Skip to content

सुडानको मरुभूमिमा सिरसिर बतास

  • by


बिहान ८ बजे एलोवेदको यूएन बेस क्याम्पको गेटमा गाडीहरूको ताँती लागिसकेको थियो । हामी हिजै मात्र यूएनका गाडी एलोवेदबाट डार्फरसम्म पुर्‍याउन प्लेनबाट झरेका हौँ, एलोवेद । ५० जना अन्तर्राष्ट्रिय प्रहरीको चालकदलमा नेपाली दुई जना थियौँ, प्रेम मल्ल दाजु र म । हामीलाई पाँच दिनमा करिब सात सय किलोमिटरको मरुभूमि यात्रा पार गर्नुपर्ने थियो । सबै गाडी निसान पेट्रोल, प्राडो र ल्यान्डक्रुजर थिए । सौभाग्यवश हाम्रो भागमा एक-एकवटा प्राडो नै पर्‍यो ।

प्रत्येक गाडीमा पाँच दिनका लागि चाहिने खानेकुरा र पानीको व्यवस्था यूएनका अधिकारीहरूले गरििदएका थिए । एलोवेदबाट छुटेपछि अब हामीलाई गाडीमा नै सुत्नु र खानुको विकल्प थिएन । मेरा लागि यो पहिलो मरुभूमि यात्रा भएकाले मनमा झीनो आशंकाले डेरा जमाएको थियो । एक त पाँच-पाँच दिनसम्म बालुवामा ड्राइभिङ् गर्नुपर्ने, अर्को कुरा बाटामा विद्रोहीहरूबाट गाडी लुटिनसक्ने चिन्ता । तर, प्रेमदाजु भने पटकपटक आइसक्नुभएकाले उहाँमा देखिएको आत्मविश्वासले मन बुझाउन सहयोग पुगेकै थियो ।

केहीबेरमा नै हाम्रा गाडीका ताँती अगाडिबाट आक्रमणको शैैलीमा एकहूल गाडी हुइँकिएर आई हाम्रा गाडीहरूलाई घेराबन्दी गरे । एकैछिन त म अन्योलमा परेँ । तर, तत्कालै थाहा भयो, हामीलाई डार्फरसम्म पुर्‍याउन खटिएका सुडानका स्पेसल फोर्सका लडाकू रहेछन् उनीहरू । पछाडि खुला रहेका सिंगल क्याबिनको ल्यान्डक्रुजर गाडीहरूमा दुईतिर फर्किएका सिटमा पाँच-पाँच जना बसेका, एक जना गाडीको बीच भागमा ठड्याइएको लन्चरको ह्यान्डिल समाएर उभिएको, चालक र कमान्डर अगाडि क्याबिनमा बसेका, १३ जनाको टुकडी रहेछ एउटा गाडीमा । ताँतीको सातौँ नम्बर गाडीमा थिएँ म । सुरुदेखि अन्तिमसम्म गन्दा ११ वटा यस्ता गाडी खटिएका रहेछन्, हाम्रो सुरक्षाका लागि । मनमनै हिसाब गरेँ १ सय ४१ जना स्पेसल फोर्सका जवान खटिएका रहेछन्, यूएनका गाडीहरू सुरक्षित डार्फरसम्म पुर्‍याउन ।

माटो रंगका कम्ब्याट लगाएका ती जवानहरू सबैले टाउकोमा रुमाल र फेटा बाँधेका थिए । सायद त्यो बालुवा र धूलोबाट बच्नका लागि थियो होला । काला, फुंग उडेका ती अनुहारहरूमा हाँसो पटक्कै थिएन । त्रास र क्रूरताको दोहोरो छाप देखिने ती आँखाहरूसँग आँखा जुधाउँदै म हाँस्ने प्रयत्न गरिरहेको थिएँ । भाग्यवश मेरो गाडी नजिकै परेको थियो एउटा सुरक्षा टुकडी र त्यस गाडीको अगाडि बसेका थिए एउटा किशोर, जसको काँधमा एउटा सूर्य चिन्ह अंकित दज्र्यानी चिन्ह थियो । त्यस चिन्हले ऊ अफिसर हो भन्ने कुरा खुट्याउन मलाई गाह्रो परेन ।

बारम्बारको आँखा जुधाइमा मैले हाँसेर सबैलाई मित्रताको आमन्त्रण गरिरहेँ । ती १३ जनामध्ये कसै न कसैले मलाई हाँसेर प्रत्युत्तर फर्काउलान् भन्ने आशा लागिरहेको थियो । तर, मेरो प्रारम्भिक अनुमान नराम्ररी फेल खाइरहेको थियो ।

उनीहरूको धुलाम्मे अनुहारमा खुसी थिएन । सायद दुई दशकभन्दा लामो गृहयुद्धले उनीहरूको हाँसो खोसिसकेको थियो । उनीहरूको स्थिति देख्दा यस्तो लाग्थ्यो उनीहरू केवल युद्ध गर्नकै लागि जन्मिएका हुन् र उनीहरूको जीवनमा लड्नु र दुश्मनको सफाया गर्नुभन्दा अर्को उद्देश्य छैन ।

पहिलो दिनको यात्रा धेरैजसो पिचरोडमा नै भएकाले त्यति कष्टकर भएन । साँझ पर्दा हामी अनाहुड गाउँमा पुगिसकेका थियौँ ।

दोस्रो दिन बिहानैदेखि मरुभूमिको बाटोमा प्रवेश गरिने भएकाले बाटो कष्टकर र जोखिमपूर्ण हुने जनाउ आइसकेको थियो । बिहान फेरि यथावत् सुरु भयो हाम्रो यात्रा । हामी आ-आफ्ना गाडी लिएर लाइनमा निस्कियौँ । ती सुडानी कमान्डोहरू फेरि पूर्ववत् हाम्रा अघिपछि खटिए । हातहातमा अत्याधुनिक हतियार बोकेका ती कमान्डोका बारेमा मभित्र अनेकौँ प्रश्न उब्जिरहेका थिए । अनुहार हेरेर एकपटक नहाँसेका र नबोलेका ती सिपाहीसँग कुनै कुरा गर्ने साहस थिएन, मभित्र । तर पनि म उनीहरूसँग बोल्ने बहाना खाजिरहेको थिएँ ।

मरुभूमिको बालुवामा हामी बेपरवाह गाडी हाँकिरहेका थियौँ । बाटोका नाममा दुइटा टायरको डाम भएको खाल्डो मात्र थियो । गाडीले उडाएको बालुवाले अगाडिको गाडीको मधुरो छायाँ मात्र देखिन्थ्यो । दायाँबायाँ फैलिएको समथर मरुभूमिमा स-साना बुट्यानभन्दा केही थिएन । टायरको लिक गहिरो भएकाले गाडी रोक्नुपरेमा लिक छोडेर बाहिर निस्किहाल्नुपर्थ्यो । एक जनाको गाडी फसेमा पछाडिका गाडी पनि फस्ने भएकाले सबै सतर्क हुन अत्यन्त जरुरी थियो । म पनि मेरा कारणले सबै रोकिन नपरोस् भनेर सचेत रहन्थेँ । तर, जति नै सतर्क रहे पनि एउटा न एउटा गाडी फसिरहन्थ्यो र त्यसलाई निकाल्न एक-दुई घन्टा समय सबैले कुर्नुपर्ने हुन्थ्यो ।

दोस्रो दिनदेखि जब कसैको गाडी बाटोमा फसेर कुर्नुपर्थ्यो, तब मलै बिस्तारै ती कमान्डोहरूको नजिकै गएर हाँस्दै ‘सलाम वालेकुम’ भनी अभिवादन गर्न थालेँ । मेरो बारम्बारको हाँसो र अभिवादनले तीमध्येका एक जना कमान्डोले अप्ठ्यारो मान्दै मेरो अभिवादन फर्कायो । पहिलोपटकको प्रत्युत्तर भएकाले मभित्र खुसीको सीमै रहेन । यसले मलाई क्रूरतामाथि बिस्तारै मायाको जित हुन थालेको अनुभूति भयो । मभित्र उत्साहको भेल बग्न थाल्यो । उसको हाँसोले मलाई उनीहरूको नजिक जाने अनुमति पाएजस्तो भयो । त्यसपछि प्रत्येक बसाइमा केही न केही खानेकुरा दिने बहानामा म उनीहरूको गाडीनजिक जान थालेँ ।

आखिर भोकमाथि भोजनको विजय भयो । मैले दिएको चक्लेट, बिस्कुट, काजु, दालमोठ र बदाम थोरैथोरै गरी लिन थाले उनीहरूले । ती रुखो अनुहारमा देखिएको एक चिम्टी हाँसोले मलाई त्यो मरुभूमिमा वसन्त नै छाएजस्तै भयो । आखिर मान्छे जन्मसिद्ध क्रूर हुने र दयालु हुने कहाँ हुन्छ र ! समय र परििस्थतिले नै बनाउने त हो नि मान्छेलाई क्रूर र हिंस्रक । अब भने बाँकी तीन दिनको यात्रा रोमाञ्चक हुने कुराले अत्यन्त खुसी भएँ म । उनीहरूका बारेमा धेरै कुरा बुझ्ने कुत्कुतीले भने सताइरहेकै थियो ।

हरेक दिन गाडीको स्टेरङि्मा बसेर सुरु हुने यात्रा साँझ गाडीमा सुतेर विश्राम हुन्थ्यो । हरेक रात हामी सुतिरहँदा उनीहरू हामीलाई पहरा दिइरहेका हुन्थे । म गाडीको सिसाबाट सुनसान मरुभूमिको फैलावटलाई देखेर अत्तालिन्थेँ । दिनभरि गर्मीले सताउने मरुभूमिमा रातीचाहिँ जाडो हुने रहेछ । मैले आफ्नो ज्याकेटले शरीर छोपेर जाडोलाई थेगेँ र बिहानको प्रतीक्षामा बिर्सने प्रयत्न गरेँ ।

बिहान फेरि दुरुस्त रहन्थे ती कमान्डोहरू र हाम्रा अघिपछि लागिरहन्थे । हामी रातभर सुत्दा पनि थकान महसुस भइरहेको हुन्थ्यो भने ती कमान्डोहरू रातभर ड्युटी गरेर पनि चुस्त देखिन्थे । उनीहरूको सुरक्षा सतर्कता देखेर मैले मनमनै उनीहरूलाई सेल्युट गरेँ ।

तेस्रो दिनको यात्रामा निस्कँदा भने अब मलाई कुनै गाडी फसे पनि चिन्ता नलाग्ने भइसकेको थियो । मैले उनीहरूमध्ये केहीको नामसमेत थाहा पाइसकेको थिएँ । तेस्रो दिन पनि दुर्भाग्यवश जोर्डनी पुलिस अफिसर अल नायंमी र मलेसियन प्रहरीका यशवन्त सिन्हाको गाडी फसेकाले उनीहरूलाई दुई-तीन घन्टासम्म कुर्नुपर्‍यो । मैले त्यसै मौकामा पहिलोपटक नेपाली लोकगीत बजाएँ । गाडीको स्पिकरमा ठूलो आवाज घन्किन थाल्यो, ‘सिरसिर बतास, मेरो हितैको मायालु कुन्नि कता छ!’ नेपाली गीतको धुन सुनेपछि उनीहरू अचम्मित भए । हाम्रो मुरली, सारंगी र मादलको ताल र सुरले उनीहरूको त्यस क्रूरतालाई पगालिदियो । उनीहरू मेरो गाडीनजिक आएर झुम्मिए । उनीहरूका हात, खुट्टा र टाउको मादलको तालमा हल्लिन थाले । उनीहरूले जीवनमा पहिलोपटक सुनेका रहेछन्, नेपाली गीत । नेपाल भन्ने देश छ भन्ने पनि थाहा रहेनछ । मैले सगरमाथा र बुद्धको नाम लिनुपर्‍यो देश चिनाउनका लागि । गीतको भाव नबुझे पनि संगीतको जादुले लट्ठिन थाले उनीहरू । निकै ध्यान दिएर सुने नेपाली लोकगीत । संगीतको तालसँगै उनीहरूको मुहारमा देखिएको खुसीले मेरो मन आनन्दित भयो । त्यही मौका छोपेर म उनीहरूलाई नेपाली गीतमा नाच्ने तरकिा सिकाउन तम्सेँ । मलाई भरपूर साथ दिए यमनका प्रहरी हुसेनले । हामीसँगै नाचे केही कमान्डोहरू ‘सिरसिर बतास…’को धुनमा । केहीबेर उनीहरूसँगै त्यो मरुभूमिको उराठ र बिरानो वातावरणलाई संगीतको मधुर तालमा विभिन्न देशका प्रहरी साथीहरूले नाचेर रमाइलो बनायौँ । मलाई ती कमान्डोहरू हाँसेको/नाचेको देखेर औधी खुसी लाग्यो । जवानहरू नाचिरहँदा उनीहरूको कमान्डर गाडीको झ्यालमा हात राखेर मस्तसँग नाच हेरिरहेका थिए । नाच्नका लागि कमान्डरको पनि मौन स्वीकृति देखिन्थ्यो ।

चौथो दिनसम्म आइपुग्दा मभित्र उनीहरूप्रतिको डर हराइसकेको थियो । म उनीहरूलाई बिनाकुनै बहाना बोलाउन सक्ने भइसकेको थिएँ । सुरुमा क्रूर लाग्ने ती काला अनुहार मलाई मायालु लाग्न थालिसकेका थिए । ती निरश आँखाहरूमा मैले सुन्दर सपनाहरू देख्न थालिसकेको थिएँ । बिस्तारै बिस्तारै हामीबीच नजानिँदो किसिमले भावनात्मक सम्बन्ध गाँसिदै गएको थियो । उनीहरूले मन पराएका कारण मैले केही नेपाली गीतहरूको क्यासेट उपहार दिएँ । निकै खुसी भएर लिए, उनीहरूले मेरो उपहार । आखिर मान्छे जहाँको भए पनि मन त उही हुने रहेछ । मीठो खान कसलाई मन पर्दैन ? राम्रो लगाउन कसलाई मन पर्दैन ? र, संगीतको मीठो धुन सुन्न कसलाई मन पर्दैन ? जीवनमा हाँसखेल, नाचगान र रमाइलो गर्न कसलाई मन पर्दैन र ? तर, पनि सुडानमा यी सबै चीज सजिलै भेट्न मुस्किल छ । उनीहरूको खुसी, हाँसो, उमंग, उत्साह सबै युद्धले खोसेको छ । उनीहरूका इच्छा दबाइएका छन् । उनीहरूलाई युद्धका बारेमा मात्र प्रशिक्षित गराइन्छ । मात्र अरूको विनाश गर्न र आफ्नो समूहको रक्षा गर्न सिकाइन्छ । उनीहरूलाई देश बुझाउने प्रयास भएजस्तो लाग्दैन । उनीहरूलाई मानवीयताका बारेमा पढाउने प्रयास भएजस्तो लाग्दैन ।

फोटो खिच्न प्रतिबन्धित त्यो देशका कमान्डोका अगाडि हाँसीहाँसी धेरै फोटा खिच्यौँ हामीले । उनीहरूले हाँसीहाँसी मौन सहमति दिए । बाटामा धेरै खरबुजा काटेर सँगै खाइयो । प्रकृतिको वरदान पनि अचम्मकै रहेछ । त्यस्तो सुक्खा मरुभूमिमा जताततै फलेका खरबुजा देख्दा मैले मनमनै भगवान्लाई धन्यवाद दिएँ । नेपाली फुरनदानादेखि पुष्टकारीसम्म बाँडेर खाइयो, उनीहरूको दुःख बुझियो, उनीहरूको व्यथा चिनियो, पाँच दिनको यात्रामा मरुभूमिलाई नजिकबाट अनुभव गरयिो र साँच्चै भनौँ भने हाँसखेल गर्दागर्दै सुडानी कमान्डोहरूसँग आत्मा गाँसियो । सामान्य कमान्डोको तलब तीन सय पाउन्ड रहेछ । १० दिन काम गरेपछि तीन दिन छुट्टी मिल्दो रहेछ उनीहरूलाई । जुनसुकै बेला ज्यान जान सक्ने जोखिमपूर्ण काममा लागेका ती कमान्डोहरूको दुःख हेरी सरकारले सुविधा दिन सकेजस्तो लागेन मलाई । फगत म के गर्न सक्थेँ, उनीहरूका लागि ।

अन्ततः पाँचौँ दिन हामी डार्फरको अलफासेर आइपुग्यौँ । अनेकौँ बाधा पार गरेर गन्तव्यमा आइपुग्दा मलाई अझै दुई-चार दिन नआइपुगेको भए पनि हुन्थ्यो जस्तो लाग्यो । मलाई म सुरक्षित आइपुगेको खुसीले भन्दा पनि उनीहरू सुरक्षित पुग्छन् कि पुग्दैनन् भन्ने चिन्ताले फेरि थोरै दुःखी बनायो । हामीले हतार हतारमा १०/१० पाउन्ड संकलन गरेर पाँच सय पाउन्ड बनाएर कमान्डरको हातमा थमायौँ । उनले गाह्रो मानीमानी लिए र सबैलाई गाडी फर्काउन निर्देशन दिए । मैले कमान्डरसँग केहीबेर हात मिलाएर अँगालो मारेँ । न मैले खुसीले बिदाइ गर्न सकेँ, न उनले नै खुसीले मेरो हात छाड्न सके ।

जाने बेलामा मलिन स्वरमा कमान्डर बोल्यो, ‘सिरसिर बतास नेपाली ।’ उसले बुझेर बोल्यो या नबुझेर बोल्यो, मलाई थाहा भएन । एघारवटै गाडी धूलो उडाउँदै हामी आएकै दिशातर्फ फर्कियो । केहीबेरमै उनीहरूको गाडीले उडाएको धूलो टाढा-टाढा हुँदै गयो र आँखाबाट ओझेल परे, सुडानी कमान्डोहरू । तर, मलाई भने उनीहरू हिँडेको धेरैबेरसम्म पनि त्यही मरुभूमिको नाचको झल्कोले पछ्याइरह्यो । उनीहरूको गाडी नदेखिए पनि मरुभूमिको त्यो सुनसान बाटामा धूलो उडाउँदै कुदिरहेको कल्पनाले मेरो मनलाई ब्यूँझाइरह्यो । सायद, सुडानको त्यो मरुभूमिमा अझै घन्किरहेको हुनुपर्छ, ‘सिरसिर बतास… ।’

नेपाल साप्ताहिक ४९३

Leave a Reply

Your email address will not be published. Required fields are marked *