Skip to content

जहाँ पुग्नुपर्थ्यो त्यहाँ पुगिएन – गीतकार एवं गजलकार प्रकट पंगेनी शिव

  • by


सबैले प्रकट पंगेनी शिव भनेर चिन्छन् उनलाई तर थोरैलाई थाहा होला, उनी शिवराज पंगेनी हुन् । देउराली उकाली कास्कीका शिवले २०३३ सालमा स्थानीय ‘हिमदूत’ पत्रिकामा विडम्बना नामको कथा छपाएर साहित्याकाशमा प्रवेश गरेका हुन् । यो मन कतै अल्झेको छ, जूनको चिठ्ठी जूनालाई, प्रणयवेदका ऋचाहरूजस्ता गीत र गजल सङ्ग्रहले आफ्नो छाप बनाएका उनका छवटा कृति प्रकाशोन्मुख छन् । करिब ४० वटा गीत रेकर्ड गराएका उनले नाटक निर्देशन र अभिनयसमेत गरेका छन् । राजधानी आगमन क्रममा उनै शिवसँग जम्काभेट भयो नयाँ सडकमा । प्रस्तुत छ, सोही क्रममा मधुपर्कका लागि जी पथिकले गरेको अन्तरङ्ग कुराकानी ।)

प्रकट पंगेनीलाई कसरी चिन्ने ?

यो एउटा छाप कसरी बन्यो भने कवितामा ग्रामीण परिवेश, गृहस्थीमा लेख्छु । ‘गृहस्थी कवि’ भनेर सुरू सरूभक्तले उपनाम दिनुभयो । दोस्रो पुस्तामा १४ लाइनका गीतबाट अर्को छाप पर्न गयो । गजलमा प्रणयपरक गजलले स्थापित बनायो ।

प्रणयपरकमा ढल्किनुको कारण ?

आँसु वेदनाका पनि लेखेको छु । संयोगान्तभन्दा वियोगान्तका दुईवटा गीतका पुस्तक नै छन् । मेरा फ्यानले काठमाडौँंको गुरुकुलमा ‘प्रणयमा प्रकट दाइ’ गरेपछि छाप बस्यो । मलाई पनि त्यस्तै मनपर्‍यो ।

प्रणयपरक गजलमा अश्लील वा हल्कापन हुन्छ भनिन्छ ?

यो आ-आफ्नो दृष्टिकोणको कुरा हो । गजल बुझ्नेले यसलाई बुझ्छ । अश्लीलताको आरोप पनि खेप्नुपर्यो । मेरा गजलमा संयोग होइन, स्पर्श छ । सौन्दर्यको वर्णन गर्दा अश्लील बन्न जान्छ भने यौन कुण्ठित दृष्टिकोण हो । आरोप लगाउनेमा डाहापन भेटेको छु ।

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?

जुन समयदेखि प्रेमको परिभाषा चल्दै आयो, त्यो फेरिएन । युवाले गर्ने प्रक्रिया भनियो तर प्रेम शाश्वत हो, हरेक कुनै उमेरमा पनि प्रेम हुनसक्छ भनेर कहिल्यै भनिएन । पत्नीलाई गरिने प्रेम प्रेमिकालाई गरिँदैन ।

मागी कि भागी विवाह ?

दुवै भन्नुपर्यो । भेटघाट बोलचाल भयो, त्यसपछि मागियो । उसबेला मोबाइलबाट डेटिङ जाने चलन थिएन । चिठी वा समाचार पठाएर समय र स्थान मिलाउनुपर्थो । उनी दमौली म पोखरा देउरालीमा ५० किलोमिटर दूरी थियो । अचेलजस्तो दिनहुँ भेट हुने त कल्पनासम्म थिएन ।

यौनलाई साहित्यसँग जोड्ने कि नजोड्ने ?

मान्छेले राजनीतिसँग साहित्यलाई जोडे जुन मलाई मन पर्दैन । झन्डा बोकेर धेरैले साहित्यलाई अनुकूल बनाए । यौन र साहित्य अभिन्न कुरा हुन् । यौन पनि जीवन हो । साहित्य पनि जीवन हो । त्यसैले यौनलाई साहित्यमा उतार्नुपर्छ । यौनविनाको साहित्य नूनविनाको तरकारीजस्तै हुन्छ।

आफ्नै सबल पक्ष भन्नुपर्दा ?

यो उमेरमा आएर प्रणयका गजल लेख्न सुहाएन भन्ने जमात पनि छ । तिमी गृहस्थीका गीत कविता लेख्ने मान्छेले किन प्रणयलाई अँगाल्यौँ भनेर पनि प्रश्न गरे । उचाइ आफैँं घटायौ भन्ने पनि नभएका होइनन् तर कुनै गल्ती गरँें भन्ने लागेको छैन । अरूले लेख्न नसकेकालाई लेखेँ, वाचन गरेँ ।

कमजोर पक्ष नि ?

जहाँ पुग्नुपर्ने थियो, त्यहाँ पुग्न सकिएन । साथीभाइले धेरै कमाएका छन् । सहरमा महल ठड्याएका छन् । आफूले एक टुक्रा जग्गा जोड्न सकेको होइन । पारिवारिक दुःख झेल्नु परिरहेको छ । नाम कमाएँ तर दाम कमाउन सकेको छैन । थोरै लेखनीले नाम दियो मलाई । यो मानेमा म भाग्यमानी लेखक । सद्भाव र सम्मानको कमी छैन ।

प्रसङ्ग मोडौं, मर्निङ वाक गर्नुहुन्छ कि योग ?

पोखराको बसाइमा मर्निङ वाक गर्छु । हावा पवित्र र शुद्ध छ । पाँच बजेअघि घरबाट निस्कन्छु । झन्डै एक घण्टा हिँड्छु । त्यसपछि विनासोचाइ घरमा खाली दिमाग बनाएर एकछिन बस्छु तर काठमाडौँ आएपछि त्यो काम हुँदैन । काठमाडौँ बसाइ बनाउने योजना केही सातामै पूरा गर्दैछु तर मर्निङ वाकको सट्टा योग गर्ने सम्भावना छ । भगवान्को कृपा आजसम्म कुनै रोग लागेको छैन ।

पूजापाठ नि ?

पूजापाठ गर्दिनँ । मन्दिर पनि जान्नँ । टाढैबाट नमस्ते गर्छु । भगवान् मसँगै हुनुहुन्छ र आशीर्वाद दिइरहनुभएको छ जस्तो लाग्छ । दुःख होस् वा सुख, भगवान् सम्झिरहन्छु । लाइन बस्दैमा मन्दिरमा पूजा गर्दैमा केही हुन्छ भन्ने लाग्दैन ।

शाकाहारी कि मांसाहारी ?

मांसाहारी । चुरोट र रक्सी पिउने गथ्र्ये । अहिले चुरोटमात्र पिउँछु । मासु चाहिन्छ भन्ने छैन तर छोडेको पनि होइन ।

चलचित्र हेर्नुहुन्न ?

हेर्छु तर हलमा कम जान्छु । घरमै टेलिभिजनबाट हेर्दा आनन्द लाग्छ । नाटक चलेको थाहा पाए थिएटर पुग्छु । चलचित्र, नाटक र टेलिसिरियलका कथाले त्यति प्रभाव पार्दैन तर हरेक पात्रको अभिनयले मलाई छुन्छ । पछिल्लो समयमा लुट हेरेँं । हिन्दीमा देशीब्वाइज ।

जीवन के रहेछ ?

जीवन वरदान हो । ‘जिन्दगी यो उत्सब हो, वरदान ईश्वरको’, हरिशरण लामिछानेको गीतलाई मैले पढाउने पोखराको स्कुलका भित्तामा लेखाएको छु । ठूलो प्राप्ति हो जीवन ठूलै चिठ्ठाजस्तो । कतिले खेर पनि फालेका छन् । जीवनको माया लाग्छ । कुनै गुनासो छैन मलाई जीवनसँग ।

जीवनसङ्गिनीसँग कत्तिको झगडा पर्छ ?

कहिलेकाँही ठाकठुक त परिहाल्छ नि । ३३ वर्ष भएछ बिहे भएको । पहिले पर्थ्यो तर १५ वर्षजति भएछ, त्यस्तो केही छैन । त्यो बेला पनि कमाउन नसकेको गुनासो हुन्थ्यो उनीबाट ।

रिसाए कसले फकाउँथ्यो ?

म आफैँ फकाउँछु । गल्ती महसुस हुन्छ र फकाउँछु । क्षणिक रिस छ मसँग, खासै लामो हुन्न । आवेशमा आएर रिसाउँछु तर महसुस गरिहाल्छु ।

सपना देख्नुहुन्छ ?

कहिले डरलाग्दो र अत्तालिएको देख्थेँ त कहिले खोला तरेको । अचेल त्यति देख्दिनँ । त्यसको प्रतिफल के हुन्छ पनि थाहा छैन । सपनामा त्यति विश्वास गर्दिनँ ।

जीवनको सपना ?

आफूलाई जहिले पनि जीवनलाई प्रिय बनाइराख्नुपर्छ, सरल बनाउँदै लैजानुपर्छ भन्ने लाग्थ्यो, लाग्छ तर महìवाकाङ्क्षा छैन । सरलता, नम्रता र शिष्टता नै मेरो परिचय हो, मलाई आमाले सिकाउनु भएका ।

लामो समय भयो साहित्य लेखेको, के रहेछ यसमा ?

पहिले रूचि थियो साहित्य । पछि नशा भनौं कि दैनिकी । आवश्यकता पनि बनेको छ । नलेखी बस्न सक्दिनँ । साहित्य अरूले जे परिभाषा दिए पनि म साथी भन्छु यसलाई । कविता, गीत, गजल, उपन्यास र कथा लेख्छु । यिनले मलाई जीवन दिएका छन् ।

साहित्यबाट अलग राखे के हुन्छ ?

एक्लो हुन्छु । अब त सक्दिनँ । २०३४ सालदेखि लेख्न थालेको थिएँ ३४ वर्ष पूरा भएछ । समकालीनले कलम थन्क्याइसकेँ तर पोखराका हामी सरूभक्त, तीर्थ श्रेष्ठ र म निरन्तर यसैमा छौं ।

पछिल्लो लेखन के चल्दैछ ?

सिम्रिकाको डायरी । यो उपन्यास हो । मैले पढाउने स्कुलको विषयमा आधारित छ । सिम्रिका पनि विद्यार्थी भएकाले पात्र बनाएँ । जहाँ म पाठ्यक्रमभन्दा फरक अर्थात् जीवनका पाठहरूलाई पढाउँछु । त्यसैले मूलपात्र पनि म आफैँ छु । त्यही उपन्यासमा ढाल्दैछु ।

तपाईंका पात्र फरक हुन्छन् किन होला ?

अन्ना पहिलो पात्र हो । उसले गीत गजल लेख्ने प्रेरणा दिइन् । उसकै नाममा गीत गजल समर्पण गरेको छु । अनुश्रेया पनि पात्र हो, उसलाई भेटेपछि कथा लेख्न थालेँ । सिम्रिका भेटेँं, विद्यार्थी हो डायरी लेख्दैछु । पछिल्लो पात्र हो, शैलीका । के पाउँछु उसबाट अनि कसरी अघि बढ्छु थाहा छैन ।

अन्त्यमा के लेखियोस् भन्ने लागेको छ नेपाली साहित्यमा ?

नयाँपन आए हुन्थ्यो तर यही र यस्तै भन्न सक्दिनँ ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *