Skip to content


शिक्षा-चिन्तक गिरिजाशङ्कर भगवानजी बधेका अर्थात् गिजुभाईले आफ्नो छोटो जिन्दगीमा गरेका बाल-शिक्षणसम्बन्धी सार्थक चिन्तन, प्रयोग र अनुभवहरूको सारसङ्क्षेप हो― दिवास्वप्न। आफूभित्र सुषुप्त अवस्थामा रहेको बालबालिकाप्रतिको मोहले बालशिक्षाको क्षेत्रमा धकेलेपछि गिजुभाई हाईस्कूलको जिम्मेवारी छाडेर बालमन्दिर खोल्ने, बाल-शिक्षण विधिका किताब लेख्ने, प्रवचन दिने र शिक्षक तालिम सञ्चालन गर्ने अभियानमा होमिन्छन्। आफ्नो चिन्तनलाई व्यवहारमा उतार्न आफैं अग्रसर हुनु, उदाहरण बन्नु र खट्नु उनको विशेषता थियो।

पुस्तकको विषयवस्तु आठ दशकअघिको गुजरातको एउटा सानो नगरबस्तीको शैक्षिक परिवेशमा आधारित छ। बालसाहित्य, बाल-शिक्षण, बाल-मनोविज्ञान आदि विधामा १५० भन्दा बढी पुस्तक लेखिसकेका गिजुभाई सुस्त गतिमा काम गर्ने मानिस देख्दा दिक्क हुन्छन्। उनी घोक्ने-घोकाउने विधिलाई विस्थापित गर्न नयाँ शिक्षण विधिको प्रचारसँगै शिक्षक, अभिभावक र शिक्षा-प्रशासकहरूलाई प्रशिक्षित गर्नु जरुरी ठान्छन्। परम्परागत शिक्षण विधि, बालबालिकाप्रति अभिभावक, शिक्षक र स्कूलबाट हुने (दुर्)व्यवहार, परीक्षा पद्धति, पढाइको परिभाषा र उद्देश्यप्रति तीव्र विद्रोह प्रकट भएको किताबमा सँगसँगै नयाँ विधि, व्यवहार र पद्धतिको व्याख्या र प्रयोग गरिएको छ।
पुस्तकभित्रको विद्यार्थीका मनमा रहेको परीक्षाप्रतिको आतङ्क समाप्त गर्नुपर्छ। परीक्षायोग्य विद्यार्थीको प्रगति मापन गर्न भन्दा पनि कमजोर विद्यार्थीको कमजोरी ठीकसँग पत्ता लगाउन र उनीहरूलाई सुधार्नका निम्ति ती विषयको मात्र परीक्षा लिइनुपर्छ, जसको परीक्षण सम्भव छ भन्ने प्रसङ्गले आजको शिक्षालाई व्यङ्ग्य गरेको छ। विद्यार्थी विद्यालयका लागि अयोग्य होइनन्, हाम्रो विद्यालय नै उनीहरूका लागि अयोग्य छ। जुन कामका लागि उनीहरू लायक छन्, हाम्रो विद्यालय उनीहरूलाई त्यो काम सिकाउँदैन भनेर पुस्तकले विद्यालयहरूलाई शिक्षण विधि परिवर्तन गर्न सुझाएको छ।

प्राणवान, क्रियावान, निष्ठावान शिक्षकले मात्र वास्तविक शिक्षा दिन सक्छन् भन्ने गिजुभाईको सपना मनोगत नभई अध्ययन, चिन्तन र जीवन्त अनुभवमा आधारित देखिन्छ। जटिल विषयलाई सरल पारामा प्रस्तुत गर्ने गिजुभाईले यस कृतिमार्फत हरेक शिक्षकका सामु चुनौती खडा गरिदिएका छन्। उनको जस्तो सपना देख्न र त्यसलाई साकार पार्न चाहनेहरूका निम्ति दिवास्वप्न सधैं पथप्रदर्शक भइरहनेछ।

“पुस्तक पढ्दा मन छोयो, हाम्रो देश/समाजमा पनि यस्तै भइदिए कति राम्रो हुन्थ्यो भन्ने सपना पलायो, त्यसैले नेपाली संस्करण निकाल्न लागिपर्‍यौं”, नेपाली अनुवादको प्रकाशक शिक्षक मासिकको भनाइले किताब नेपाली परिवेशमा पनि साँच्चै नै सान्दर्भिक भएको देखाउँछ। जतिले पढ्छन् एकै सासमा पढी सिध्याउँछन्। एउटा पुस्तकको सान्दर्भिकता स्थापित गर्न योभन्दा बढी के नै चाहिन्छ र! शरच्चन्द्र वस्तीको अनुवाद कुशलताले पुस्तकलाई न्याय गरेको छ। उहाँको भाषिक कौशलका कारण अनूदित कृति भएर पनि किताबमा मूल कृतिको स्वाद पाइन्छ। शिक्षण कलामा केन्द्रित यो स्तरको पुस्तक आजको नेपालमा शायदै भेटिन्छ। आखिर यो सबैको सपना साकार भएको पनि त हो!

दिवास्वप्न
लेखकः गिजुभाई
अनुवादकः शरच्चन्द्र वस्ती
प्रकाशकः शिक्षक मासिक पृष्ठ १२४,
मूल्यः रु.१५०

धर्मराज दाहाल

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १६
पूर्णाङ्क ३००

Leave a Reply

Your email address will not be published. Required fields are marked *