कने ‘भाइयों वहनों’ भन्ने सम्बोधन घरै बसीँबसी सुन्न सक्थेँ र रेडियो नेपालबाट बज्ने नेपाली गीतका गेडाहरु घरैबाट खुट्याउन सक्थेँ । मलाई भगाउने मनसायले विनाकारण रेडियो स्टेसन बदलिरहने बाबु भएका मेरो सहपाठीको चियादोकानमा मैले गइरहन परेन ।

रेडियोबाट बज्ने मन परेका गीतलाई म सकेसम्म टिप्ने गर्थें । तर आफ्नो टिपाईको रङ्गतार गीतको गतिभन्दा जहिले पनि ढिलो हुने हुनाले प्रायशः गीतहरु अधुरा रहन्थे । त्यसले गर्दा कहिलेकाहीँ अधुरा मात्र होइन अर्थ न वर्थका गीत पनि गाउने अवस्था हुन्थ्यो । त्यसबेला हामीलाई औधी मनपर्ने र हाम्रो ओँठमा ड्ढुन्डिएको किरण खरेलद्वारा रचित तारादेवीले गाएको ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ भन्ने गीत थियो । त्यस गीतको सबै बोल कण्ठ हुन सकेको थिएन र त्यस्तो बेलामा छापिएको गीत पाउँदा हामीलाई ठूलै सम्पत्ति पाएजस्तो भयो । त्यस गीतको एउटा पङ्क्ति भने यसरी छापिएको थियोँ ‘प्रभातमा चम्किएको मोतीजस्तो तशी’। लय मिल्थ्यो त्यसैले छापिएको गीतको अक्षर नबिराई त्यसरी नै गायौँ हामीले निकै पटक । मुदि्रत कुरा हाम्रालागि व्रह्मवाक्य थिए । तर ‘तशी’ को माने खुलिरहेको थिएन र यो कुरा मेरो मनमा खट्किरहेको थियो । अर्कोपटक रेडियोमा त्यो गीत बज्दा मैले निकै ध्यान दिएर त्यस पङ्क्तिलाई सुनेँ र त्यो शब्द तशी नभई ‘शीत’ भएको पत्ता लगाएँ । त्यसका साथै त्यस शब्दको अर्थ पनि छर्लङ्ग भयो र छापिएका सबै कुरा साँचो ठानेर पत्याउन नहुने रहेछ भन्ने ज्ञान पनि खुल्यो ।

आफ्नो रेडियो नहुनु र बाटामा हिँड्दा अरुका घर तथा पसलमा बजेका रेडियो मात्र सुन्नाले रेडियो नेपालले केवल नेपाली गीत मात्र बजाउँछ भन्ने भ्रम पनि हामीमा परेको थियो । त्यो भ्रम निकै समयसम्म रहिरह्यो । एकदिन म र मेरो एक जना सहपाठीले नयाँबजारको शनिबारे हाटमा रेडियो नेपालबाट हिन्दी फिल्मी गीत बजिरहेको सुन्यौँ । त्यो गीत थियो उसबेला खूब चल्तीमा रहेको ‘जब प्यार किसिसे होता है’ फिल्ममा मोहम्मद रफीले गाएको ‘जिया हो जिया हो’ भन्ने । फिलिममा गाए जसरी हुबहु त्यो गीत रेडियोमा आएको सुनेर हामी दुवैले के ठहर गर् यौँ भने फिलिमको गीत रेडियो नेपालका कलाकारहरुले टिपेर मौलिक गीत जसरी नै गाएका हुन् । धेरैपछि हामीले आफ्नो भूल थाहा पायौँ र बुझ्यौँ रेडियो नेपालले पनि हिन्दी फिलिमका रेकर्ड नै बजाउने गर्दो रहेछ भनेर ।

विराटनगरको हिमालय टाकिजको सान्निध्यले मभित्र रोपिदिएको हिन्दी फिलिमका गीतप्रतिको आकर्षणको वीउ धरानमा शिवसिनेमा हल खुलेपछि त उमि्रएर हुर्किएको थियो । एक हप्ताभन्दा बढी समय चल्ने सिनेमा कमै हुन्थे र सबै फिलिम नबिराई हेर्न द्रव्यको अभावले सम्भव हुन्थेन । तर राम्रा ठहरिएका फिलिमहरु हेर्न भने कुनै यत्नले ‘थर्ड क्लास’ को टिकट खर्च जुटाएर सिनेमा हलमा पुगिहालिन्थ्यो । फिलिमका राम्रा लागेका गीतका धुन दिमागमा टाँसिन्थे र तिनलाई रेडियोमा सुन्न पाइने आशा मनमा ड्ढुन्डिरहन्थ्यो । धेरै फिल्मका गानाहरु कन्ठाग्र आउँथे ।

त्यसबेलासम्ममा बच्चुकैलास पुष्प नेपाली अम्बर गुरुङका गीतहरुसित हाम्रो परिचय भइसकेको थियो । ‘भो भो नसोध अब केही मलाई’ र त्यसपछि ‘स्वर्गकी रानी मायाकी खानी’ गीत गाउने नारायण गोपाल अनि ‘गोरेटो त्यो गाउँको’ गाउने प्रेमध्वज हाम्रो पि्रय गायक बनिसकेका थिए । अम्बर गुरुङको ‘नौलाखे तारा’ सँग हाम्रो परिचय भइसकेको थियो तैपनि लोकपि्रय भने ‘घामजुन पाच’ र ‘ए कान्छा मलाई सुनको तारा’ भन्ने गीतहरु थिए ।

रेडियो सिलोनबाट प्रत्येक बिहान प्रसारित हुने ‘आप ही के गीत’ नामक एक घन्टा लामो फर्माइशी कार्यक्रम मलाई औधी मन पथ्र्यो । दोभाने साहुको रेडियोमा मैले चाहेँ ड्ढैँ सधैँ गीतहरु बज्दैन थिए । त्यसैले आफ्नो घरबाट केहीमाथि रहेको सहपाठी गोविन्द बोहोराका घरमा जाने गर्थें । गोविन्दले पछि गोविन्द ‘विकल’ भएर कविका रुपमा ख्याति कमायो । रेडियो त उसको घरमा पनि थिएन तर उसैको घरसित टाँसिएको काठमाडौँबाट त्यहाँ डिस्टीलरी खोल्न पुगेका मानन्धर परिवारको घरमा भने रेडियो थियो । साहु मानन्धरका दुइ छोराहरु हाम्रा सहपाठी थिए र उनीहरुको कोठामा आफ्नै एउटा रुसी ट्रान्जिस्टर थियो । हामीहरुको अनुरोधबमोजिम रेडियो सिलोन वा अलइन्डिया रेडियोको नेपाली कार्यक्रम वा रेडियो नेपाल बजाइदिन्थे त्यही हामीलाई लाख हुन्थ्यो । तर एक त ती स्टेशनहरु सर्टवेभमा आउँथे र त्यसमाथि रुसी ट्रान्जिस्टर । बेलाबेला बज्दाबज्दै स्टेशन आफैँ हराउँथ्यो वा बजे पनि च्वाइँचुइँको आवाजले खलल पुर्याइरहन्थ्यो ।

त्यसरी च्वाइँचुइँ नगरी सफासित बज्ने र रुसी भन्दा कहीँ ज्यादा चिटिक्क छरिता र हलुका जापानी ट्रान्जिस्टरहरु बजारमा त्यसैबेलातिर देखा पर्न थालेका थिए । मानिसहरु जापानी ‘न्याशनल पानासोनिक’ ट्रान्जिस्टरलाई कपडाको खोल हाली ड्ढोलाजस्तो काँधमा भिरेर हिँड्थे । त्यसरी काँधमा ट्रान्जिस्टर भिरेर अरुलाई सुनाउँदै हिँड्नु रेडियो धनीहरुका लागि शोख र शान दुवै हुने गथ्र्यो ।

यस्तैमा धनकुटाबाट एकपटक मेरा फुपा हाम्रो घर धरान आउनुभयोँ त्यस्तै हातमा खेलाउन हुने छरितो जापानी ट्रान्जिस्टर बोकेर । मानन्धर वन्धुहरुको रुसी ट्रान्जिस्टर छुन पनि धक लाग्थ्यो केही विगि्रहाल्ला कि भनेर । यहाँ त आफ्नै फुपाको ट्रान्जिस्टर थियो र मेरो उत्कट चाहना देखेर ‘बजाउ न’ भनेर हातमा राखिदिनु भएको थियो । अस्थायी रुपमै भएपनि राम्रो र महङ्गो खेलौना मेरो हातमा परेको थियो । मैले त्यो रात धेरै अबेरसम्म सर्टवेभ र मिडियम वेभका व्यान्डहरु फेर्दै थाहा पाएका नपाएका स्टेशनहरु खोज्दै तिनबाट प्रसारण हुने कार्यक्रम सुन्दै बिताएँ। अनि ट्रान्जिस्टरलाई छातीमा राखेर फुपाको छेउमा निदाएँ । त्यो रात त्यस सानो ट्रान्जिस्टरले मलाई स्वर्गीय सुखको अनुभूति दिएको थियो ।

मैले एसएलसीको फलामेढोका पार गरिसकेको थिएँ जब मेरा बा जानुभयो उसबेलाको सोभियत सङ्घमा । लगभग डेढ वर्ष लामो बसाइपछि उहाँ फर्कंदा उहाँले लिएर आउनु भएका रुसी वस्तुहरुमा एउटा ट्रान्जिस्टर पनि थियो मानन्धरबन्धुको भन्दा नयाँ र सुधारिएको मोडेलको । मैले चाहेकै ट्रान्जिस्टर रेडियो थियो । आफ्नै ट्रान्जिस्टर बजाउने मेरो धोको आखिर पूरा भयो २०२३ सालतिर आएर ।

अब के थियो विहान आउने अलइन्डिया रेडियोका नेपाली कार्यक्रमदेखि रेडियो सिलोन खरसाङ रेडियो विविध भारतीको पाचरङ्गी प्रोग्रामदेखि कहिलेकाहीँ रेडियो मस्को र रेडियो पेकिङको नेपाली कार्यक्रम आफू खुशी सुन्न सक्ने भएँ रेडियो नेपाल त छँदै थियो । मनपर्ने गीति कार्यक्रम आउने विभिन्न स्टेसनहरुको व्यान्ड र समय कन्ठैजस्तो भयो । अब पहिलेजस्तो सुनेर गीत याद गरिरहनु पर्ने समस्या पनि रहेन । मन परेको कुनै गीत रेडियोमा बज्नैबित्तिकै ड्ढट्पट् कापीमा सार्न पनि सकिने भयो । तर मेरो सङ्घीत श्रवण र बाको समाचार श्रवणको समय कहिलेकाँही जुध्ने गथ्र्यो र त्यस्तोमा स्वभावतः समाचार श्रवणले प्राथमिकता पाउँथ्यो । त्यस्तो बेला आफ्नो सङ्गीतश्रवणको हक हरिएकोमा मलाई केही नमज्जा लाग्थ्यो । तर कालान्तरमा समाचार श्रवणको रस पनि भिज्दै गयो र त्यसले मलाई गीतका साथसाथै समाचारका स्रोतहरु चहार्ने बनायो । बिबिसि। लण्डनको हिन्दी कार्यक्रममा रत्नाकर भारतीद्वारा प्रस्तुत गरिने ‘आजकल’ मेरो ‘फेवरेट’ बन्न पुग्यो भने रेडियो नेपालको उसबेला समाचार प्रसारण अघि बज्ने सङ्केत धुन त अड्ढै मेरो कानमा गुञ्जन्छ ।

ट्रान्जिस्टर रेडियोको उपयोग त्यतिञ्जेलसम्म पनि व्यापक बनिसकेको थिएन । त्यही रुसी ट्रान्जिस्टर भएकै भरमा मलाई फुस्रेको एक अपरिचित परिवारले आफ्नो पारिवारिक पिकनिकमा निम्त्याएको थियो मेरो एकजना मित्रमार्पुत् । ट्रान्जिस्टरमा लाग्ने ब्याट्री हाल्ने जिम्मा उनीहरुको मैले केवल ट्रान्जिस्टर लिएर गई दिनभरि पिकनिकमा बजाइदिनुपर्ने । त्यो नै अचेल हाइफाई स्टेरियो लगेर बजाएजस्तो भएको थियो उसबेला ।

अहिले ‘अनुरोध सङ्गीत’ भनेजस्तै कार्यक्रम उसबेला ‘फर्माइसी गीत’ भनेर आउने गथ्र्यो रेडियो नेपालमा । त्यो कार्यक्रम हामी ठिटाहरुमाड्ढ निकै लोकप्रिय थियो ।

रेडियो सिलोनमा हिन्दी फिलिमका विज्ञापनहरु प्रशस्त बज्ने गर्थे र प्रायोजित कार्यक्रमहरु पनि हुने गर्थे । विनाका गीतमालानै त्यसको उदाहरण थियो । ‘विनाका’ दन्तमाजनको एउटा व्रान्ड थियो । तर रेडियो नेपालको अवस्था भने त्यस्तो थिएन । विज्ञापनमा सङ्गीत वा ‘जिङ्गल’ त्यसबेला बज्दैन थियो । धु्रव के।सी।ले गाएको बाँसबारी छालाजुत्ताको विज्ञापनँगीत पहिलोपटक रेडियोमा सुन्दा धेरैले त्यसलाई एउटा पूर्ण गीत ठानेका थिए । त्यो थियो पनि एउटा गीत जत्तिकै लामो । त्यसको धुन पनि कर्णपि्रय थियो । त्यही नै रेडियो नेपालमा बजेको पहिलो विज्ञापन गीत थियो कि त्यो त म भन्न सक्तिन । तर मैले सुनेको भने त्यो अवश्य पनि पहिलो विज्ञापन गीत थियो । त्यसको केहीपछि रेडियो नेपालले बजाएको अर्को विज्ञापन गीत थियो शिवशंकरले गाएको जसको धुन अड्ढै सम्ड्ढनामा बजिरहन्छ । ‘यो किन्न नपर्ने बारम्वार’ भन्ने बोलको त्यो गीत स्टीलका भाँडावर्तनको विज्ञापन थियो ।

रेडियोमा कसरी गीत बजाइन्छ कसरी रेडियो नाटक खेलिन्छ कसरी समाचार पढिन्छ रेकर्डिङ कसरी हुन्छ र गीत रेकर्ड गर्ने ठाउँ कस्तो हुन्छ यी सबै ठूला कौतुहलका विषय थिए आफ्नो ज्ञान र जानकारी बाहिरका । तर दीप श्रेष्ठ काठमाडौँ आइदिनाले मेरा यी सबै जिज्ञासाहरु एकसाथ मेटिए । ‘पत्थरको देवता’ गाएर दीपले रेडियो नेपालमा गायकको रुपमा आफूलाई स्थापित गरिसकेको थियो र रत्न रेकर्डिङ संस्थानका लागि नयाँ गीतहरु रेकर्ड गर्न २०२७ को अन्त्यतिर हुनुपर्छ उ काठमाडौँ आएको थियो । म भने त्यसभन्दा निकैअघि नै पढ्नलाई काठमाडौँ आइसकेको थिएँ । उसकै कारणबाट तानिएर म सिंहदरबार परिसरभित्र रहेको रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा पहिलोपटक दाखिल हुन पाएँ । उसले डिस्क रेकर्ड गर्ने गीतहरुमा मैले लेखेका दुइवटा गीतहरु पनि परेका थिए र त्यसप्रकार मैले पनि गीतकारमा दरिने मौका पाएको थिएँ ।

अहिले रेडियोका तरङ्गहरु जताततै छरिएका छन् । सर्टवेभ र मिडियम वेभको तरङ्गमा ‘पि्रुक्वेन्सी मोडुलेशन’ एफएम थपिएर प्राविधिक गुणवत्तामा आकासजमिनको अन्तर आएको छ । अनेक एफ।एम। रेडियो स्टेशनहरु सहरसहरमा एकआपसमा प्रतिस्पर्धा गरिरहेछन् स्रोताहरुको मन जित्न ।

तथापि अहिले रेडियो श्रवणमा म त्यो रोमाञ्च र कौतुहलको अनुभव गर्दिन जो तीसवर्षअघि गर्थें । गीतका लागि वास्तवमा म अहिले रेडियो सुन्दै सुन्दिन भन्दा पनि हुन्छ । समयको फेर भनेको शायद यही होला ।

हिमाल खबरपत्रिका
हिमाल साहित्य २०६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *