Skip to content


यो देशमा म भएँ अति नजाति,
भनिदेऊ न हे आमा म हुँ के जाति ?
गोद एउटै छ आँचल एउटै छ,
सोँच एउटै छ, रचना एउटै छ
ईश्वरले पठायो शरीर बनाई,
हाड, छाला, रगत, सास एउटै छ ।

आज कुरा गर्छन् सबै भाँतीभाँती,
भनिदेऊ न हे आमा म हुँ के जाति ?

रगतभित्र खोजी हेरेँ, जाति कहीँ भेटिएन
कला जे छ त्यही गरें, भाग्य कहीँ मेटिएन ।
न त टाउको पछाडि, न खुट्टा माथि देख्छु,
जे सिकायौ तिमीले, त्यहि पाठ सधैँ घोक्छु ।
एउटै नाता नेपालीको, सबै नेपाली नै देख्छु,
छातिभित्र मेरो पनि नेपाल कै नक्शा भेट्छु ।

बाँड्दैछन् किन आमा दोष दिई भाँतीभाँती,
भनिदेऊ न हे आमा म हुँ के जाति ?

कोही लठ्ठी उठाउँछन्, कोही मान्छे जुटाउँछन्
अन्यायमा पर्दै छु म, कोही बारुद फुटाउँछन् ।
मेरो पसिनामा फल्ने, सबै खान्छन् मिठो मानी,
मैले बनाएका बस्तु, खरिद गर्छन् राम्रो ठानी,
म भएँ अपहेलित, बाँडिदैछु टुक्रा भित्रै,
पीडा सहन हुन्न आमा, म भएँ खाली रित्तै

श्रीपेचले कुरा गर्छन् लडाउन भाँतीभाँती,
भनिदेऊ न हे आमा म हुँ के जाति ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *