नेपाली साहित्यमा आख्यान विधा पाठकका लागि निक्कै सुरूचिपूर्ण बन्दै आएको छ । आख्यानमा पनि कथाले चाहिँ दिनानुदिन पाठक बृद्धि गरिरहेको दर्बिलो प्रमाण निरन्तर प्रकाशित भइरहेका यसका प्रतिनिधि सङ्ग्रहहरूले पुष्टि गरिरहेका छन् । प्रख्यात नेपाली कथा, द्वन्द्वकथा, तराई, मधेसका कथा, यौनकथा, प्रेमिल कथा, समकालीन नेपाली कथाहरू, चर्चित नेपाली यौनकथा, नारीकथा, यस्ता कथा शृङ्खलाहरू प्रशस्तै प्रकाशित भइसकेका छन् । यसै सन्दर्भमा प्रख्यात नेपाली कथा (खण्ड ४) र समकालीन नेपाली कथाहरू यतिबेला निक्कै चर्चामा रहेका प्रतिनिधि कथा सङ्ग्रहहरू हुन् ।
प्रख्यात नेपाली कथा साहित्यकार एवम् पत्रकार व्याकुल पाठकको सम्पादनमा रत्न पुस्तक भण्डारले प्रकाशित गर्दै आएको छ । खण्ड ४ पाठकको हातमा आइसक्नुले पनि यसका अघिल्ला खण्डहरूको पाठकीय रुचिको बजारलाई हेरेर अघि बढेको ‘कथा योजना’ का रूपमा यसलाई लिन सकिन्छ । प्रस्तुत चौथो खण्डमा देवकुमारी थापा, सरूभक्त, शर्मिला खड्का (दाहाल), होमनाथ सुवेदी, ललिता दोषी, रमेश खनाल, सरोजराज अधिकारी, उषा शेरचन, वसन्तकुमार शर्म्मा नेपाल, राममणि ढुङ्गेल, वेदकुमारी न्यौपाने, मोहनराज शर्मा, दिलीप शाह, मीरा प्रधान रेम, बखतबहादुर थापा, तुलसीहरि कोइराला, लक्ष्मण राजवंशी, जैनेन्द्र जीवन,
डा. दीनबन्धु शर्मा, रत्न कोजू, अशोक सुवेदी, रामभरोस कापडी ‘भ्रमर’ र भारती गौतमका कथाहरू समेटिएका छन् । अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको मिश्रण मात्रै नभई यथासम्भव समावेशी कथासङ्ग्रह बनाउने प्रयास भएको यसले देखाउँछ । विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका र केहीका कथा त सङ्ग्रहमा पनि आइसकेकाले पाठकले रूचाएका कथाहरू सङ्गृहीत हुनुले पाठकको सम्पादनको चौथो कथाखण्ड पनि अघिल्ला खण्डहरूजस्तै उत्कृष्ट अनुभव हुन्छ ।
त्यस्तै समकालीन नेपाली कथाहरू साहित्यकार प्रभाती किरणको सम्पादनमा वैरागी जेठाले प्रकाशित गरेका हुन् । विशेष गरी युवापुस्तालाई समेटिएको यस सङ्ग्रहमा वर्णानुक्रमिकरूपमा ३६ जना कथाकारहरूका कथाहरू समेटिएका छन् । अनमोलमणि, अभय श्रेष्ठ, अमर न्यौपाने, अन्विका गिरी, कार्तिकेय घिमिरे, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशरी अम्गाईं, गङ्गा बिसी, गीता त्रिपाठी, तुलसीहरि कोइराला, तृष्णा कुँवर, दीपक खनाल, नवराज रिजाल, नवीन विभास, पुण्य गौतम ‘विश्वास’, प्रकाश आङ्देम्बे, प्रकाश आस्था, भानु बोखिम, मणि लोहनी, महेश पौडेल ‘प्रारम्भ’, मातृका पोखरेल, मानसी, रजनी ढकाल, रत्नमणि नेपाल, लक्ष्मी उप्रेती, शकुन्तला जोशी, शर्मिला खड्का (दाहाल), शशी लुमुम्बू, सरोजराज अधिकारी, सविना सिन्धु, सीमा आभास, सुस्मिता नेपाल, स्वागत नेपाल र हरिमाया भेटवाल यस सङ्ग्रहमा कथाकारका रूपमा देखिएका छन् । युवापुस्तामा निरन्तर लेखिरहेका र केही फाट्टफुट्ट मात्रै लेख्नेहरू पनि यसमा समाविष्ट छन् भने तुलसीहरि कोइराला, सरोजराज अधिकारी र शर्मिला खड्का (दाहाल) का कथाहरू प्रख्यात नेपाली कथा (खण्ड ४) र समकालीन नेपाली कथाहरूमा पनि परेका छन् । युवापुस्ताका कथाकारहरूले कथाका सन्दर्भहरूमा नवीन विविधता दिएका छन् र यसका सम्पादक प्रभाती किरणले कथाहरूको छोटकरी समीक्षण पनि गरेका छन् । यता प्रख्यात नेपाली कथामा समालोचक प्रा. राजेन्द्र सुवेदीले कथा शृङ्खलाका अघिल्ला खण्डहरूको समीक्षण गरेका छन् भने सम्पादक पाठकले लेखक परिचय एवम् कथा समीक्षा प्रस्तुत गरेका छन् ।
लगभग एकै समयमा प्रकाशित भएका नेपाली कथाका यी प्रतिनिधि सङ्ग्रहहरूले नेपाली साहित्यका कथा पारखी पाठकलाई भिन्नभिन्न स्वादका चखिला खुराक दिन सफल छन् । प्रख्यात नेपाली कथामा भने सम्पादकले समावेशी बनाउने प्रयास गरेका छन् । मूल्यका दृष्टिले दुई कृतिमध्ये समकालीन नेपाली कथाहरू महँगो देखिन्छ र पनि छपाइ आकर्षणका दृष्टिले उति उत्कृष्ट लाग्दैन ।
मधुपर्क जेठ, २०६९
