Skip to content

कल्पनाको सपनामा हराउँदा

  • by
SurajGiri-04


रौम्य र सौम्य अनि अदम्य र असह्य मनको कथामा आधारित यस कल्पनाको यात्रामा हराउँदा भन्ने शीर्षकले कोरेको शब्दावलीको विश्लेषण एवं व्याख्या हो । सर्बसुलभ मानवको जमातमा पसेर भोलिका सन्ततिका निम्ति चिन्तन र उनीहरूका कल्पनासँगको मोह माया वा जीवनको यथार्थ सत्यतालाई बोध गराउँछ । मैले पनि पिरती जोडेको थिएँ – यस्तै कल्पनासँग कहिल्यै कुनै पनि क्षणमा नछुट्टिने वाचालाई शिरोपर गरी जोडेको पिरती थियो । कुन्नि ! किन अहिले रिसाएकी छिन् कल्पना ? उनी– मसँग भेट गरी, मनका कुरा बाँड्न र केही दुःखका क्षणमा शान्त्वना दिन किन हिचकिचाउँछिन् ? उनलाई आउने बाटो त मैले सदा खुला नै राखेको थिएँ तर पनि उनी आउने बाटाहरूबाट एकाएक बिलिन् हँुदै गइन् । क्षितीजको यात्रा जस्तै बनाइ निष्ठुरी झैं मेरो मायालाई चटक्क चुँडालेर गएको अतितको कल्पनाको सम्झना मैले बिर्सेर पनि गरुँ वा नगरुँ भन्ने दोधारे मन र गहु्रँगो छातीलाई एउटा अध्याँरो कोठामा लुकाएर उनको आकृति कोर्दैछु । एकदिनको कुरा मात्रै नभएर यो मेरो सँधैको नित्य नै थियो तर उनी अझ पनि अमिलो मन निर्मल बनाउन मानेकी छैनीन् । काश, म एक्लो अथवा पाटे बुङ्गो सरह कोठाको एकान्तमा बसेको छु ।

केही समय पहिलेको कुरा हो । सायद त्यो दिन मैले मेरी कल्पनालाई एकान्तमा भेटेको थिएँ । सुन्दर, शुसील, शान्त स्वभाव, सुकुमारी, मिठास आवाज, स्वर्गकी परी, स्वप्नकी राजकुमारी अनि सोचाइकी रानी ठ्याक्कै त्यस्तै थिइन् । मलाई सम्बोधन गर्दै मेरो मनसपटल अगाडि उभिएकी सुन्दर अनि मन्द मुस्कानले मनै लठ्ठ बनाउँदै आफैलाई मसँग परिचीत गराउँदै थिइन । म उनीसँग कुरा गर्न उत्सुक भैरहेको थिएँ । मानौं कुनै कम्प्युटरको सहायताले हामी च्याटिङ्ग गरिरहेका छौं जस्तो लाग्दथ्यो । एक पछि एक प्रश्न र प्रश्नको जवाफ पनि त्यत्तिकै सिघ्रताका साथ दिइरहेकी हुन्थिन् ।

कुनै शहर थियो, चारैतिर घरहरूले उच्च शिखर चुम्ने आशामा बग्रेल्ती लाइन लागेर भिडभाडमा उभिएको यात्री झैं एकमुख लगाइ कुरिरहेको । सडकको छेउछाउमा धुलो उडाउँदै घुइकिएका गाडीहरू र गाडीलाई बाटो छेक्दै कुदिरहेका रेक्सा र स–साना टेक्सीहरू । त्यस ठाउँमा मैले आफुलाई उभ्याइ सकेको थिएँ । किनभने मेरो यो सुन्दर कल्पनाकी कल्पनाले त्यसै ठाउँमा भेट्ने वाचा दिएकी थिइन् । म अलमल्लमा त्यस शहरको बीचोबीच एउटा किनारामा जाडोमा पाइने चिसो सुन्तला अनि साथमा रोमाञ्चकारी घामको किरणको अनुभुतिमा रमाउँदै खाँदै यताउता टोलाइरहें । तर कहिं कतै मेरा नजरहरूले कल्पनालाई भेट्टाउन सकिरहेका थिएनन् । मैले आफ्नो खल्तीलाई छामछुम पारें । खल्तीबाट एउटा मोवाइल निस्क्यो अनि आइडिया पनि फुरिहाल्यो । फटाफट कल्पनाको नम्बर दबाएर कानमा लगाएँ । उत्तरमा नम्बर मिलेन भन्ने जवाफ दियो । फेरि मैले अर्को नम्बर डायर गरेर कानमा लगाएँ । अब चाहिं घण्टी राम्ररी बजिरहेको थियो । युवतीको स्वरमा– “हैलो” भन्ने आवाज आयो । मैले फटाफट मोबाइल बन्द गरें । एकछिन फेरि बिचार गरेर हिम्मत निकाल्दै फेरि त्यही नम्बरमा फोन गरें । फेरि उहि युवतिको स्वरमा हैलेको आवाज आयो । मैले मिठास भर्दै सोधें–”यो कल्पनाको नम्बर हो हजुरू भनेर । उनले”निःसन्देह यहि हो” भन्ने जवाफ दिइन् । अनि मैले सर्वप्रथम त उनलाई चिनाउन थालें कि यो फोनमा बोल्ने म को व्यक्ति हुँ भनेर । उनले मेरो नाम सुन्ने वित्तिकै मलाई चिनिहालिन् । नचाहँदा नचाहँदै आज साँच्चै नै मैले कल्पनासँग फोनमा कुरा गर्न पाएको थिएँ । यो भन्दा खुशी के नै हुन्छ र ? संधै मेरो एकान्तमा आएर कम्प्युटरमा कुरा गर्ने कल्पनाको मिठास स्वर भरिएको आवाजले मेरो मन तृप्त भयो । लाग्न थाल्यो कि भेटै नभए पनि स्वरले मलाई धेरै नै रमाइलो बनाएको छ । भेटको लागि उनको समयको पावन्दी छ वा के छ त्यो त थाहा थिएन ।

“कल्पना तिमीले मलाई भेट्ने आश्वासन दिएकी थियौ । त्यसैले म आज तिमीलाई भेट गर्न यस अन्जान शहरमा आइपुगको छु । तिमीलाई फुर्सद त छैन होला कि कस्तो छ ?” मेरो कुरा झर्न नपाई “ए म आइ हालें है । तपाईँ कहाँ हुनुहुन्छ ?” मैले त्यस ठाउँको बारेमा वर्णन गरेर उनलाई जानकारी गराएपछि उनले मलाई त्यसै ठाउँमा कुरिरहन भनिन् ।

प्रतिक्षा गर्दागर्दा आधा घण्टाको समय व्यतित भैसकेको थियो । उनी आउने कुनै लक्षण थिएन । मैले फेरि उनलाई फोन गर्नु पनि उचित मानिन । सायद उनलाई कुनै अप्ठ्यारो पर्यो होला । यहि समयभित्र मलाई बजार घुम्ने रहर चढ्यो । यसो घुम्दै घुम्दै म निकै भित्र बजारमा पसिसकेको थिएँ । मेरो खल्तीको मोबाइलको घण्टी बज्यो । हत्तपत्त मोबाइल झिकेर कानमा लगाउँदै “हैलो” गर्न नपाइकनै “तपाईँ कहाँ हुनुहुन्छ खै त मैले त कतै देख्दीन तू भन्ने कल्पनाको छटपट लाग्दो स्वरले बल्ल म कहाँ छु भन्ने कुराले झसँग भएँ । “ए ! ल म आइहाले तिमी त्यही बसिरहनु” भनी म त्यहि बाटो फरक्क फर्केर छिटो छिटो कल्पनालाई भेट्न उक्त ठाउँतर्फ पाइला चाल्दै गएँ । यहि बीचमा उनले मलाई २ पटक फोन पनि गरिसकेकीछिन् र छिटो आउनको लागि आग्रह पनि गरिरहेकी थिइन् तर म के गरुँ त उडेर जाउँ जस्तो लागिरहेको थियो तर सम्भव थिएन तर पनि म उनले कुरिरहेको ठाउँ नेर पुगें । अब अर्को समस्या भयो कल्पनालाई कसरी चिन्ने कि यिनै हुन् ति मेरो कल्पनाकी कल्पना भनेर ? यसो यता उता हेर्दै खोजिरहेको थिएँ । एउटा कदमको ठूलो चौतारीमा उभिएर बाटो नियाल्दै बसेकी युवती माथि मेरो नजर पर्यो । म एकदमसँग उनको अगाडि गएर सोधें “तपाईँ कल्पना हो ?” “उफ्” गर्दै उनले टाउको हल्लाइन् ।

अनि हाम्रो कुरासँगै पैदलयात्रा पनि सुरु भयो । कुराको तालमा निकै नै हिंडिसकेछौं । छेउमा एउटा होटल देखा पर्यो मैले उनलाई ईशारा गर्दै त्यति होटलतिर जान अनुरोध गरें । मुकुक्क हाँस्दै अनि अलि अलि डराउँदै दायाँबायाँ नजरहरू घुमाएर उनी छिटोछिटो उक्त होटल भित्र प्रवेश गरिन् । मैले उनको मनसाय बुझिसकेको थिएँ । किनभने यो उनको शहर थियो । हुनसक्छ कोही चिनेको व्यक्तिहरूले देख्ला र भोली निधीखोजी गर्दा भन्ने डरले यसो गरेकी थिइन् । टेबुलमा दुबैजना सम्मुख अनुहार बनाएर बस्यौं । दुबैजना चकमन्न भएर एक अर्कालाई हेरिरहेका थियौं । बिचैमा होटलनी साहुनीले “के दिउँ नास्ता” भन्दै हाम्रो नजर नजरको कुरालाई भंग गरिन् । मैले उनीतिर ईशारा गर्दै सोधें के खान्छ्यौ तिमी भनेर तर उनले ओठ लेफ्राउँदै ईशारामा नै जवाफ दिइन् । अनि चियाको लागि माग गर्दै म फेरि उनी तर्फ नै केन्द्रित भएँ ।

यस्तै कुराकानी गर्दै फेरि हामी अगाडि बढ्यौं । उनलाई लिएर मैले एकान्तस्थलमा जान खोजिरहेको थिएँ जहाँ हाम्रो कुरा कसैको कानमा नपरोस् । आखिर उनको रोजाइनुसार म नै उनको पछि लागेर हिंडिरहें । एउटा साइडको गल्लीबाट भित्र छिराएर गाडी नै गाडी भएको ठाउँमा पुर्याइन् सायद यो कुनै बस स्टेसन नै थियो होला । गाडी धेरै भएकोले जता बसे पनि एकान्त जस्तै जस्तै लाग्थ्यो । अनि शुरु भयो मेरो कुरा उनको लागि सजिलो बातावरण बनाउँदै ।

मः– मैले तिमीलाई देख्ने रहर थियो सो आज पुरा भयो ।

कल्पनाः– म पनि ।

मः– मसँग भेट भएर तिमीलाई कस्तो लागिरहेछ त ?

कल्पनाः– मलाई झन गाह्रो महसुस भएको छ ?

मः– किन ? मैले कुनै अप्ठ्यारो बनाएको छु र ?

कल्पनाः– हैन अब तपाईँलाई भुल्ने कसरी भन्ने कुराले चिन्तित छु ।

मः– सम्झनै बाँकी हुँदा हुँदै तिमी भुल्नको लागि ?

बाँकी कुनै दिन तपाईँहरूको अगाडि पुस्तक बनाई पस्कने छु ।

सुरज गिरी

स्थानः– जमलको आकाशे पुल, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *