मैले बर्सौदेखि निहाली रहेको छु, त्यो गल्लीका मानिसहरू उस्तै छन् । पुरानो गल्ली, सबै संरचना उस्तै । घरहरूको बनावट उस्तै, मान्छेको जीवन स्तर उस्तै ।
ज्यापू बस्तीका मान्छेहरू केही मरेर गए, केही बिहेवारी गरी गए । बिहे गरी जाने र स्वर्गतिर उकालो लाग्ने जतिकै संख्यामा जन्मिएका पनि छन् । तर तीस वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा केही अन्तर छैन । फरक अलिक देखिएको छ भने हीरा साहू र दन्तलाल वकिलको उमेरमा मात्र । उमेर बूढेश कालतिर ढल्कदै गए पनि उनीहरूको मित्रता उस्तै छ, घनिस्टता उस्तै छ, आत्मीयता र सद्भाव उस्तै छ । बस अरु उस्तै उस्तै लाग्छ ।
गल्लीमा बिजुलीको पोल थिएन, हीरा साहूले आग्रह गरे, दन्तलाल वकिलले निवेदन लेख्यो । बिजुली आयो । साँगुरा गल्लीमा इट्टा छाप्न हिरा साहूले इच्छा जताए, दन्तलालले नगरपालिकालाई निवेदन लेख्यो, इट्टा छापियो । हीरा साहूले भजन गर्ने पार्टीको मर्मत संहार गर्नु पर्यो भने । दन्तलालले निवेदन लेख्यो र पुरातत्व विभागबाट बजेट निकाशा गरायो । पार्टी मर्मत भयो । भजन चलिरकेकै छ । हीरा साहू र दन्तलालले बजेट अलि यता उता गरे होला । कसैले खोज खबरी गरेनन् । त्यो त खाएर पनि मल भैसक्यो होला । त्यस गल्लीमा कुरा सबै चलेकै छ । हीरा साहू छँदैछन्, दन्तलाल वकिल छँदैछ ।
हिरा साहू पंचायत कालका प्रधान पन्च, प्रजातन्त्र पछिका गा. वि. स. अध्यक्ष हुन् । माओवादी जन सरकारका स्थानीय जन सरकार प्रमुख अथवा त्यस भेगका स्वघोषित मेयरको रुपमा छँदैछन् । न कसैले चुनावमा उठायो, न आफै लडे । तर पनि ज्यापू गल्लीमा उनको मान्यता मेयर भन्दा कम छैन । दन्तलाल त्यो गल्लीको स्रेस्तेदार थियो ।पछि लेखन दास भयो, हुदै जादा अधिवक्ता र बरिष्ठ अधिवक्ता जस्तो छ, उसको त्यहाँको सामाजिक हैसियत । केही कानूनी उल्झन आएमा दन्तलाल वकिल कागज लेख्छ । हीरा साहू मजाले दाया र बाया हातको ल्याप्चे ठोकी दिन्छन् । हीरा साहू दन्तलालमाथि विस्वास गर्छन् र दन्तलाल हीरा साहूलाई विस्वास घात गर्दैन । कसैको बिहे बटुलो, मरु मराउ पर्यो भने हीरा साहू कुरा मिलाउछन् । दन्तलाल हिसाब किताप लेखापालले जस्तै गरी दिन्छ ।
बर्षौदेखि मालिकको नूनको सोझो गरी बसेका असाध्यै बान्की परेका इमान्दार हल गोरु जस्ता, अर्को शब्दमा भनौ, राम लक्ष्मण जस्ता कहिले नछुटिने हीरालाल साहू र दन्तलाल वकिल ।
हीरा साहू र दंतलाल वकिलका आ-आफ्नै विशेषता छन् । शारीरिक बनावट आ-आफ्नै किसिमको छ । जात अलग छ । तर भावना एकै छ, धर्म एकै छ । एकै घरमा बस्छन् । हीरा साहू खेतीको काम गर्छन् । दन्तलाल उसको भाषामा वकालत गर्छ । उसले भनी दिन्छ । शहरका जाने माने वकिलहरू पनि उसका अगाडि बाघका सामू बाख्रो उभिए जस्तै हुन्छन् ।
हीरा साहू खेचा साहूका मर्दा मर्दा गरेर बाँचेको पाँच भाइ छोरामध्येको कान्छो छोरो हुन् । उनका चार दाजुहरू पालै पालो माई रोगको महामारीले गर्दा विष्णुमतिको किनारतिर मास छर्न गए । खेचा साहूले चारा चौरासका भगवान र देवी देवता भाकेर बाँचेको खेचा साहूको कान्छो छोरो हीरा साहू । खाडीका दौरा सुरुवाल, कम्मरमा पटुका, पोलिस्टरको कालो टोपी, अक्सर खालि खुट्टा, लगाई हाले भने पनि हाती छाप चापल, कानमा दादा केटाहरूले लगाउने जस्ता सुनका मुन्द्रा र कालो इस्टकोट लगाउछन् । दाँत छ महिनामा एक पटक खरानीले माझ्दा हुन् । हात र खुट्टाका नङ लामा लामा र मैला छन् । झट्ट हेर्दा हीरा साहू हरेक मकर सक्रान्तिमा नबिराई नुहाउछन् जस्तो लाग्छ । तर पनि ज्यापू गल्लीका जाने माने समाज सेवी, सबैको अभिभावक हुन् । ज्यापू गल्लीका रुढिवादी र परम्पराका हिमायती ज्यापूहरूका लागि सरकारले खटाएको मन्त्री जस्तो लाग्छ । हीरा साहूलाई नसोधी कसैले पनि बिहे बटुलो, कर्मकाण्ड, पूजापाठ आदि गर्दैनन् । ज्यापू गल्लीमा मर्ने मान्छेहरू पनि हीरा साहूलाई सोधेर मात्र मर्छन् जस्तो भान हुन्छ । त्यस गल्लीमा हीरा साहूको ठूलो इमान छ ।
दन्तलाल वकिलको पुर्खौली थलो ताप्लेजुंगको फूलबारी भन्छन् । उसका बाबुले २०१५ साल तिरै झापाको खुदुनाबारीमा आएर झोडा फाडेर बस्ती बसाले । दन्तलालका बाबुले ऊ पाँच बर्षको हुदा खुदुनाबारीको स्कूलमा दुई कक्षामा भर्ना गरी दिए । दन्तलालको खास नाउ भने ईश्वरीप्रसाद न्यौपाने थियो । स्कूलका संस्कृत पढाउने गुरुले उसको शारीरिक वनावट हेरी दन्तलाल न्यौपाने राखिदिए । उसका अगाडिका दुई वटा दात अलिक बाहिर निस्किएका छिचरा परेका थिए । हेर्दा सानो सुरिलो परेको, कपाल कैलो, आखा गोमन सापका जस्ता तीखा परेका हेर्दै हासोको पात्र जस्तो देखिने ईश्वरीलाई मजाकको रुपमा दन्तलाल नाम राखियो । यस कारणले ऊ ईश्वरीप्रसाद न्यौपानेबाट दन्तलाल न्यौपाने भयो ।पछि शनिस्चरे मा वि बाट उसले एस एल सी पास गरी काठमाडौँतिर कानून पढ्न छिर्यो । नेपाल ल क्याम्पसमा आई एलको तीन चार पटक जाच दियो । बर्सै पिच्छे जाचमा आलु खाएपछि उसले पढाइलाई पूर्ण बिराम लगाई दियो । काठमाडौँ आएपछि दुई तीन पटक घर फर्क्यो ।पछि बाबुले सौता हाले भन्ने खबर सुनेपछि भने उसले खुदुनाबारी होइन, झापा पनि होइन, पूर्वतिर खुट्टै हालेन । शुरुमा दन्तलाल काठमाडौँको घट्टे कुलोतिर बस्दथ्यो । सस्तो डेरा खोज्दै ऊ ज्यापू गल्लीको हीरालाल साहूको घरभित्र पस्यो र अध्यावधि छँदैछ ।
दन्तलाल काठमाडौँको चारखाल अड्डा, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नगरपालिकाको बाहिर ग्राहक पर्खिदै बस्छ । निवेदन लेखे वापत ग्राहक हेरी दाम तोक्ने गर्छ । अदालतमा लड्नु पर्ने मुद्धा ल्याए भने शहरका नामूद वकिलका घरमा गएर खुट्टा ढोग्छ र वीचबाट आएको कमिसनले गुजारा चलाउछ । मैला मैला सर्ट, पेन्ट, छालाका जुत्ता, बर्सौदेखि हिउद बर्खा उही पुरानो ज्याकेट भिर्दै ज्यापू गल्लीबाट झोसे, बसन्तपुर हुदै पैदल चारखाल जान्छ । बाटामा धेरै जसो किराना पसलमा उधारो खाएर ऋणले टुप्पी बिकेको हुनाले गल्फनले मुख ढाकेर अर्को बाटोतिर बाट पनि हिड्ने गर्छ । दन्तलाललाई हिउद महिनामा बढी सर्दिले समात्छ । जीर्ण शरीर भएको बूढो गोरुले जस्तै ख्वांग ख्वांग खोक्दै दिनको दुई तीन मुठा बिढी स्वाहा पार्छ । कसैले सिगरेट दियो भने हातको कान्छी औलामा फिल्टर च्याप्छ र बूढी औला र चोर औलाको वीचबाट सररररररर धूवाँ तानेर ख्वांक ख्वांक ख्वांक ख्वांक गरी खोक्छ । उसले खोकेको देखेर हीरा साहू चिन्तित हुदै भन्छन्, ‘‘बरी बिरी खाएर नलेऊ भन्या ! चाडै मरेर ल्याउँछ ” । आफ्नो मित्रको चाडै मृत्यु होला भन्ने डरले हीरा साहू पिरोलिन्छन् । जवानीमा दन्तलाल झ्यालमा बसेर तलतिरको सार्वजनिक धारामा ज्यापूनी महिलाहरूले पासपोर्ट साइजमा नुहाएको हेर्दै राता राता ओठ बनाउने गर्दथ्यो । हीरा साहूकी छोरी हाकुलीप्रति एक दुई पटक झन्डै गति छोड्यो । पछि बात लाग्ने डरले आफै समालिदै गयो । एक हिसाबले भन्ने हो भने उस बेलादेखि ऊ लख्याएको (परिवार नियोजन गरेको) पशु जस्तै भयो ।
दन्तलाल कहिलेकाहीँ खाजा पानी खाने बेलामा सितन भएन भने हाकुलीलाई भन्ने गर्छ, ‘‘हेखे (हासको फूल) भए पनि ल्याऊ न” ।
खाली शिसी र पुराना कागज माग्दै हिडेको मान्छेको आवाज सुनेर हाकुली दन्तलाललाई सोध्छे, ‘‘बाहिर को कराउँछ ?”
उसले नेवारीमा नै जवाफ दिन्छ, ‘‘मन मखु, मडसीया ख” (मान्छे होइन, मदिशे हो) ।
अर्कै ब्रह्माण्डबाट आएको तुच्छ प्राणीलाई जस्तो गरी मदिशेको हूर्मत लिन्छ ।
दन्तलाल नेवारी भाषा फर्रर रिठो नबिराई बोल्छ, अझ कसै-कसैलाई त लेख्न पनि जान्दछु भन्छ । ज्यापू गल्लीका मानिसहरूलाई उसले चार नारायण घुमायो । यता थानकोटदेखि उता बनेपासम्म लग्यो । बालाजुदेखि दक्षिणकालीसम्म पनि गए । तिनीहरूलाई कहाँ कहाँ गएका छौ भनेर सोध्यो भने तिनीहरू गर्वका साथ भन्छन “टारा टारा गा छ, एटा थानकोट पुग्यो, उटा बनेपा पुग्यो ।”
उनीहरू आफ्नो प्रादेशिक भाषाभन्दा अरु त्यति जान्दैन् । हीरा साहू र दन्तलाल बिहान सबेरै उठेर नजिकैको गणेश मन्दिर जान्छन् र पूजा गरी कानमा फूल सिउरिएर एक जना सब्जी किन्छ अर्को मालपुवा र सेल रोटी किन्छ । बिहानको नास्ता र खानसँगै खान्छन् र हीरा साहू कामको लागि खेततिर जान्छन्, दन्तलाल अड्डातिर जान्छ । बेलुका प्राय: सँगै आउँछन् । दुइटै मिलेर अलि अलि स्थानीय खाजा पानी खाएर भान्सा गर्छन् । बर्सौदेखि यी राम लक्ष्मणको दिनाचार्य यसरी नै बितेको छ … ।
एल एन सुवेदी ”हस्ती”
मंगलबारे, इलाम
हाल : दुबई – यू ए ई
