Skip to content


कवि वैरागी काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्।

स्वनामधन्य बैरागी काइँला (तिलबहादुर नेम्वाङ)को दोस्रो कविता कृति अन्धा मान्छेहरू र हात्ती अहिले बजारमा नयाँ छ। नेपाली काव्यजगतमा ५० वर्षदेखि निर्विवाद उचाइ बनाएका कवि काइँलाको पहिलो कृति बैरागी काइँलाका कविताहरू २०३१ सालमा आएको थियो। थोरै कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित काइँलालाई पहिलो सङ्ग्रहमा अन्वेषक तथा प्रकाशक कमल दीक्षितले चिनाएका थिए भने दोस्रो सङ्कलनमा आयामेली (क्युबिजम) साहित्यका डिजाइनर इन्द्रबहादुर राई त्यो भूमिकामा छन्। राई लेख्छन्, “काइँलाका कविताको विषय छ- आफूको खोज। त्यस विषयलाई रूप दिने उहाँको दृष्टिलाई एक शब्दमा बताउनु परे आयामिक भन्न पर्छ। तर आयामिक कवि १० जना भएका भए सबै काइँला हुने थिएनन्। प्रतिभाको पृथकताले कवि बैरागी काइँला पायौं।”

आयामेली त्रिमूर्तिमध्ये एक कथाकार तथा समालोचक राई अहिले लीला लेखनमा छन्। कविताका काइँलाले समयसँगै सरलतालाई समातेको मानिन्छ। पहिला पनि काइँलाका कवितालाई ईश्वर वल्लभका भन्दा बढी बोधगम्य अर्थात् बिम्व खुट्याएपछि फुकाउन सजिलो मानिन्थ्यो। उनको प्रस्तुत कृतिमा २०२१-६५ बीचमा फूटकर प्रकाशित हुँदै चर्चित भएका पाँच आयामेली र चार अन्य कविता छन्। आयामिक कवितामा चित्रात्मक बिम्वमार्फत आधुनिक मानिसको अस्तित्व समाएर सुदूर अतीततिर लैजाने कवि काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्। गएको दशकको क्यामोफ्लाज/कम्ब्याट राजनीतिबाट नेपाली समाजसँगै सेकिएका उनी लेख्छन्:

लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिने छ
तर तिमी मसँग नै किन मर्दैछौ?
लाग्थ्यो बन्दूक बोकेर म सुरक्षित हुनेछु
तर भयभीत अझ् तिमीसँगै बढी किन हुन्छु?
(वाग्मती लहरले उठेर वर्षिदेऊ…)

दुरुह र विलक्षण बिम्वहरूमा भाषाको चामत्कारिक विलाश गर्ने कवि काइँलाले २०६२-६३ को जनआन्दोलनताका लोकतन्त्रको तिर्खाले मातेर सडक जाम गरे। आन्दोलन सफल नभएको भए मुलुकको प्रज्ञा-प्रतिष्ठानका कुलपति हुने योग्यता शायदै पुग्थ्यो होला, यी पाँचथरे लिम्बुको।

कुलपति काइँलाले सरलता समातेपछि लेखेको सम्भवतः सबभन्दा चर्चित कविता चाहिँ शरणार्थी विचार र मालीगाउँमा चितुवा हो। २०६४ कात्तिक पहिलो साता काठमाडौंको मालीगाउँमा देखा परेको चितुवा प्रहरी बलको सात गोली खाएपछि मात्र ढलेको सचित्र समाचार पढेपछि नश्ल चेतमा काइँलालाई फुरेको कविताको एक अंशः

आहा! पराजितको इतिहास हुँदैन
उफ्! म संस्कार र संस्कृतिविहीन!
मेरो इतिहास, सभ्यता, संस्कार र कलाकौशल,
कसले नामसारी गरेर लग्यो जालसाजीबाट?

यो कविताबारे भूमिकामा इन्द्रबहादुर राई लेख्छन्, “…आफ्नो थलो दाबी गर्न झै फर्कंदा सिपाहीको बन्दूकको गोलीले (चितुवा) मारिएको समाचारको पृष्ठभूमिमा नेपालका आदिवासीजनहरूको उजुरी छ। उजुरका समर्थकहरूबाट यस कवितालाई अधिकारको काव्यिक घोषणापत्र (म्यानिफेस्टो)को मान्यता हुँदा असमर्थकहरूको मूल्याङ्कन भिन्न हुन सक्छ।” नभन्दै, समीक्षक हरि अधिकारीले नेपाल साप्ताहिकमा लेखेका छन्, “… नेपाली समाजको एउटा अगुवाका रूपमा कवि काइँलाले आफ्नो जातिको पहिचान र महत्व स्थापित गराउने आवाज उठाउने क्रममा अन्य जातिका पितापुर्खाले गरेको अन्यायको दण्ड अहिलेका तिनका सन्ततिहरूले भोग्नुपर्छ भन्ने ध्वनित हुने साहित्य रचना गर्न पक्कै पनि सुहाउँदैन।”

अन्धा मान्छेहरू र हात्ती जति पठनीय छ उति नै सङ्ग्रहणीय पनि। तर, कुनै पनि कविताको पूर्णतामा एक पित्को अशुद्धता नछाड्ने आधुनिक नेपाली कविताका एउटा स्तम्भ यी कविलाई सङ्ग्रह निकाल्नै पर्छ/निस्कनै पर्छ भनेर जोरजुलुम गर्ने भाइहरूले छपाइअघि गरेको लापरवाही देखेर कति झवाँक चल्यो होला! यसका लागि प्रकाशक साङ्ग्रिला बुक्स्ले पाठकसँग माफी माग्नुपर्ने कुरा हरि अधिकारीले लेखेका छन्।

पुस्तक : अन्धा मान्छेहरू र हात्ती
लेखकः बैरागी काइँला
प्रकाशकः साङ्ग्रिला बुक्स्
मूल्यः रु.९९,
पृष्ठ : ५६+२०

आनन्द पी राई

प्रकाशित मिति: १६-३० चैत २०६८

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क २३
पूर्णाङ्क ३०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *