Skip to content


तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ
मेरो घरको झ्याल खस्ने गरी
ढुङ्गाले हान्यौ र गयौ,
मैले उहीबेला तिम्रा लागि यौटा सजाय सोचेको थिएँ ।

पछि एकपटक भेटेँ
तिमी तुषाराले आफैँ भत्कने गरी काँपिरहेका थियौ
अर्कोपटक भेटेँ
वैशाखको आगो मिसिएको घाममा जलिरहेका थियौ
फेरि एकपटक कुनै उकालामा भेटेँ
तिमी दुःखको यौटा पर्वत चढिरहेका थियौ
अर्कोपटक देउरालीबाट देखेँ-
आँसुझैँ त…ल तल झरिरहेका थियौ ।

कहिले आफैँदेखि भागेर तिमी
सहरका साँघुरा गल्लीहरूमा छिरिरहेको देखेँ
कहिले सपनाहरू बेचेर टाट,
यसै हल्लिइरहेको भेटेँ !
इश्वरलाई चढाउने फूल उमार्ने
आफ्नो जमिन नरहेको झोँकमा,
काखको नानीलाई हातमा राखिदिन
आफूसित यौटै हरियो पात नभएको झोँकमा
तिमी जुलुसमा

आवाज बोकेर हिँडिरहेको पनि देखेँ ।

पोहोरै त हो
जीवनको पल्लो किनारसम्म पुग्ने गरी
राज्यले लखेटिरहेको भेटेथेँ
पछि व्रि्रोहीहरूले खेदिरहेको पनि भेटेँ
जहाँ भेटेँ, दुःखले आत्मासम्म भिजेको भेटेँ
जिन्दगी दुख्ने गरी, पाइला-पाइलामा
काँढामात्रै बिझेको देखेँ ।

साँच्चै, यो समय, यो परिवेशमा
तिमीलाई बाँच्न दिनुभन्दा ठूलो सजाय
अर्को के हुन सक्थ्यो, हँ –
म बेवकुफ !
तिम्रा लागि
सजाय पो सोचिरहेको थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *