Skip to content

निस्वार्थ त्याग (कथा)

  • by


“एका बिहानै उठेर अब फेरि गाउँ चहार्ने बेला भो हैन तेरो यसो घरमा बसे र! केही सघाए पनि त हुन्थ्यो नि खै के भन्नु र! यस्तासँग यसो आँफै जानेर देखेर काम गरे नि त हुने नि सानो भए पो कति अराउनु !” – भगिराजकी आमाले गनगन गर्दै थिइन ।

“भर्खर गाई-बस्तु पाखा लाएँ अब के गर्नु परो सबै काम सकें त हौ कति कराएको ?” यति भनेर भागिराज उम्कन खोज्दै थियो ।

हुन त भगिराजलाई उसकी आमाले ७ बर्षको छँदै काखमा च्यापेर ल्याएकी हुन रे पाहिले उनीहरू आसामतिर बस्थे उताबाट खेदिएपछि नहरको छेउमा अलिकति पैसा तिरेर सस्तोमा जग्गा किनेर बसेका हुन रे । निकै बिरामी परेर बाँचेकोले गर्दा होला आजसम्म भगिराजलाई कहिल्यै नराम्रोसँगले हकारेकी पनि छैनन ।

बिहानै उठेर लखर लखर गाउँ नघुमी भगिराजलाई पटक्कै चित्त बुझ्दैन । कहिले वल्ला गाउँ त कहिले पल्ला गाउँ । गाउँभरि यताको कुरा उता उताको कुरा यता पुर्याउने भएर होला कसै-कसैले त उसलाई बीबीसी पनि भन्ने गर्थे । जता गयो उतै काम सघाउने भएकोले सबैको प्यारो थियो । ऊ एकदिन मात्रै आएन भने सुन्य मान्थे । हेर्दा साह्रै दुब्लो, पातलो अनि सानो मुख, फुर्तिलो यताउति गरिरहने भएकोले होला उसलाई जिस्क्याएर भँगेरा पनि भन्ने गर्थे । यसो भन्दा ऊ खेदाउथ्यो परसम्म, साना केटाकेटीदेखि ठुलासम्म सबै उसैलाई जिस्क्याँथे । तर ऊ कहिले रिसाउँदैन थियो । एकछिन खेदाए जसो गरे पनि फेरि ऊ सधैं झै उस्तै ।

हुन त उसलाई बाबु आमाले बनीबुतो गरेर भए पनि स्कुल पढाएकै थिए । जसो तसो ठेलठाल गरेर १० कक्षा त पास गर्‍यो, एस.एल.सी भने गुल्टिएपछि कहिले पनि पास गर्न सकेन । चार पटकसम्म त दियो त्यसपछि दिन पनि छाडी सक्यो । पढ्न नजान्ने पनि कहाँ हो र! सरहरूले भन्ने गर्थे एउटा प्रश्नको उत्तर नै २ घण्टासम्म लेखिरहन्छ । फेरि निकै राम्रो नि लेख्छ तर कति गर्दा उत्तर टुङ्यौन सक्दैन ।

सधैं झै त्यो दिन पनि आमा उसलाई कराउदै थिइन । घरको सानो तिनो काम सकाएर ऊ सधैं झै उम्कन खोज्दै थियो । हुन त उसलाई घरको अवस्था बारे चिन्ता नभएको कहाँ हो र! हलो जोत्न, भारी काम गर्न सक्दैन थियो साह्रै दुब्लो पातलो भएर पनि होला कसैले पत्याउदैन थिए । सानो तिनो जागिर कतै पाईन्छ कि भनेर केसम्म गरेन उसले ? जुन पार्टीको कार्यक्रम भए पनि कहिले पोस्टर टास्ने त कहिले माइक बोक्ने काम सघाउथ्यो । यस्ता उस्ता काममा त ऊ साह्रै खप्पिस थियो हुन पनि जो पनि उसलाई खोज्दै आँफै अाइपुग्थे । तर सबै आफ आफ्नो स्वार्थ पुरा गरे पछि “कौन पुछेगा खेसरिका दाल” सानो तिनो भए नि जागिर खोज्दै कहाँसम्म धाएन र! ती खाली आश्वासानमा सीमित रहे ।

अचेल ऊ आँफैलाई केही गर्न नसक्ने बेकामे सम्झन थालेको थियो । आमाले निकै कर कर गर्थिन बिहे गर्ने कुरामा । तर उसले मन पराएकी केटीले त उसका कुरा हावामै उडाएर अपमान गरी । यसकारण उसले अब के बुझ्न थालेको थियो भने जसो तसो गरेर जागिर खाने अनि मात्र बिहे गर्ने । कल्पना गर्थ्यो – आफ्नो पहिलो कमाइले किनेर भाइ बहिनीलाई राम्रा लुगा, अनि अपाङ्ग बाबुलाई खुशी पर्ने आमालाई थबक्क हातमा पैसा राखिदिन पाए ! तर उसका सपना सपनामै सीमित थिए झिनो आसा भने अझै छाडेको थिएन ।

त्यो दिन पल्लो गाउँतिर गएको त घर फर्कन निकै ढिला भएछ क्या र! चकमन्न रात, बाहिर झम झम पानी परिरहेको थियो आज बिहानैदेखि पानीले निहु खोजे झै गरि रहेको थियो घरी दर्किने, घरी घाम लाग्ने गर्दै थियो । फेरि पनि पानी पर्ने संकेत हो क्यार, पर खेततिर भ्यगुताहरू टवार टवार गरेर कराइरहेका थिए ।

ऊ हिंडेको बाटोमा झ्याउँकिरी बाहेक कोही थिएनन् । बाटो सुन्सान अँधेरी रात नहरको बाटो घर जानु पर्ने घरी बिजुली चम्केर कानै छेड्ने गरी गड्याङ गूड्उङ गर्थ्यो भने घरि मान्छे उडाउने गरी हुरी बतास चल्थ्यो । किन किन आज उसलाई कतै अनिष्टको संकेत पो हो कि भनेर मनमा चिसो पस्यो । उसँग अोड्ने छाता घुम केही पनि थिएन निथ्रुक्कै भिजिसकेको थियो । आमाको गालीको चिन्ताले सताइरहेको थियो नै त्यो भन्दा पनि अजिबसँगले उसको मन डराउन थाल्यो मुटु काप्न थाल्यो । यतिकैमा छेउतिर नहरमा आँखा लगायो बाँध त भत्किउन पो लागेको रहेछ । बेलैमा थुन छेक गर्न सके त सिङ्गो गाउँ डुबाउनबाट बच्थ्यो । वर परसम्म कसैले सुन्छन कि भनेर निकै बेर चिच्यायो । कसैले पनि सुनेनन । यसै छाडेर पनि उसको मनले मानेन ।

“यसरी नै पानीले काट्दै गयो भने रातिसम्म त !” सम्झेर ल्यायो – “भाइ बहिनी गाउँघर गाई गोठ ऊ यो सब बगाएर लग्यो भने ! परिवार छिमेक ।”

सोच्नै सक्तैन अहँ ऊ सहन् सक्दैन बरु केही उपाय खोजी गर्‍यो । छेउमा भएका ढुङ्गाहरू बोकेर ल्यायो बाँध थुन्यो । सकेसम्म छेउ छाउबाट झिक्रा सेउलाहरू बोकेर ल्यायो बाँध थुन्यो । अँझै उसलाई चित्त बुझेन छाडेर पनि जान सकेन छेउछाउमा कसैले बोलाँउदा सुनेनन । रातभरि रूघेर बस्यो बिहानसम्म त अरु पनि आउछन अनि राम्ररी थुनेपछि जाउला भन्ठान्यो र त्यही बस्यो।

दिनभरि घुमे पनि सधैं घर आउने भागिराज भोलिपल्ट बिहानसम्म पनि घर नआएकोले आमा खोज्दै गाउँतिर गाइन् । कतै नभेटेपछि हैरान हुँदै घरतिर फर्किन । रातभरि पानी परेर अलिकति उघ्रेको देखेपछि कतै यो पानीले केही बिगार त गरेन भनेर गाउँलेहरूको मनमा चिन्ता छायो खोजी गर्दै थिए । सबैको डर तेतै बाँधतिर थियो अनि नहरतिर लागे । बाँधमा केही ढुङ्गा अनि केही झिक्रा देखेर छक्क परे – “कसले यसरी पानी रोक्यो ?”

नजिकै गएर हेरे त्यहाँ पानीको बहाब रोक्ने त अरु नभै भागिराज को मृत शरिर पो बाँधमा तेर्सिएर बसेको थियो र! एउटा सिंगै गाउँ बगाउनबाट रोकिरहेको थियो ।

त्यो दृश्य देखेर गाउँलेहरू खुसी थिए भने अत्यन्त मार्महित बन्दै गइरहेका थिए । गाउँ पुरै सान्नटाले छायो थियो कहिल्यै नफर्किने गरेर सबैको प्यारो भागिराज गाउँलाई छाडेर गैइसकेको थियो । गहभरि आँसु लिएर उसको मृत शरिर पाखा लाउदै थिए ।

यतिखेर आकाश नै फुट्ला झै गरी गड्याङ गुडुङ गर्दै झम झम पानी पारेर मानौ उसको मृत्युसँग प्रकृति पनि रोइरहेको थिइन । नहरको पानी आफ्नै गतिले बगिरहेको थियो ।

लीला रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *