Skip to content

अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा


‘मसँग धेरैवटा मिर्गाैला भएको भए दिनेशजस्ता धेरैलाई एउटा एउटा बाँडिदिन्थेँ’ साहित्यकार वासुदेव पाण्डेयले भन्नुभयो, ‘मसँग दिन मिल्ने एउटा मिर्गाैला थियो, त्यो दिएँ ।’ चाहेर पनि मानिस प्रकृतिभन्दा अघि हुन सक्दो रहेनछ । प्रकृतिको नियमभित्र बाँधिएको हुदोरहेछ ।

वि.सं २०१४ भदौ ३ गते डडेल्धुराको भद्रपुर ९ बन्लेकमा जन्मिएका साहित्यकार पाण्डेयले भावनाको छालसँग लहरिएर साहित्यमात्र सिर्जना गर्नुभएन, त्यही भावनामा डुबेर आफ्नो मिर्गाैला काटेर छोरा दिनेश पाण्डेयलाई दिनुभयो । अनि ‘कसैले पनि बाँच्ला भनेर नचिताएको’ छोरालाई पुर्नर्जीवन दिनुभयो ।

त्यो दिन सम्झदा अहिले पनि उहाँको आङ जिरिङ्ग हुन्छ रे । अहिलेको अवस्था सम्झिदा ‘त्यो कुनै सपना थियो’ जस्तो लाग्छ । अनि ‘यस्तो पनि गरेँ’ भनेर पत्याउन आफ्नै चिरेको जीउ हेर्नुपर्छ पाण्डेयलाई । आजको अवस्था ब्यहोर्नुको अर्कै कथा छ पाण्डेयको । २०६४ पुस महिनाको मध्यतिर २५ वषर्ीय छोराको आँखामा एकाएक अँध्यारो छायो । त्यसअघि लामो समय छारेरोगको औषधि खाइरहेका दिनेशले एकाएक आँखा देखेनन् । साहित्यकार पाण्डेयले साहित्य लेख्ने कलम र पाना थन्क्याउनुभयो । भावनाको स्वैरकल्पनामा उड्ने मन अब छोराको पीरले रन्थनिन थाल्यो ।

‘के भएको रहेछ भनी उहाँले छोरा दिनेशलाई डोर्‍याएर कैलालीको गेटा आँखा अस्पतालमा पुर्‍याउनुभयो । त्यो दिन २०६४ को माघ ३ गते थियो । त्यहाँ डा. सुरेश पन्तले छोरा दिनेशको आँखा जाँच गर्दै अरू उपचार त्यहाँ सम्भव नभएको जवाफ मात्रै दिएनन् ‘जतिसक्दो चाँडो राजधानीको तिलगङ्गामा लग्न’ सुझाए । दोस्रो दिनसम्म दिनेशको रक्तचाप १९० माथि १४० तल देखियो । पाण्डेयले त्यसैदिन छोरालाई बुद्ध एयरबाट राजधानी पढाउनुभयो र आफू रात्रिबस चढ्नुभयो ।

जीवनकालमा झण्डै पाँच सय फुट्कर रचना, तीन सय अभिनन्दनपत्र र दर्जनौं साहित्यिक संस्थामा योगदान पुर्‍यानुभएका साहित्यकार पाण्डेयका सामु ‘भगवानले अकल्पनीय जिम्मेवारी’ तेस्र्याइदियो । उहाँले भन्नुभयो,’रचना गर्न, पत्रिका सम्पादन गर्न जति सजिलो त्यो थिएन ।’ जीवनमा जति सजिलो सुरभि, मालिका, एकता, नयनेश्वरी, मन्दाकिनी, शारदीपुष्प, देवकान्त पन्त स्मृति ग्रन्थ, सम्पदा नेपाल, नृपबहादुर स्वाँरको स्मृति ग्रन्थजस्ता साहित्यिक कृति सम्पादन गर्न थियो, त्यति सजिलो ‘छोराको जिन्दगीको सन्तुलन मिलाउन निक्कै गाह्रो भयो मलाई’

‘तिलगङ्गा अस्पतालका डा. गोविन्द पौडेलले उच्च रक्तचापका कारण आँखाको रेटिना फाटेको बताउदै मुटुको समस्यातिर सङ्केत गरे । गंगालालमा जचाउन जाँदा डा. दिवाकर शर्माले मिर्गाैलाको समस्या देखाएछन् । साहित्यकार पाण्डेयले भन्नुभयो, ‘अब त साहित्यकारभन्दा पनि एउटा असल बाबु बन्ने चाहनाको बोझले थिच्यो ।’ विभिन्न अस्पताल धाउँदा धाउँदै माघ ७ गते साहित्यकार पाण्डेय टिचिङ अस्पतालमा छोरा लिएर पुग्नुभयो । त्यो दिन जीवनकै ‘अत्यासलाग्दोे दिन थियो उहाँको । अस्पतालले दिनेशको दुवै मिर्गाैला ‘काम नलाग्ने’ भनी घोषणा गर्‍यो । साहित्यकार पाण्डेय पाँच तला माथिबाट बाँझो जमिनमा बजारिएझैँ हुनुभयो । उहाँले भन्नुभयो, ‘छोराले बिमारीका कारण आँखा देखेन, मैले पीडाको छटपटाहटमा आँखा देखिँन । अगाडिको दुनियाँ अन्धकारमा डुबेको थियो । कलकलाउँदो छोराको सम्भावित मृत्यु आफ्नै सामु आएर ठिङ्ग उभिएको थियो । अनि उहाँको पैतला मुनिको जमिन बालुवाको थुप्रोमा भासिएझैँ बनेको थियो ।

एकातिर छोराको सम्भावित ‘मृत्यु’ । अर्कोतर्फ नेपालमा उपचारै सम्भव नभएको बिमारी । तेस्रो कहिल्यै सुको आम्दानी नहुने आफ्नो पेसा ! ‘के गर्ने, के नगर्ने ?’ को दोसाँधमा उहाँ पिरोल्लिन थाल्नुभयो । साहित्यकार पाण्डेयका छोरा दिनेशको उपचारभन्दा स्थान अभावका कारण भर्नामा नै समस्या खडा भयो तर टिचिङका डाक्टरले यो समस्यालाई क्षणभरमै सुल्झाएदिए । त्यसपछि उपचारमा जुटे डा. के.बी. राउत, डा. दिव्या शाह, डा. भोलाराज जोशी, डा. प्रेमराज ज्ञवालीको टिम दिनेशको उपचारमा । डाक्टरको यो उत्साहले साहित्यकार पाण्डेयको हृदयमा आशाको सानो झिल्को देखियो । त्यसपटकको १७ दिने बसाइले उनको उपचार सम्भव भएन । तर डायलसिसले अलिकति आँखा देख्नेसम्म बनायो ।

पाँच महिना निरन्तर डायलसिसपछि किड्नीमा कुनै सुधार भएन । नेपालमा मिर्गाैला प्रत्यारोपणको कुनै सम्भावना नै थिएन । निराश र हतास मन लिएर पाण्डेय भारतको लखनऊ हानिए । अर्धलाशझैँ छोरालाई डोर्‍याएर । लखनऊको सन्जयगान्धी मेडिकल कलेजका डा. अनुपमा कौलले बिमारीको जाँच गरे । मिर्गाैला फेर्नै पर्नेभयो । त्यसका लागि ठूलो धनराशि चाहिन्थ्यो । ‘जुटाउने कहाँबाट ?’ भन्ने समस्याले पाण्डेयलाई सतायो । उहाँले भन्नुभयो, ‘सत्कर्म गर्नेलाई ईश्वरले बाटो दिँदोरहेछ । मेरा साथीभाइ, साहित्यकार, इष्टमित्र, बन्धुभाइ एकढिक्का भइदिए ।’ लखनऊमा शल्यक्रियाका लागि तीन महिना पालो पर्खंदा पर्खंदै नेपालमा मिर्गाैला प्रत्यारोपण सुरू भएको समाचार साहित्यकार पाण्डेयले सन्नुभयो ।

त्यतिबेलासम्म सुदूरपश्चिमाञ्चल साहित्य समाजका वर्तमान अध्यक्ष रामलाल जोशीको संयोजकत्वमा गठिन सहयोग समिति, स्थानीय पत्रपत्रिका, दाता, व्यापारी, शिक्षक, प्राध्यापक, आफन्त आदि मिलेर ठूलै रकम सङ्कलन गरिदिए । साहित्यकार पाण्डेले छोरालाई फेरि टिचिङमा ल्याइपुर्‍याउनुभयो । ‘दिन चाहेको किड्नीमा स्टोन देखिएपछि चार महिना मैले औषधि खानुपर्‍यो’ पाण्डेयले भन्नुभयो, ‘एकपटक दैवदेखि रिस उठ्यो । कति अल्झाउन सकेको होला ? भनेर ।’ यो यात्रा पार गरिरहँदा छोरा दिनेशको ४ सय ५० पटक डायलसिस भैसकेको थियो । जसमा हरेकपटक चार हजार रुपियाँ खर्च लाग्थ्यो रे । छोरा दिनेशको उमेर बढ्दै थियो । तौल भने ५८ किलोबाट घटेर २६ मा झर्दै गयो । पाण्डेले भन्नुभयो, ‘के मान्छे भन्ने, नरकङ्काल भैसकेको थियो छोरो ।’

उनकै अगाडि धेरै आमाबुबा किड्नी दिन नसकेर भागे । तर पाण्डेलाई लागिरहेको थियो, ‘कतै म जीवनको अकल्पनीय जिम्मेवारी पूरा गर्न नपाउने त होइन ?’ यो पीरले पाण्डेय कतिपटक आफैँ बहुलाजस्तो हुनुभएछ । २०६७ असार २६ गते त्यही ‘अकल्पनीय जिम्मेवारी’ पूरा गर्न पाउँदा, पाण्डेयलाई संसारमा जन्मनुको अर्थ रहेजस्तो महसुस भएछ । उहाँले भन्नुभयो,’सबै भावनात्मक कुरा रहेछ । साहित्य लेख्नु र जीवन भोग्नुको भावना भने अलि फरक हुँदो रहेछ । मसँग भावना नभएको भए सायद म बाबुको जिम्मेवारी पूरा गर्न सक्दैन थिएँ होला ?’

बीबीएस पास गरेको छोराले मिर्गौला प्रत्यारोपण पछि कान सुन्नबाट बन्चित भएकोमा भने साहित्यकार पाण्डेयलाई केही बेमज्जा हुन्छ । तैपनि छोरा सकुसल भएकोमा उनी डा. दिव्या सिंह, डा. के.बी. राउन, डा. भोलाराज जोशी, डा. प्रेमराज ज्ञवालीहरूको समूहलाई ‘भगवान’ कै उपमा दिनुहुन्छ । पुर्नर्जीवन पाएका दिनेशले इमेलमा लेख्दै भन्नुभयो, ‘संसारमा सबैका बुबा संरक्षक हुन, जन्मदाता हुन तर मेरो बुबा मेरा पुर्नजन्मदाता रहेछन्, यसो भनौ भगवान नै रहेछन् ।’ उहाँले अगाडि थप्नुभयो, मेरा दाजुभाइ, साथी, आफन्त, बुबाका साहित्यकार मित्र, पत्रकार र विशेषगरी डाक्टरहरू पो खास भगवान रहेछन् । जसलाई मैले संसारका सबै उपमा दिए पनि कमै हुन्छहोला । त्यसैले उहाँहरूलाई भन्ने त्यस्तो मसँग कुनै शब्द छैन ।’ दिनेशको एउटै आकाङ््क्षा छ, ‘कान सुन्नसक्ने भैदिन पाए म स्नातकोत्तर गर्ने थिएँ । भगवानले सुन्छ कि सुन्दैन ?’

मधुपर्क जेठ, २०६९

1 thought on “अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *