नेपालमा आमपत्रकारिताभन्दा जेठो भएर पनि साहित्यिक पत्रकारिताले अझै दर्विला खुट्टा टेक्न सकिरहेको छैन । विगतमा केही साहित्यिक पत्रिकाहरू इतिहास बनेर अस्ताए भने रहरैरहरमा जन्माउनेहरू पनि उत्तिकै छन् । केही व्यक्ति र सम्बद्ध साहित्यिक पत्रिका यसरी गाँसिएका छन् कि उनीहरूको सम्पूर्ण परिचय नै सिक्काका दुई पाटाझैँ लाग्दछन् । भानु, अभिव्यक्ति, रचना यसमा अग्रणी नाम हुन् र पनि भवानी घिमिरेको निधनले ‘भानु’ मा आइपरेको सङ्कट शुभेच्छुकहरूबाट जेनतेन टरिरहेको छ । नगेन्द्रराज शर्मा ‘अभिव्यक्ति’ र रोचक घिमिरे ‘रचना’ बूढोपुस्ताका साहित्यिक पत्रिकाका रूपमा निरन्तर यात्रारत छन् । रोचक घिमिरेलाई त समकालीनहरूको जमघटमा हस्यौलीको पात्र बनाइएको पनि सुनिन्छ – यो रोचक र ‘रचना’को उमेर त उस्तैउस्तै पो छ त ! आमाको काखमै हुँदैदेखि पत्रिका प्रकाशन/सम्पादन थालेर अचम्मै पारेको छ यसले ।
घननाथ शर्मा घिमिरेको जन्म वि.सं. १९९८ भदौ ३ मा गहिराथोक, मन्थली, रामेछापमा भएको थियो । आफ्नै रहरले उहाँले वि.सं. २०१४ मा जी.एन. ‘रोचक’ मा आफूलाई बदल्नुभएथ्यो । त्यसको तीन वर्षपछि वि.सं. २०१८ मा जब साहित्यिक पत्रिका निकाल्ने चाँजोपाँजो मिलाउनुभयो, त्यसपछि उहाँको रहरको नाममाथि फेरि प्रहार भएथ्यो भाषाशास्त्री महानन्द सापकोटाबाट । यो प्रसङ्गमा उहाँ यसरी खुल्नुहुन्छ – त्यतिबेला ‘कल्पना’ र ‘हालखबर’ दुई दैनिक पत्रिका प्रकाशित हुन्थे । म ‘कल्पना’ नियमित पढ्थेँ । पत्रिकाको कार्यालयमै गएर पत्रिका लिन्थेँ । दैनिकजसो पत्रिका किनेर लगेको यसका सम्पादक तारिणीप्रसाद कोइरालाले विचार गरिरहनुभएको रहेछ । एक दिन बोलाएर सोध्नुभयो, तिमी पत्रिका पढ्दा रहेछौ, लेख्छौ पनि कि पढ्छौ मात्रै ? मैले लेख्दिँन भनेँ । उहाँले किन नलेख्नु, पढ्नेले लेख्न पनि सकिहाल्छ नि । ल यतिबेला चुनाव हुन्छ र हुँदैनमा विवाद छ, तिमी पनि एउटामा आफ्ना विचार लेखेर ल्याऊ, म छाप्छु भन्नुभयो । मैले ‘चुनाव हुँदैन’ भनेर आफ्ना तर्कहरूसहितको लेख लगेर दिएँ र आफ्नो रहरको नाम अर्थात् घननाथको जी.एन. मा ‘रोचक’ राखेर प्रकाशित भयो । ‘हालखबर’ र ‘दियालो’मा पनि यसैबाट केही रचनाहरू प्रकाशित भए । वि.सं. २०१८ मा साहित्यिक पत्रिका निकाल्ने तय भएपछि पत्रिकाको न्वारन भैरव अर्यालले गरे ‘रचना’ भनेर । पहिलो अङ्कका लागि रचनाहरू जम्मा पार्नेक्रममा भाषाशास्त्री महानन्द सापकोटाकहाँ जाँदा उहाँले मेरो नाम सोध्नुभयो । मैले वास्तविक नाम र आफूले राखेको नाम पनि बताएपछि उहाँले भन्नुभयो – ए, घिमिरे रहेछौ, रोचक राम्रै छान्यौ । अब रोचक घिमिरे राख राम्रो हुन्छ । उहाँकै सल्लाह मानेर रचनाको पहिलो अङ्कदेखि नै रोचक घिमिरे भएँ । पछि घननाथको सबै अवशेष मेटेर रोचक घिमिरेकै नाममा नागरिकता र जग्गाधनी पूर्जासमेत बदलेँ ।
उहाँको पुर्ख्यौली थलो रामेछापको गहिराथोक भए पनि बाल्यकालदेखि नै गहनापोखरी, टङ्गालसँग जोडिनुभयो । रामेछापको बाहुन परिवार काठमाडौँ भित्रिएको सन्दर्भ ज्यादै रोचक छ- मेरो पिताजी सोमनाथ घिमिरे व्यास एउटा मुद्दामा तारेख खेप्न वि.सं. १९९९ मा काठमाडौँ आउनुभएको रहेछ । काठमाडौँ आइपुगेपछि तारेख केही दिनपछि सरेकोले बस्नुपर्ने भयो । उतैका एकजना तेजबहादुर कार्की भन्ने श्री ३ भीमशमशेरकी बुहारी (रामशमशेरकी श्रीमती समुन्द्रकुमारी) को दरबारमा बस्दथे । त्यतिबेला समुन्द्रकुमारीले सप्ताह पुराण लगाउने भएकी रहिछन् र पण्डितहरूको खोजी भइरहेको रहेछ । मूलपण्डित त कविशिरोमणि लेखनाथ पौड्याल रहेछन् र अरू थप पण्डितहरू पनि चाहिएको रहेछ । उनै तेजबहादुरले बुबालाई टङ्गाल दरबारमा पुर्याएछन् । पुराणका वाचकी लेखनाथको तेस्रो दिनदेखि घाँटी सुकेर बोली नै नआउने भएछ । श्री ३ पद्मशमशेरसमेत पुराण सुन्न आउथेँ अरे । यता पण्डित मुरलीधर र शुक्रराजहरूलाई पुराण काण्डमा सजाय भएको बेला थियो । अब पुराण कसले भन्ने सम्बन्धमा छलफल हुँदा उपवाचकीले पनि सक्दिन भनेछन् । वरण गरिएका ब्राह्मणहरू मध्येबाटै भन्नुपर्ने । सबैलाई सोद्धा कोही अघि सरेनछन् र अन्तिममा नौलो बाहुन मेरो पिताजीलाई तिमी सक्छौ त ? भनेर सोधेछन् । उहाँले पनि हिम्मतसाथ भन्नु भएछ सकिहाल्छु नि । उता पनि भनिरहेकै छु । मलाई पत्याउनुहुन्छ भने भन्छु । त्यसपछि उपस्थित पण्डित मण्डलीले अन्तर्वार्ता लिएर उहाँलाई स्वीकृति दिएछ । लेखनाथको वगलमा बसेर चौथो दिनदेखि भनेर सप्ताह सिध्याएपछि पिताजी पनि ‘नम्बरी पण्डित’ मा दरिनुभएछ । पछि समुन्द्रकुमारीले फेरि पनि पिताजीको मुखबाट पुराण सुन्न चाहेको भन्दै उनै तेजबहादुरलाई खबर पठाइछन् । पिताजीको उता पाठशालामा जागिर पनि थियो र खेती व्यवहारले गर्दा मिल्दैन भनेपछि रानीले म परिवारलाई नै यतै बस्ने व्यवस्था मिलाइदिन्छु भनेर बोलाइछन् । घरसल्लाह मिलाएर पिताजी माता (मोहनकुमारी देवी) समेतलाई लिएर आउनुभयो । पुराण सम्पन्न गरेपछि ब्राह्मण-ब्राह्मणीलाई विष्णुलक्ष्मी पुजेर घरजग्गा दान दिएपछि वि.सं. २००३ देखि टङ्गालमा बसोबास प्रारम्भ भएको हो । रामशमशेरले गुरुङनी ल्याएपछि समुन्द्रकुमारीसँग अंशमुद्दा नै चलेथ्यो । उनका तर्फबाट मेरो पिताजीले नै सम्पूर्ण जिम्मेवारी पाउनुभएथ्यो । मुद्दासमेत जितेपछि पिताजी संरक्षकका रूपमै रहनुभएथ्यो ।
उहाँलाई यो इतिवृत्त थाहा भएकाहरूले अझै पनि जिस्क्याउँदै छन् अरे – रोचकलाई काठमाडौँ भित्र्याउनेहरूमा तीन जनाको हात छ । पहिलोमा झगडिया नरबहादुर खत्री, दोस्रोमा तेजबहादुर कार्की र तेस्रोमा लेखनाथ पौड्याल । लेखनाथको घाँटी खराब नभइदिएको भए पण्डितका रूपमा यहाँ चिनिने अवसर मिल्ने नै थिएन । त्यसपछि उता नरबहादुर खत्रीसँगको जग्गा किचोला मुद्दामा पनि मिलापत्र भएर टुङ्गिएथ्यो ।
रोचक घिमिरे सात भाइमध्येको जेठो हुनुहुन्छ । पिताजीले पण्डित्याइँबाटै महोत्तरी, सिरहा, काभ्रेलगायतका जिल्लाहरूमा प्रशस्तै जग्गाजमिन जोड्नुभएछ । रामेछापमा त पुख्यौर्ंली नै भइहाल्यो । समुन्द्रकुमारीको यहाँदेखि उता कलकत्ता, बनारससम्मको सबै कारोबार हेरिदिनुपर्ने पिताजीको जागिर । उहाँले बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा पढ्ने अवसर प्राप्त गर्नुभयो र सम्पूर्ण मध्यमा उत्तीर्ण गर्नुभयो । यता इलहाबाद बोर्डबाट आईए पनि गर्नुभयो । त्यसपछि भने पढाइलाई निरन्तरता दिन सक्नुभएन । कारण के त ? उहाँ भन्नुहुन्छ – सन्तानमध्येको जेठो हुनुको परिणाम हो । पिताजी बाहिर भएकाले यता घरमा म हुनैपर्ने भयो । भाइहरूलाई पढाउनका लागि पिताजीले नै अब तलाईं यति भए पुग्छ घरव्यवहार हेर भन्नुभयो र छोडिदिएँ । जागिर खानेतिर पनि सोच्न सकिनँ । मौजा हेर्नेमै व्यस्त हुनथालेँ ।
आफ्नो साहित्यिक लेखन सम्बन्धमा उहाँ भन्नुहुन्छ- रचनाको प्रकाशन थाल्नुभन्दा अघि म साहित्यिक पाठक मात्रै थिएँ भने पनि हुन्छ । कविता, लेखहरू र पाठक प्रतिक्रियाहरू त लेख्थेँ । जब भैरव अर्याल र रमेश विकलसँग सम्बन्ध भयो त्यसपछि पत्रिका निकाल्ने सोचाइ बनेको हो । पत्रिका निकाल्न थालेपछि धेरै उपनामले पनि लेखेँ । ज्ञानमूर्ति, वादल शर्मा, भूषण कष्यप, विचारी आदिका नाममा पनि लेखेको छु ।
‘रचना’ प्रकाशन प्रारम्भ गर्दाको सन्दर्भ पनि रमाइलो छ – वि.सं. २०१८ सालमा मित्रहरू रमेश विकल र भैरव अर्यालले हौसला दिएर प्रारम्भ गरेको हो । उनीहरू त सरकारी जागिरे छँदै थिए । मेरो केही थिएन । केही त गर्नैपर्छ भन्ने परेपछि हौसिएँ । उनीहरूले आफ्नो नाम राख्न चाहेनन् र बाहिरबाटै सहयोग गर्ने भने । अनि सम्पादक/प्रकाशक म आफैँ भएर थालियो । रचना जम्मा गर्न उनीहरू सघाउँथे । सुरूसुरूमा त सम्पादकीय लेख्न हिम्मत आएन तर केही पछि भने आफैँ लेख्न थालेँ । त्यतिबेला प्रचार विभागबाट तीन सय रूपियाँको विज्ञापन पाइन्थ्यो र पाँच सय जम्मा भए एक अङ्क पत्रिका निस्किन्थ्यो । नारायणप्रसाद बासकोटा हाकिम छउञ्जेल विज्ञापन पाइरहियो । ग्राहक पनि धेरै बनाइएको थियो र फाट्टफुट्ट अरू विज्ञापन पनि पाइन्थ्यो । आर्थिक लाभ उठाउने उद्देश्यले थालिएको थिएन, केवल साहित्यमा लाग्ने रहरले निकालेको हो । रहरलाई व्यापारमा बदल्ने सोच आएन । अब त झन् रचना र रोचक अस्तित्वका कुरा भएका छन् । जसरी पनि आफू रहुञ्जेल रचनालाई मर्न दिन्न ।
कुरा वि.सं. २०२५ सालको हो । ‘रचना’ प्रकाशनमा आर्थिक सङ्कट पनि परिरहेकै थियो । त्यतिबेला उहाँ जनकपुर बस्नुहुन्थ्यो । गोरखापत्र संस्थानले पनि साहित्यिक मासिक पत्रिका निकाल्ने निधो गरेपछि त्यहीँका जागिरे मित्र भैरव अर्यालमा रचना पत्रिका संस्थानलाई दिने र रोचक घिमिरेलाई पनि जागिर खुवाउने सोच पलाएछ र जनकपुरबाट झिकाउनुभएछ । उहाँ स्वयंले नमानेपछि भैरव अर्यालको योजना टुङ्गिएको प्रसङ्ग उहाँबाटै सार्वजनिक भइसकेको हो । यसै सम्बन्धमा उहाँ स्पष्ट्याउनुहुन्छ- त्यतिबेला गोपालप्रसाद भट्टराई प्रधानसम्पादक थिए । भैरव अर्यालले रचना र रोचक दुवैको भलो सोचेर प्रधानसम्पादकसँग पनि कुरा गरेछन् । उनी मान्छन् भने हुन्छ भनेपछि म मनाउँछु भनेर भैरवले मलाई झिकाएका रहेछन् । म आएँ । त्यतिबेलाका साहित्यिक पत्रिकामा रूपरेखा र रचना नै थिए । पत्रिका नियमित पनि हुने र मैले जागिर पनि पाउने भनेर भैरवले धेरै फकाए तर म मानिनँ । नारायणबहादुर सिंह, ऋषभदेव, दाताराम शर्मा सबैले भन्दा पनि मलाई उचित लागेन । त्यसपछि नारायणबहादुर सिंहले भो कर नगरौँ, उहाँको स्वेच्छामा छोडौँ, स्थापित पत्रिकालाई स्वतन्त्ररूपमा निकाल्न चाहनुहुन्छ भने राम्रो कुरा हो भन्नुभयो । म मानेको भए ‘मधुपर्क’ जन्मिदैनथ्यो र ‘रचना’ गोरखापत्र संस्थानको हुन्थ्यो । मेरो अन्तरआत्माले मानेन । त्यहाँ गएको भए उही जागिरे हुन्थेँ तर अहिले मेरो ‘रोचक’ कहाँ हुन्थ्यो र ?
‘रचना’ को ५१ वर्षे आयुमा जम्मा ११७ पूर्णाङ्कमात्रै प्रकाशित हुन सकेका छन् । पत्रिकाले निरन्तरता पाउन नसकेको कारण खोल्दै उहाँ भन्नुहुन्छ-प्रारम्भमा यो चौमासिक थियो । पछि त्रैमासिक भयो र धेरैपछि द्वैमासिक बनाइयो । कुनै समयमा स्थगित पनि भयो । यसबीचमा विशेषाङ्कहरू पनि निस्किएका छन् । पहिलो हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्ने श्रेय रचनाले नै पाएको छ । आफूले जे जति गर्न सकेको छु, यसमा पूर्ण सन्तुष्ट छु । यसैमा लागेर मेरो परिचय बन्यो । घरपरिवारले पनि मुख खोलेर त्यस्तो नराम्रो केही भनेका छैनन् । नातागोताले चाहिँ केही चित्त दुखाई गरेको सुनिन्थ्यो । पुख्र्यौंली सम्पत्तिबाटै परिवार चलेको छ । तराई मधेशमा जस्तोसुकै आन्दोलन-विद्रोह जे भए पनि महोत्तरीबाट आम्दानी आइरहेकै छ । उनीहरूले नै धान कुटाएर चामल घरमै ल्याइदिइरहेका छन् । इमान्दारहरूको ‘इमान’ मरेको छैन ।
उहाँ आफू लेखक/साहित्यकारभन्दा ज्यादा साहित्यिक पत्रकार नै भएको स्वीकार्नुहुन्छ तर पनि ‘सम्झनामा फक्रिएका थुँगाहरू’ निबन्धसङ्ग्रह ज्ञानुवाकर पौडेलको पहलमा वि.सं. २०५६ मा साझा प्रकाशनबाट आएपछि त्यस वर्षको उत्तम शान्ति पुरस्कार प्राप्त गरेथ्यो । कविता, निबन्ध, संस्मरण, समीक्षा उहाँले धेरै लेख्नुभएको छ र पाँच/सात वटा पाण्डुलिपि तयारी अवस्थामा छन् । प्रकाशनमा आउने कहिले त ? ‘मेरो स्वभाव अलिक भिन्न छ । आफैँले आफ्नो पुस्तक छापिहाल्नुभन्दा बरू अरूका सिर्जनाहरूले भरिएको ‘रचना’ नै निकाल्नेतिर मन जान्छ । अरूले निकालिदेलान् कि भनौँ भने पनि धाउन मन लाग्दैन । कुरा उठिहाल्यो, आफ्नै साथीहरू रमेश विकल, ध्रुवचन्द्रहरू प्रज्ञाप्रतिष्ठानमा भएको बेला संस्मरण सँगालो ‘व्यक्ति र वृत्तान्त’ प्रकाशनार्थ बुझाएको थिएँ । त्यसपछि पाँचवटा टिम फेरिइसके । झण्डैझण्डै बीस वर्ष थन्किएपछि यसपटक फिर्ता गर्ने सूचीमा मेरो पाण्डुलिपि पनि परेको जानकारी पाएँ तर लिएको छैन । पटकपटकका टिमका साथीहरूले अब निस्किन्छ भन्दाभन्दै यो हालत बनाए । बरू बाहिरकै केही हितैषी प्रकाशकले ‘हुन्छ नि त’ भनेका छन् । छाप्ने पक्का भए दिन्छु थन्क्याउन मात्रै त आफैँसँग थन्किएकै छन् नि । मेरो सम्पादनका आधा दर्जन ग्रन्थहरू प्रकाशित छन् । पछिल्लोमा भर्खरै आएको छ-साम्बभक्त सुवेदी ः सृजना र सम्झना । उनी मकैपर्कसँग सम्बन्धित र पिताजीका साथी भए पनि मेरा पनि साथी नै थिए ।’
उहाँको परिवार राणा दरबारसँग मात्रै नभएर राजदरबारसँग पनि नजिक थियो । कारण पिताजी ‘नम्बरी पण्डित’ भएको कारणले नै हो । राजदरबारमा हुने धार्मिक अनुष्ठानहरूमा बोलाइने १५/२० जना पण्डितमध्येमा सोमनाथ घिमिरे व्यास पनि पर्नुहुन्थ्यो तर भत्ता, जागिरे नभएर पण्डित मात्रै । पिताजी कवि पनि हुनुहुन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटासँग उहाँको विशेष सम्बन्ध थियो । महाकविकी ठाइँली फुपू ‘नाकिनीबज्यै’ भीमशमशेरको दरबारमा भएकीले उनीमार्फत् सम्बन्ध जोडिएको थियो । पछि पिताजी कलकत्ता बस्दा महाकविको उपचारमा उहाँले भूमिका खेल्नुभएथ्यो । घिमिरे सम्झिनुहुन्छ- हामीकहाँ आएका चियाका पोका महाकविको घरमा पुर्याउन जान्थेँ म । तिमीले गर्दा चियामा बानी परियो भन्नुहुन्थ्यो कविजी । पिताजी र महाकविबीच आर्थिक लेनदेन पनि हुन्थ्यो ।
आफ्ना घनिष्ठ मित्रहरूको नाम लिन आग्रह गर्दा उहाँ भन्नुहुन्छ- भैरव अर्याल र रमेश विकलसँगको जस्तो सम्बन्ध अरूसँग बनेन । पछि नगेन्द्रराज शर्मा, जगदीश घिमिरे, नवराज चालिसे, बाबुराम पौडेलहरू राम्रा साथी बने । बूढाहरूमा साम्बभक्त सुवेदी र वासुदेव शर्मा लुइँटेल पनि जीवनभर मित्रवत् भइरहे ।
उहाँ भैरव अर्यालको ज्यादै घनिष्ठ मित्र । भैरव अर्यालले आत्महत्या गरेको प्रसङ्ग कोट्याउँदा ‘कतिपय कारण भन्न नमिल्ने पनि हुन्छन्’ भन्दै भन्न मिल्नेजति फुकाउनुहुन्छ – उनको १६ वर्षदेखि नै स्वरनली सुकेर बोली बिग्रिएको थियो । साहित्यमा चर्चित भएर पनि आफ्नो सिर्जना आफैँ पढ्न सक्दैनथे । उनी खिन्नता प्रकट गर्थे । अर्को योग्यताको प्रश्न पनि थियो । उनी सुरूमा आईए मात्र थिए तर सबै काम गर्थे । पछि पढेर स्नातकोत्तर गरे पनि कुनै वृत्तिविकासको अवसर पाएनन् । भन्थे पनि अरूको तालुमा आलु फल्ने, मेरो तालुमा चाहिँ पिँडालु मात्रै । पिँडालुको सङ्केत कसैमाथि थियो पनि । घाटी पनि निक्कै दुख्थ्यो । मानसिकरूपमा पीडित थिए । उपचारमा जान राजा महेन्द्रलाई विन्तीपत्र हालेर खर्च दिने भएपछि मलाई नै लिएर दिल्ली गएका थियौँ । खर्च पुग्न ढिलो भएपछि म जनकपुर आएँ । उता उनी चिन्तित भएर जमुनामा हाम फाल्ने कुरा गर्दै चिठी लेख्न थाले । पछि पैसा पुगे पनि रोग निको नहुने भएपछि निरास भएका थिए । ट्रेनमा हिँड्दा पनि दुर्घटना भइदिए हुन्थ्यो भन्थे । सधैँ आफूविरुद्ध शङ्कैशङ्का देख्ने । समाज, कार्यालय, परिवार र मलाई पनि चिठी लेखेर वाग्मतीमा हाम फालेका थिए । मानसिक विचलनले गर्दा प्रतिभाको अन्त्य भएथ्यो । अहिले भन्ने गरेको डिप्रेसनको रोगी थिए उनी ।
रोचक, रचना र साहित्यिक पत्रकारिता । धेरै दुःखकष्ट खेप्दै इतिहास निर्माण भएको छ । उतिबेलाभन्दा यतिबेलाको साहित्यिक पत्रकारिता सहज देख्नुहुन्छ उहाँ । भन्नुहुन्छ – अहिले केही सुधार छ । खटेर काम गरे टिक्न सक्ने आधार बनेका छन् । विज्ञापनमा दौडधूप गरे पाइन्छ । वर्गीकरणमा पर्नसक्दा सूचना विभागबाट राम्रै सहयोग मिल्छ तर समस्याहरू पनि छँदैछन् । मूलकुरा त वितरणमा समस्या छ । हुलाक दर्ता पाइएको छैन । पाठक बढेका छन् तर हामी त्यहाँसम्म पुग्न सकेका छैनौँ । यता कतिपयमा चाहिँ सेवाभाव पनि देखिएन । कमाउ धन्धामा लागेका छन् धेरैजसो त । पत्रिका नै नभए लेखक, साहित्यकार कसरी जन्मिनु । पत्रिका त ‘उत्पादनशाला’ हो । राज्यले समाचार पत्रकारिताको तुलनामा साहित्यिक पत्रकारितालाई माया गरिदिएन । यो गुनासो नभएर तीतो यथार्थ हो । प्रजातन्त्रको पुनर्वहालीपश्चात् केही आशा जागेको थियो । महेश आचार्य अर्थमन्त्री हुँदा व्यक्तिगत सम्बन्धका कारण मेरै पहलले केही बजेट छुट्याएको भए पनि प्रेस काउन्सिलको सदस्यबाट म हटेपछि त्यो बजेट सदुपयोग भएन । पछि बजेटमा पारिएको साहित्यिक पत्रिका सहयोग कोष र साहित्यकार उपचार कोषमार्फत् आशा जागेको थियो । पहिलोपल्ट वर्गीकरणमा ‘क’ मा परेको रचनाले साठी हजार पाएथ्यो । पछिल्लो प्रज्ञाप्रतिष्ठानले छुट्टै बजेट नआएको भनेर बीस हजारमा झार्यो । यता अर्थ मन्त्रालय चाहिँ एकमुष्ट बजेट गएको हो भन्छ । कसका कुरा पत्याउनु ?
साहित्यिक पत्रकारितालाई सेवामुखी काम सोचेर जीवनभर लागिरहने प्रण गर्नुभएका रोचक घिमिरेलाई पनि ‘रचना कोष’ बनाउन सुझाव दिनेहरू निस्किएका छन् अरे । जब नगेन्द्रराज शर्माले ‘अभिव्यक्ति कोष’ बनाएर करिब सात लाखको स्थायी पुँजी बनाउनु भयो त्यसपछि उहाँलाई पनि भनेका हुन् । उहाँको विचार चाहिँ अलिक भिन्न छ । हामीकहाँ पुर्खाका करोडौँका गुठीहरू नभएका होइनन् तर अहिले नामेट छन् । मलाई त्यस्तो कोष पनि सुरक्षित र दिगो हुन्छ भन्ने लाग्दैन । सन्तानले बाबुबाजेको अस्तित्व सम्झे भने चल्ला नत्र त के चल्नु । त्यसैले मलाई कोष बनाउन मन लागेन । छोराहरूले राम्रै मानेका छन् । जे गर्लान् उनीहरूले नै गर्लान् ।
उहाँ यतिबेला नेपाल साहित्यिक पत्रकार संघको अध्यक्ष पनि हुनुहुन्छ । यता निक्कै पुरानो संस्था साहित्यिक पत्रकार संघ पनि अस्तित्वमै छ तर अधिकांश साहित्यिक पत्रकारहरू भने उहाँ सम्बद्ध सङ्घमै आबद्ध छन् । एकीकरण भएर एउटै भइदिए हुन्थ्यो भन्नेहरू पनि नभएका होइनन् । यतातिर पहल भएको छ कि छैन ? उहाँ भन्नुहुन्छ – एउटै बनाउनलाई भवानी घिमिरेकै उपस्थितिमा पहल गरिएको हो । वार्ता समिति पनि बनाएका हौँ । भवानीजी बितेपछि अच्युतरमणजीसँग पनि कुरा भए । पछि राधेश्याम लेकालीले औपचारिक चिठी खोजेपछि त्यो पनि पठायौँ तर जवाफ आएन । काम गर्ने हो, के फरक पर्छ र भनेर एकतर्फी पहल स्थगित गरिएको छ । भइरहेकोले कामै नगरेर नै अर्को बनाउनु परेको हो । जिल्लाजिल्लामा शाखाहरू खोल्ने काम भइरहेको छ । गोष्ठी, अन्तक्रिर्याहरू भइरहेका छन् । पत्रकारितासम्बन्धीका संस्थाहरूले जस्तै नेपाल साहित्यिक पत्रकार संघले पनि सरकारका तर्फबाट अनुदान सहयोग पाउनुपर्छ भन्ने हाम्रो माग हो ।
उहाँले साहित्यिक पत्रकारितामा निरन्तर लागिपरेर एकदर्जन जति साहित्यिक पत्रकारितासम्बन्धी पुरस्कारहरू र एक दर्जन बढी सम्मान, अभिनन्दनका पगरी गुत्न पाउनुभएको छ । आत्म सन्तुष्टिका लागि गरेको कर्मको पनि यत्तिको मूल्याङ्कन गरियो भने गुनासो केका लागि गर्नु भन्दै उहाँ बिट मार्नुहुन्छ- सन्तोषम् परमं सुखम् ।
मधुपर्क जेठ, २०६९
