Skip to content


बाल्यकालमा आफ्नै बाबुबाट खेप्नु परेको प्रताडना, किशोरकाल नटेक्दै समाजमा गरेको एक्लो सङ्घर्ष र त्यसपछि पाएको सफलताको उचाइ जो कोहीको लागि प्रेरणादायी छ।

“तिमी अरूलाई फेर्न सक्दिनौ, त्यसैले आफैँलाई फेर्न शुरु गर। अरूका जुन-जुन कुरा तिमीलाई मन पर्दैन, त्यसको ठीक विपरित हुने गरी स्वयंलाई विकास गर्नतिर लाग।”

आफूले झेलेको परिवेशबाट मुक्ति खोज्दै शिवपुरी डाँडाको नागी गुम्बा पुगेकी किशोरी भुमोलाई गुरु टुल्कु उर्गेन रिम्पोछेको मुखारविन्दबाट निस्केको यही उपदेशले अन्ततः आनी छोइङ डोल्माका रूपमा लोकप्रसिद्ध बनायो। लोरँस दब्रिलसँगको सहकार्यमा ‘ह! एडिसन्स ले उनै आनीको जीवन यात्रालाई पाइला-पाइला केलाउने आत्मकथा तीन वर्षअघि नै फ्रान्समा प्रकाशित गरेकोमा अहिले त्यसको नेपाली संस्करण पाठकको हातहातमा छ फूलको आँखामा नामबाट।

फूलको आँखामा फूलै संसार … बोलको गीतबाट नेपालीहरूको मनमस्तिष्कमा छाएकी आनीको शालीनताभित्रको आँधीबेहरीपूर्ण जीवन पुस्तकमा सलल बगेको छ। प्रारम्भदेखि उपसंहारसम्मका २१ अनुच्छेदको पुस्तक पढ्न थालेपछि नसकुञ्जेल छाड्नै मन लाग्दैन। आनीका भोगाइहरूको उतार-चढावसँगै पाठकलाई कहीँ पीडाको पहाडले थिच्छ भने कहीँ शान्ति र शितलता अनुभूत हुन्छ। बाल्यकालमा आफ्नै बाबुबाट खेप्नु परेको प्रताडना, किशोरकाल नटेक्दै समाजमा गरेको एक्लो सङ्घर्ष र त्यसपछि पाएको सफलताको उचाइ जो कोहीको लागि प्रेरणादायी छ। गायिका आनीको रूपमा नेपालमा चिनिनुभन्दा धेरैअघि नै उनी युरोप, अमेरिका र दक्षिणपूर्वी एसियामा प्रसिद्ध भइसकेको पुस्तकबाट थाहा हुन्छ।

फूलको आँखामा
लेखकः आनी छोइङ डोल्मा
प्रकाशकः नेपालय
मूल्यः रु.३००,
पृष्ठः २६४+

काठमाडौँमा नयाँ जीवन शुरु गरेको तिब्बती शरणार्थी परिवारमा जन्मेकी भुमोलेे बौद्धको एउटा टोलमा बिताएको बाल्यकाल काँडैकाडामा उनिएको छ। ६ वर्षकै उमेरमा बाबुको कुटाइबाट टाउकोमा गहिरो चोट पाएकी उनी गुम्बाको शरणमा पुगेपछि अध्यात्म र शान्तिले भरिएको फूलको संसार फेला पार्छिन्। बाबुबाट आमा र आफूमाथि भएको अत्याचारले आनीलाई यति कठोर बनायो कि उनले जीवनमा विवाह नगर्ने प्रण गरिन्। १३ वर्षको उमेरमा शिवपुरीको नागी गुम्बाबाट उनले शुरु गरेको नयाँ जीवन आज सङ्गीत साधना र समाजसेवामा समर्पित छ।

गुम्बामा सानी आनीको बालसुलभ चञ्चलता, तन्नेरीपनमा टेकेपछि बुद्ध मन्त्र गाउँदा गाउँदै सिङ्गापुर र अमेरिकामा पटक-पटक पाएको कन्सर्टको अवसर, फर्पिङमा स्कूल खोल्दा खेपेको भुक्तमान, दलाइ लामासँगको भेट, आफूले नजन्माएका छोरा ग्रहण गरेको घटनाक्रमले भरिएको आनीको जीवन र समाजका लागि चिरस्थायी काम गर्ने उनको उत्कट चाहनाले पाठकलाई नतमस्तक बनाउँदै लैजान्छ। अंग्रेजी संस्करणबाट गरिएको गिरिश गिरीको अनुवादले पुस्तक सरल र सशक्त बनेको छ। फूलको आँखामा जति पठनीय छ, उत्ति नै सङ्ग्रहणीय पनि।

अनुशील

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १९
पूर्णाङ्क ३०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *