टुक्रा टुक्रा राज्य जोडेर सिंगो देश निर्माण गर्दा
फुटेका थिए कत्ति कत्ति चुरा
अनि
अंग्रेजको गिद्दे नजरबाट देशलाई बचाउँदा
धेरै बच्चाहरू गर्भ मै भएका थिए टुहुरा
त्यस्तो इतिहाँसलाई बिर्सिएर
समाजमा संकीर्णता फैलाउने गर्दैछन कुरा
त्यति मात्र नभएर
अब त, ती खुरापातीहरूले
आफ्नै सन्तानको भविष्यमा रोप्दैछन् छुरा
एउटै आँगन चिर्ने कुरा सुन्न पनि गारो छ
बुझिदेऊ हे स्वार्थीहरू
साधारण नेपालीलाई एकता नै प्यारो छ
आफूलाई मै हुँ भन्नेहरू
बिदेशीको जालमा माकुरी झैं पर्दैछन्
त्यस्ता कुटिल मुर्खहरू
बेखवर आफैँ टुक्रिएर झर्दैछन्
आफ्नै मात्र दुनु सोझ्याउन खोज्नेहरूले
कलहको बिज छर्दैछन्
त्यसैले त अब याहाँ
शान्ति छाउने आशाहरू सुस्तरी मर्दैछन्
धुरी फुटाएको हेर्न साँच्चै नै सारो छ
बुझिदेऊ हे पत्थर दिलहरू
साधारण नेपालीलाई एकता नै प्यारो छ
हेर्दा हेर्दै आज देशमा
अभाव अनि बन्द -हड्तालको बढ्दैछ डुबान
सोझा सिधा जनतामा
बर्सिंदैछ अत्याचारको चुटान
एक थुकी सुकी सय थुकी नदी
भन्ने किन बिर्सिन्छन् पुर्खाको उखान
जुन जोगी आयो कानै चिरेको
अब कसले गर्छ होला मेरो नेपालको उत्थान
संघीयताको झोलामा भाइचारा बिथोल्ने छारो छ
बुझिदेऊ हे अहंकारीहरू
साधारण नेपालीलाई एकता नै प्यारो छ
साधारण नेपालीलाई एकता नै प्यारो छ ।
लक्ष्मी पोखरेल
काठमाडौँ, कपन
हाल, इज्रायल

best poem
thank you for posting this valuable poem..