राणाकालीन दन्त्यकथा होइन यो । पञ्चायतकालको उत्तरार्द्र र दमनको चरमोत्कर्ष । ‘हरियो वन–नेपालको धन’ मूल नारा बोकेर वृक्षारोपन गरियो । यति धेरै वृक्षारोपन गरियो कि – नेपालको कुल क्षेत्रफलभन्दा पनि बढी भूभागमा वृक्षारोपन गरियो । घर, सडक, खेतबारी, नदी र हिमाल पनि जङ्गलै जङ्गलले भरिए ।
अलिकपछि बहुदल आयो । एउटा पार्टी अस्तित्वमा आयो र सो पार्टीमा प्रवेश गर्नेहरूको लहर चल्यो । यति धेरै मान्छेहरू त्यो पार्टीमा प्रवेश गरे कि नेपालको कुल जनसङ्ख्याको आकारभन्दा पनि त्यो पार्टीमा प्रवेश गर्नेहरूको संख्याको आकार ठूलो भयो । अरु पार्टी र अरु मान्छेको संख्या त शून्यभन्दा तल झरेर ऋणात्मक संख्यामा झरेको कुरा प्रस्ट भयो ।
लोकतन्त्र कि गणतन्त्र आएपछि सहिद-खेती फस्टायो । जो मरे पनि सहिद र जसरी मरे पनि सहिद । सेवाक्षेत्रको जनसङ्ख्याभन्दा पनि विद्यार्थीसंख्या बढी देखिने विद्यालय तथ्याङ्क फाराम जस्तै कुल जनसंख्याभन्दा पनि सहिदको संख्या बढी हुन के बेर १ ?
रामविक्रम थापा
फाक्टाङ–२, खोटाङ
