प्रकृतिको अनुपम छटा
सिमसारमा डुल्दा
तिमीलाई नरमाइलो लाग्ला
उकाली, ओराली र देउरालीमा
मनको भारी बिसाउदा
तिमीलाई छटपटी होला
के गर्छौ र !
तिमीसितै डुल्ने
तिम्रो खसम
यो
रेगिस्थानमा बेल्चा चलाउदैछ
दशैँ, तिहारमा
असार पन्ध्र र लोसारमा
तिम्रो मन धेरै रोला
साझ, बिहान
मेलापातमा भारी घचेटी दिने
कोहि नभेटेर तिम्रो शरीर बेस्सरी थाक्ला
खै के भन्छौ र !
समून्द्रै समुन्द्रको यो बिस्कुनमा
यो अप्राकृतिक हरियालीमा
तिम्रो मायालाई मुटुको कुनामा सिर्केनी लगाएर
तिम्रो घरको मान्छे
घामले डढेर शितल खोस्रदैछ
अब त
भन्न मनलाग्छ
तिमी पनि मनको कुनामा पटुकी कस
म प्रतीको नाशो
तिम्रो आगालो भरीको प्रेम
अब त
सम्झाउन मन लाग्छ
तिमी पनि ऐना हेरेर लुकाउ
मलाइ रात दिन याद गरेर
खुशी फुङ्ग उड्दै गरेको
तिम्रो पातलो शरीर
म पनि सिम्रीक जस्तो तिख्खर रातो
तिमीले हमेशा रंगाएको साथ
अली बेर टाढा राखेर कोशिस गरौला
त्यो पापी पैसा बटुल्न
म पनि साझ पर्दाखेरी
हिमालको चेप चेपमा लुक्ने घाम जस्तै
केहि समयलाई लुकाउदै जाउला
तिमी सम्झी निक्लने बाडुली
यो जर्जर भबिस्य उठाउन
तर खै सबै कुरा असम्भब !
तर खै सबै प्रयास निरर्थक !!
किनकि –
आखाभरि छाउने मायालु तिम्रो अनुहार
धोएर जाने भए पो !
अस्तु :
(घरबाट टाढा शहर, देश, परदेशमा आफ्ना प्रियजनहरू छोडेर कामको शिल शिलामा जानुभएका महिला तथा पुरूषहरूमा सादर समर्पित )
बिबेक दुलाल क्षेत्री दमक
वास्तविक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई
