Skip to content

‘विद्रोही काले’ महाकाव्यको एक झलक

  • by


पिता पं भीमप्रसाद शर्मा कट्टेल र माताा लीलादेवीका सुपुत्र सोमराज उपाध्याय कट्यालद्वारा रचित महाकाव्य को नाम हो “विद्रोही काले”। सोमराज उपाध्यय कट्याल को जनम १९९८ साल फाल्गुन महिना छ गते मंगलबार ढुङ्गेधारा गौरीगाउँ सङ्खुवासभा, कोशी अञ्चलमा भएको र आफ्नै जन्म जिल्लाको परिवेशमा उहाँले लेख्नु भएको छ यो महाकाव्य। यो महाकाव्य ४६४ पृष्ठको छ। यसको प्रकाशन जुही प्रकाशन, झर्रो नेपाली घर चन्द्रगढी झापाले गरेको छ र मूल्य रु १०५० मात्र छ। यो महाकाव्यको लेखन थालनी २०२३ सालमा गरिएको भए तापनि महाकाव्यको लेखन २०३६ साल बैशाखमा समाप्त भएको र प्रकाशन भने २०६५सालमा भएको छ। यो महाकाव्य भित्र प्रवेशगर्नु भन्दा पूर्ब यस महाकाव्य प्रति बिभिन्न साहित्यकारहरूले राखेका अभिव्यक्तितिर लाग्ने अनुमति चाहान्छु। सर्ब प्रथम प्रकासक्यौली शीर्षक दिएर चुणामणि रेग्मी लेख्नु हुन्छ -“यो, विद्रोही काले अप्रकाशित अवस्थामै पनि झापाको साहित्यिक गतिविधिमा २०४०ताक विशेष चर्चित महाकाव्य थियो।” होम सुवेदीले विद्रोही काले महाकाव्य छोटो चर्चा शीर्षक दिएर लेख्नु हुन्छ- “सैद्धान्तिक स्वभावमा प्राय : अडिएको महाकाव्य हो यो।” लेखक्यौलीमा स्वयम् महाकवि सोमराज अभय लेख्नु हुन्छ – “समाजमा व्याप्त आर्थिक विषमता, प्रतिको जनविद्रोह नै यसकाव्यको मूलभूत लक्ष हो तर जनताको सामूहिक विद्रोह देखाउने स्वतन्त्रता नभएकोले कालेलाई प्रतिकको रूपमा खडा गर्नु परेको छ।” यो महाकाव्य प्रति चुडामणि खनाल लेख्नु हुन्छ- “यो महाकाव्यले नेपाली राजनीतिमा मूलतः राणा-शासनकालको परिवेश ओगटेको देखिन्छ।” उपेन्द्र “पागल” ले विद्रोही काले महाकाव्यको सिंहाबलोकन शीर्षक दिएर यस महाकाव्याको चिरफार गर्नु भएको छ। उहाँको नजरमा महाकाव्यको कथाबस्तु यसप्रकार छ – “ विद्रोहीकाले कथाबस्तु समस्यामूलक सामाजिक यथार्थतामा आधारित प्रगतिवादी कथाबस्तु रहेको पाइन्छ।” अनिरुद्ध तिमसिना लेख्नु हुन्छ – “यो महाकाव्य राणाकालिन सामाजिक परिवेशको पृष्ठभूमिमा लेखिएको छ र यो कृति अव समसामायिक नभएर ऐतिहासिक बन्न पुगेको छ।” यी माथि लेखिएका सत्यतथ्यबाट यो काव्यको सारको केही अंश प्रष्टिएका छ तापनि कथा सार देखि यस सम्बन्धमा केही अभिव्याक्ति राख्न मनासिब लाग्दछ।

महाकाव्यको कथा सारांश-

प्राकृतिक सौन्दर्यले छाएको सङ्खुवासभा जिल्लाको कुनै ठाउँमा यस महाकाव्यका नायक कालेको जन्म गजानन्दको पुत्रको रूपमा हुन्छ। गजानन्दले कालेजन्मदाको अवस्थामै त्यसै गाउँको ध्वस्तप्रसाद (यस काव्यको खलनायक) नामको एउटा सामन्त कहाँबाट सुत्केरी खर्चको लागि ९० रूपयाँ ऋण लिन्छन् र त्यसै समयमा गजानन्दको मृत्यु हुन्छ। ध्वस्तप्रसादले गजानन्द मरेपछि लास आफूले कुर्ने र लास उठाउन गाउँले बोलाउने भनेर कालेकी आमालाई गाउँमा पठाएर मृतकको दुबै औठाको छाप लगाएर कागज बनाएर राख्दछन् र पछि कृया खर्च र सुत्केरी खर्चको निहुमा ६४ मुरी खेत हड्पेर कालेकी आमा र कालेलाई घरबार बिहिन बनाएर राख्दछन्। उनलाई आफ्नो बसमा ल्याउन राम्रा राम्रा कपडा पोते सिन्दुर कालेकी आमालाई पठाउँदा कालेकी आमले त्यो ग्रहण गर्न नस्वीकारे पछि एक साँझ आफ्ना मानिसहरू पठाएर ठीक गर्न खोज्दा कालेकी आमको पहराबाट खसेर मृत्यु हुन्छ। काले माथि दया जागेर नेपालेकी श्रीमती विसुमायाले रेखदेख सुरु गर्दछिन्। ध्वस्तप्रसादले उसलाई नोकर बनाउनका लागि आफ्नै घरमा लगेर आफ्ना परिवारसँग राखेर पाल्दछ। एउटी घर्तिनीलाई आमा बन्न लगाएर काले ध्वस्तप्रसादको घरमा पहिले परिवार सरह र काले ५ बर्षको भए पछि मालिक र दासपुत्रको व्यवहारको रूपमा उसलाई घर्तिनीसँग काममा लगाइन्छ। ११ बर्षके उमेरमा ऊ र घर्तिनीलाई जेठी पट्टीकी कान्छी छोरी कहाँ दाइजोको रूपमा पठाइन्छ। ११ बर्ष श्रीलाल कहाँ विताए पछि पुन ध्वस्तप्रसादको गोठालो (दास) को रूपमा कालेले काम गर्दछ। साहिलीसँगको भेटघाट पछि उसले साँहिलीसँग विवाह गर्दछ। ध्वस्तले आफ्नो ६४ मुरी खाएको, आँफूलाई घर्तीपुत्र बनाएको, आमको मृत्यु उसकै कारणबाट भएको जानकारी साहिलीबाट पाउँद छ र कालेले यो सबै सहन नसक्ने र ध्वस्तप्रसादसँग बदला लिने मनमनै निधो सलिन्छ। ध्वस्तप्रसादका छोराहरूबाटै दास प्रथाको बिरोध गरे र विद्रोहको सुरुवात भए पछि सरकारी कर्मचारी आएर ध्वस्तको छोरा भ्रष्ट प्रसादलाई पकडेर चैनपुर लग्दछन्। ध्वस्तप्रसाद छोरालाई छुटाउन चैनपुर लाग्दा कालेले पनि हुलाकद्वारा आफ्नो सम्पती प्राप्त गर्नको लागि अदालतमा विन्तिपत्र हालेको हुन्छ। अदालतमा रजिष्टरी गरी पठाएको रसिद साहिंलीलाई दिएर काले साहिलीको साहारा पाएर पल्टनमा भर्ना हुन जान्छ र भर्ना हुन्छ। चन्द्रसम्सेरले दासप्रथाको उन्मूलन गरेको हुँदा दासहरू मुक्त भएका हुन्छन्। साहिलीले गोठका पाडा ९ कोरीमा बेचेर चञ्चलीको साथमा भेडी गोठ राखी लेकतिर लाग्दछे। ध्वस्तप्रसादले मुद्दाजितेर आए पछि आफ्ना मानिस लगाएर साहिलीकी आमालाई भाला रोपेर मारिन्छ साथै जङ्गलमा आगो लगाएर साहिलीलाई मारिन्छ। काले पल्टनबाट र्फेर आई सासू र साहिली को मरणको जानकारी आफ्नी दिदी सासू (माहिली)बाट प्राप्त गरि ध्वस्तप्रसादकहाँ गइ आफ्नो परिवार किन मारिए सो को जानकारी, उसको सम्पति फिर्ता पाउनु पर्ने उसले गरेको समयको तलबको मागको लागि प्रवल रूपमा प्रस्तुत हुन्छ। ध्वस्तप्रसाद काले देखि खुबै डराउँछ र घरभित्र लुक्छ तर ध्वस्तका छोराहरूले उसको पच्छ लिएर सम्पति फिर्ता गर्ने बहिनीसँग विवाह गरिदिने कुराहर कालेसँग राख्दछन्। कालेले ध्वस्तकी छोरी विवाह गर्न स्वीकार्दैन। ध्वस्तका छोराहरू बाबुलाई जोगाएर अदालतमा गै ध्वस्तले भिमसम्सेर मारेर आफै राजा बन्न खोजेको आरोप काले माथि लगाउँदै उजुरी हाल्न सफलहुन्छन्। सरकारी कर्मचारीहरूले पकडेर अड्डामा लगि कालेलाई चरम यातना दिन्छन् तर काले अडिग रहन्छ र कालेले तत्कालिन व्यवस्थाको कमी कमजोडीलाई बहादुरीका साथ प्रस्तुत गर्दछ। न्याउ माग्दछ तर उसलाई खलङ्गाको वनमा लगि अन्तिम इच्छ्या सोधी झुण्डयायर गोली ठोकी मृत्यु दण्ड दिने आदेश सरकारी कर्मचारीबाट हुन्छ। कालेलाई वनमा लगिन्छ। अन्तिम इच्छ् सोधिन्छ। अन्तिम इच्छ्यामा कालेले ध्वस्तप्रसादको हातबाट एक गिलास दूध पिउने इच्छया जाहेर गर्दछ। ध्वस्तप्रसादबाट दूध पिलाउने बेलामा कालेले पोडेको खुकुरी थुतेर ध्वस्तप्रसादको गर्दन छिनाउँछ र कालेलाई पनि सैनिकको गोली खाई वीरोचित अन्त्य हुन्छ। यही कथाको समाप्तिबाट महाकाव्यको समाप्ति पनि हुन्छ। काव्यमा थुप्रै घटनाहरू समावेश गरिएका छन्। महाकाव्यको संरचना हेर्दा २४ सर्गहरू र एक उपसंहारबोकेको छ। यो महाकाव्य अन्य महाकाव्य भन्दा भिन्दै प्रकारको अवधारणा लिएर उपस्थित भएको देखिन्छ। यसमा आफ्नै मौलिकता छ। एउटा दासलाई नायकको रूपमा उभ्याइएको छ। महाकाव्य आन्तरिक र बाह्य द्वन्दले सजिएको छ। अनुष्टुप क्षन्द, पञ्चचामर र उपजाती छन्दले बाहुल्यता जमाए पनि अरु धेरै छन्दहरूको पनि प्रयोग भएको छ। महाकाव्यमा शृङ्गार रस, वीर रस, वीभत्स रस रौद्र रस आदि रसले काव्य शृङ्गारिएको छ। विविध अलङ्कारले सजिएको, शोषण, दमन, अन्याय, अत्याचारको विरोध र दासत्वबाट मुक्तिको साथै आफ्नो हक र अधिकारमा सचेतता जगाउन उत्पेरित गरेको, उखान टुक्काको प्रयोग, झर्रा शव्दको प्रयोग आदि आदिको प्रयोगले काव्यलाई उच्चाइमा पुर्‍याएको छ।

महाकाव्यमा समावेश भएका पात्रहरू पनि थुप्रै छन्। यी पात्रहरूलाई उपेन्द्र पागलले तीन बर्गमा बाड्नु भएको छ। एउटा बर्ग शोषक, उत्पिडक र सामन्तबर्ग छ जसको प्रतिनिधित्व ध्वस्तप्रसादले गरेको छ र उसकी प्रथम श्रीमती पट्टिका चार भाइ छोरहरू उग्रनाथ कानुन पढेका, भ्रष्टशर्मा उग्रनाथका समर्थक, रुद्रनाथ बाबुको बिचारका विरोधी र घोरनाथ बाबुको प्रबृतिका समर्थक रूपमा देखिएका छन् भने दिलमति पट्टिक चण्डशर्मा र प्रचण्डमणि तराइको बसोबास गरेका तराइको जिम्मेवारी बहनको साथै सुगरमिल सञ्चालग गरी राणाहरूको बर्गिय चरणको अवलम्बन गरेका छन् भने तेस्री श्रमिती चमेलीतिरका छोरा लालु र रामुको महाकाव्यमा विशेष भूमिका देखिदैन। सरकारी कर्मचारीहरू शोषण दमन र अन्याय अत्यचारका पृष्ट पोषकको भूमिकामा देखा परेका छन्। दोस्रो ठूलो बर्ग भनेको ध्वस्तहरूबाट स्वषित पीडित भएर पनि उनिहरूको पक्षधर भएर बाँच्न बाध्य देखिने बर्ग हो। यो त्यसवेलाको आम जनता समावेसी बनेको आभास हुन्छ तेस्रो बर्ग भनेको काले, साहिली र चञ्चली, रत्ना र पोकली हरूले दासत्व त्याग्न आफ्नै जीवनको बलिदान दिएका छन्।

यो महाकाव्यले धेरै परिवेशहरू समेटेको छ। महाकाव्यले पूर्वी नेपालको प्राकृतिक सौन्दर्यताले पूर्णता छाएका सङ्खुवासभा, चैनपुर धनकुटा, धरान, देहरादुन ब्रिटेनको साथै त्यस क्षेत्रको प्राकृतिक आर्थिक सामाजिक परिवेशलाई समेटेको छ। यसमा लेखिएका भावको आधारमा यस महाकाव्यले १९८२ तिरका चन्द्र समसेर तथा राणा शासकको शोषण, दमन, अन्याय, अत्याचारी युगको शोषित, पीडित, दासहरको यथार्थ विम्ब खिच्न यो काव्य सफल देख्एिको छ। विद्रोही काले नाम दिएर महाकाव्यलाई जस्तो नाम त्यस्तै कामले शृङ्गारिएको देखिन्छ। एकातिर काव्य एतिहासिक बन्न पुगेको छ तापनि आज देशमा देखिएको द्वन्द, अराजकता, दण्डहीनता, आदिलाई मध्यनजर राख्दा समसामयिक यथार्थतामा पनि काव्य समसामायिक जसतो लाग्दछ। समाजमा महाकाव्यले चाहेजस्तो राज्यव्यवस्थाको खाँचोलाई पूर्णता दिनको लागि अझै विद्रोहको खाँचोको काव्यले प्रस्तुत गर्न खोजेको छ। काव्यले पुरानो मान्यतालाई तोडेको छ नयाँ मान्यतालाई स्थापित गरेको छ र राणकालिन समयको समाजको यथार्थता प्रस्तुति र आफ्नो मौलिकतालाई प्रस्तुत गर्न महाकवि सफल देखिनु हुन्छ। यत्रो महान कामको प्रशंसा गर्नै पर्छ र महाकविलाई धन्यवाद दिनै पर्दछ।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *