युद्धको सुर्केनी
बुद्धको घाँटीमा कस्सिएको स्वयम्भुको टुँडालबाट
सर्वाङ्ग एक्लिएको नयाँ संविधान
हामीलाई भाषण पस्किएर
आफू रासन भकुर्नेहरूको
देशको कथा लेखिरहेछु
मलाई नरोक !
रगत, आँसु र पीडाका
धारामा मुछिँदै
ज्ञात अज्ञात सहिदहरूको चिहानमा
श्रदाञ्जलि अर्पण गर्दै
पीडाको गीतलाई पगालेर
तुँवालै तुँवालेले भरिएको
देशको कथा लेखिरहेछु
मलाई नरोक !
धनियाँ र फुलमाया
गुँडतिर फर्कँदै गरेको परेवा
मान्छेको बथानले लखेटेको
हिमाली जलस्रोत जस्तै
ऋणले खोला बगेको
देशको कथा लेखिरहेछु
मलाई नरोक !
कृष्णभीरको पैरोझैं भास्सिएर
तामाकोशीको बाढीझैं बगेर
तन्नेरी पाखुराहरू पलायन भएको
निमुखाहरूलाई कष्ट हुँदै
नयाँ तस्करहरू मौलाउँदै गरेको
मन्द ग्रस्त देशको कथा लेखिरहेछु
मलाई नरोक !
अपमानित सम्पन्नताभन्दा
सम्मानित विपन्नता प्यारो लाग्छ
म मेरै स्वतन्त्र देशको कथा लेखिरहेछु
मलाई नरोक !
मधुपर्क जेठ, २०६९
