अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरू सफा गर्दैछु । यति साबधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरो सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शुन्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जयमान हुन्छ । सायद पीडा अत्यधिक बढेर गएको छ । आँखाहरू कहिलेकाहीँ उसको आँखामा गएर ठोकिन्छ । म देख्छु ऊ एकतमासले मलाई हेरिरहेछ । हातहरू जबरजस्ती बाँध्न खोज्छ । सायद यतिबेला त्यो क्रुर मान्छे जिब्रो चलाउन नसके पनि मसँग क्षमायाचना गर्न हातहरू जोड्न चाहन्छ । आत्मग्लानिले होला आँखाहरू भरिएछन् । कस्तरी डढेछ अनुहार त पुरै कोईला जस्तै देखिएछ ।
कुनै दिन ममा त्यो क्रुर मान्छेप्रतिको घृणा भक्भकी पानी उम्लिएझै उमलन्थ्यो । यहाँसम्म कि म उसको मृत्युको कामना गर्थेँ । जब जब उसको बर्बर हातहरू मेरो चुल्ठोमा र खुट्टाहरू ढाडभरि सल्बलाउँथ्यो म असह्य पीडाभित्र उसको मृत्युको कामना गर्थेँ । त्यति बेला उसको आँखाहरू पाकेको गोलभेँडा जस्तो देखिन्थ्यो अनि दाँत कुनै हिंस्रक जनावरको झै हुन्थ्यो । उसले ओकलेको अश्लिल गालीहरूले मनहरी खोला समेत लज्जित हुन्थ्यो । सुकुम्बासी बस्तीको त्यो सानो टहराभित्र डंक मारी मारी उसका ती शब्दहरू गुञ्जिन्थ्यो । उसले प्रयोग गर्ने गालीका शब्दहरू र प्रहार गर्ने मुक्काबाट दुईवटै छोराहरू भयभित हुन्थे अनि बेजोडले भाग्थे हार गुहार माग्न बाहिरतिर । डरले होला सायद त्यतिखेर ती दुबै निलकण्ठ झै निला हुन्थे ।
कति पटक् त मैले त्यो नारकीय जीवन लीला सकाउने कोशिस पनि गरेकै थिएँ । तर हरेक पटक आँखा अगाडि दुई छोराहरूको प्रतिविम्व छाउँथ्यो । म बाध्य हुन्थेँ मातृत्वको आँचल फैलाउन पूर्ण रुपमा दुई छोरालाई समाहित गर्न र यो त्यतिखेर मात्र सम्भव थियो जतिखेर म जीवित हुन्थेँ । त्यसैले सदैव मेरा खुट्टाहरू रोकिन्थेँ मृत्युको आगोशतिर जानबाट । मृत्यु जीवन्, जीवन मृत्यु यि दुबै पाटाहरू मेरो लागि बिजगणितीय समस्याहरू झै हुन्थे । जहाँ अभिव्यञ्जकहरूको समीकरण अन्त्यमा बराबरी हुन्थ्यो । म पनि सधैं मृत्यु र जीवन बिचको धुर्वीय विकर्षणमा समानता ल्याउने प्रयासमा हुन्थेँ ।
मलाई अहिले पनि याद छ प्रत्येक दिन उही घटनाको पुनरावृत्ति हुन्थ्यो । त्यस्को लागि कुनै विषेश कारण चाहिँदैन थियो ।”तरकारीमा नून् लागेन” अथवा “सर्टको कलर किन मैलो ?” बस त्यो अरमुठ्ठे झै गुजुल्टिएको शरीर एकाएक तनक्क तन्किन्थ्यो र आफ्नो पुरुषार्थ प्रदर्शन गर्न मुक्काहरूको वर्षा गराउन शुरु गरिहाल्थ्यो । साँच्चै कति निर्दयी थियो त्यो क्रुर मान्छे ।
म जब जब स साना छोराहरूको भविष्यको बारेमा सोच्थेँ तब तब आतंकित् हुन्थेँ । म उनीहरूलाई पढाई लेखाई चेतनशिल मानिस बनाउन चाहन्थेँ न कि उनीहरूको बाबु जस्तै क्रुर अनि हृदय नभएको निर्दयी । त्यति कठोर नबनोस, आफ्नो कर्तव्यबाट बिमुख बाबु नबनोस भोलिका दिनमा मेरा छोराहरू म यही चाहन्थेँ । त्यस्को लागि म हरेक दिन अघिल्लो दिनको कुटाईबाट पाएको दुखाई भुलाउँदै, निलडाम लुकाउँदै भाँडा माझ्न, कपडा धुन, बाथरुम सफा गर्न जान्थेँ साहुकोमा जहाँबाट पाएको केही पारिश्रमिकले म छोराहरूको पढाईलाई निरन्तरता दिलाउँथेँ । त्यो क्रुर मान्छेले हामीप्रति अरु केही नगरे नि एउटा दया भने गरेको थियो । उसले हामीलाई महिनाभरको लागि त हैन तर पनि केही समयको लागि पुग्ने गरी रासन भरिदिन्थ्यो । त्यो रासनमा २ किलो मुसुरको दाल, ३० किलोको एक बोरा चामल, २ पाकेट भट्मासको तेल, अनि केही मरमसला हुन्थ्यो । त्यति रासनले महिना धानिदैंन भन्ने मलाई थाहा थियो र त म कति दिन भोकै बस्थेँ । कहिलेकाहीँ ठूलो छोरा सोध्थ्यो ” आमा खाना किन नखानुभएको?”
मेरो रेडिमेट जवाफ हुन्थ्यो “बाबु आज खान मन् छैन वा आज साहुकोम खाएर आएँ ।”
त्यतिखेर म झुट् त बोलिरहेको हुन्थेँ तर मेरा आँखाहरूले साथ दिईरहेको हुन्नथ्यो । आँखाहरू ओसिला हुन्थेँ । म चुपचाप धोतीको सप्कोले त्यो असफलतालाई पुछ्ने असफल नै कोशिस गर्थेँ ।
हामी दिनभरि सुरक्षित महशुस गर्थ्यौं किनकि दिउँसो त्यो क्रुर मान्छे आहारा खोज्न गएको हुन्थ्यो अथवा भनुँ अफ्नो गुफाबाट बाहिर लुते कुकुर झै हल्लिरहेको हुन्थ्यो ।
साँझ परेपछि भने दुवै छोराहरूको अनुहार हेर्न लायकको हुन्थ्यो । भयमिश्रित अनुहार अनि कम्पित शरीरको साथमा दुबै हावामा हल्लिरहेका ध्वजा झै देखिन्थेँ ।
अनि म चाहिँ फलामको जीउ बोकेर त्यो क्रुर मान्छेको मुक्का खान तम्तयार हुन्थेँ । कतिखेर लडखडाउँदै आउने हो, के निहुँ पारेर कुट्ने हो पत्तै हुन्न थ्यो । उसो त त्यो क्रुर मान्छे पनि कहिलेकाहीँ त फलाम नै चपाएर आएको हुन्थ्यो र रक्सीका जीवाणुले पुरै शरीर जीर्ण भैइसकेको हुन्थ्यो तै पनि कस्तो अज्ञात शक्ती थियो कुन्नि हरेक रात मलाई झारपात मिचे झै मिचिदिन्थ्यो । पहिले त बेस्सरी कुट्थ्यो अनि मन् लागुन्जेल मेरो निर्जिवतुल्य शरीर नोच्थ्यो, लुछ्थ्यो, चुस्थ्यो मानौ म हाड, मासुबाट बनेको नभई फलाम अथवा कुनै साह्रो धातुबाट बनेको मान्छे हुँ ।
त्यो निर्दयी मान्छेसँग म वर्षौंदेखि यसरी नै बस्दै आइरहेकी थिएँ । जाउँ पनि कता? माईत? यो शब्दले मलाई जीवनभर नराम्रोसँग चिमोटिरह्यो । नचिमटोस् पनि कसरी? माइत झापा भन्ने ठाउँमा त थियो तर माईतमा कोहि थिएन । यदि हुदोँ हो त सायद मेरो विवाह नै त्यस मानिससँग हुन्न थियो होला । म सानो छँदै बुबा बित्नुभएछ । आमाले हामी स साना हुदैंमा काकाबाउसँग विवाह गरेर ताप्लेजुङ्तिर लाग्नुभएछ सारा जग्गाजमिन बेचेर । ७ वर्षकी म, ५ वर्षकी बहिनी र ४ वर्षको भाइलाई छाडेर जाँदा आमाको त्यो मुटु किन छेडिएन ? मलाई गज्जब लाग्छ अहिले पनि । बहिनी बडाबाउकहाँ, भाइ मामाघरमा, म मात्रै फाल्तु भएथेँ । नियतिको खेल नै होला सायद त्यतिबेलै म गाउँकै दाइ पर्नेसँग काठमाण्डौं छिरें । अनि त के मेरा दिनहरू लगातार त्यो थापाथलीको अध्याँरो कोठाभित्र कैद भयो, हातहरू नजादिदोँ तरिकाले गलैचाका तानहरूमा सल्बलाउन थाल्यो । कम्तीमा दुई छाक खान र आङ ढाक्न सफल भएँ । यति काफी थियो मेरो लागि ।
१८ वर्षसम्म त्यो बन्धन स्वीकार्य भयो । अझै पनि स्वीकार्थेँ सायद उही दाइले त्यो क्रुर मान्छेसँगको विवाहको प्रस्ताव नल्याएको भए । २६ वर्षकी भैइसकेकी थिएँ । मेरो विवाह गरेर घर बसाउने कुनै सपना त थिएन तर तारा झारेर ल्याईदिने झुटा आश्वसनले म गल्लत्तै गलेँ र विवाहको लागि तयार भएँ ।
प्राकृतिक नियम अनुसार म पनि गर्भवती भएँ विवाह पश्चात तर यो खुसीको कुराले मेरो मन् भरिन नपाउँदै पोखिएर गयो । म गर्भवती भएको ३ महिनादेखि नै त्यो मान्छे बेपत्ता भयो । असनको गल्लीमा म दिनहुँ हराएको मान्छे खोज्न जान्थेँ र निरश भएर डेरामा फर्कन्थेँ । अहँ भेटिएन । हराएको, बाटो बिराएको भए पो भेटिनु । भागेको मान्छे कसोरी भेट्नु? हरेक दिन सुर्योदयसँग म आशाहरू फुलाउँथेँ अनि र सुर्यास्तसंगै झार्थेँ । ठूलो बाबु पाएको ३ महिना पछि असनकै गल्लीमा चुरोट सल्काउँदै गर्दा मैले त्यो मान्छेलाई देखें । सुटुक्कै दाइलाई बोलाएँ । त्यतिखेरसम्म त अलप भैसकेको थियो त्यो क्रुर मान्छे । अर्को दिन फेरि उसरी नै कुरियो । मेरो भाग्य बलियो थियो कि कमजोर भोलिपल्ट त्यो मान्छे त्यही ठाउँम भेटियो । दाइले कठालोमा समातेर डेरामा पुर्याउनुभयो । निकैबेरसम्म वाकयुद्द चलिरह्यो । उसको स्पष्टीकरण थियो ” म कामको सिलसिलामा भैरवहा गएको थिएँ । बल्ल फर्किएँ ।” सम्झौता गरियो अब नछाड्ने भयो हामीलाई त्यस मान्छेले ।
ठूलो छोरा २ वर्षको पुग्दा नपुग्दै म पुन: गर्भवती भएँ । एककिसिमको डरले हृदयमा बास गरेको थियो कतै फेरि पहिले जसरी छोडेर जाने त हैन? भनेर ।
तर यपटक भने त्यो मान्छे भागेन । संगै बस्यो तर सम्बेदनारहित । मैले फेरि सानो छोरालाई जन्माएँ ।
त्यो मान्छेको बानी भने जस्ताको तस्तै थियो । अझ बढी बिग्रेर गएको थियो । बाहिरै बढि बास हुन्थ्यो । अधेरोंले बर्को नओढाएसम्म डेरामा खुट्टा राख्दैनथ्यो । भट्टीमा पसे पछि के साँझ के बिहान पत्तै हुन्नथ्यो । भट्टिमै बास बास बसिदिने । महिना दिनमा मुस्किलले आधा महिना काम गर्थ्यो त्यो पनि भट्टीमै रक्सी पिएर सकाउँथ्यो ।
त्यो मान्छेमा विस्तारै विस्तारै अकल्पनीय परिवर्तन देखें । झ्याउँकिरी कराउन शुरु गरेकै हुन्नथ्यो त्यो मान्छे लड्खडाईसकेको हुन्थ्यो रक्सीको मातले । डेरामा हामी खाना खान कुरेर बस्थयौं ऊ भने डकारेर आउँथ्यो । खै के कुरामा असन्तुष्टी थियो मैले कहिल्यै जान्न सकिन । हामीबिच संम्वाद पनि कम हुनथालेको थियो । ठूलो छोरा बुझ्ने भैसकेकोथ्यो । उसले आफ्नो होस् सम्हाले देखिनै बाबुलाई मन् पराउन छाडेकोथ्यो । माया लाग्ने त्यस्तो खासै केही गरेको पनि थिएन मात्रै हामीलाई छोडेर भागेको थिएन ।
त्यो मान्छे यति निष्ठुर भएर गयो कि उसले एकपल्ट पनि छोराहरूको बारेमा मसँग कुरा गरेन । के गर्दैछ, कति कक्षामा पुगे? के आवश्यक छ? अहँ कहिल्यै सोधेन । सायद त्यसैले होला ठूलो छोराले त्यो मान्छे नभएको बेलामा “क्रुर मान्छे” भनेर सम्बोधन गर्थ्यो । ऊ भित्र भित्रै त्यो क्रुर मान्छेलाई घृणा गर्थ्यो र पनि प्रतिवाद गर्न भने डराउँथ्यो ।
कोठाभित्र त्यो क्रुर मान्छे पस्नासाथ दुवै छोराहरू सिरकभित्र छिर्थे निन्द्रा नलागे पनि निदाएको बहानामा ।
साँच्चै निर्दयी थियो त्यो मान्छे ।
दिनहरू झन् कष्टकर हुदैंथ्यो । मैले ज्यानले सकेको काम गरेँ । उनीहरूको पढाईको लागि म निरन्तर घोटिरहें । कहिले साहुहरूको घरमा झुठो भाँडा हरूसंगै घोट्टिएरहें, कहिले आफ्नै लोग्ने भनाउँदाको घिन् लाग्दो आलंगिनमा अठ्ठिरहें । दिनहरू यसरी नै बित्दै गयो । जसो तसो ठूलो छोराले एस .एल .सी. गर्यो । मेहनतको फल आशातित नै पाईयो । जीन्दगीको परिक्षामा जे जस्तो भए नि पढाईमा अब्बल नै ठहरियो ।
अगाडिको पढाइ बढाउन सम्भव थिएन । उसले पनि पढ्ने रहर देखाएन सायद सप्नाहरू झुण्डिरहेको थियो । ऊ त्यही टिप्ने निहुँले निस्कियो ।
सप्ना टिप्ने क्रममा ऊ अरब पुग्यो । पहिले त सप्ना फुल्नै पाएन तर केही महिना पछि उसको सप्नाहरू फुलेर झुल्न थाल्यो सायद बेला बेलामा मलाई फोन गर्थ्यो । भाइको बारेमा चिन्ता व्यक्त गर्थ्यो । मेरो दुखाइमा मल्हम लगाउँथ्यो तर कहिल्यै बाउको बारेमा सोधेन । मलाई थाहा थियो उसलेन् सोध्ने पनि छैन भनेर । ऊ दुखेको थियो आफ्नो बाउबाट । त्यसैले छाम्दैन थियो बाउको घाउहरू जुन जर्जर भएर आएको थियो रक्सीले मुख र नाकबाट एकैसाथ रगत निस्कदाँ ।
४ वर्ष यसरी नै दुख्दै, दुखाउँदै बित्यो । दुखे यसकारण त्यो क्रुर मान्छे झन् क्रुर भएको थियो र ममाथिको दुराचार बढेर गएको थियो । दुखाएँ यस कारण त्यो क्रुर मान्छेलाई छोडेर अन्तै बस्न ठूलो छोराले गरेको आग्रहलाई टेरिन । किनकी त्यो क्रुर मान्छे अब विस्तारै गलेको थियो र बिमारी पर्न थालेको थियो । रक्सीले पुरै नपाके पनि शुरु चै भैइसकेको थियो । यस्तोमा पनि रक्सी नल्याईदेको भन्दै चिर्पट उठाउन भने छोडेको थिएन ।
मेरो दयनीय अवस्था देखेर छोरा फर्केर आयो ।
साथमा एउटा छाप्रो बनाउन पुग्ने सप्नाका फल पनि थियो । उसले रानीवन नगिचै ४ आना घडेरीमा उही सप्नाको महल बनायो । भाइलाई राम्रो स्कुलमा हाल्यो अनि मलाई आफैसँग बस्न पुन: आग्रह गर्यो । यसपटक भने मैले मान्नै पर्ने थियो । म आफै जिर्ण भैसकेकी थिएँ । कुनै काममा जान सक्ने अवस्था थिएन । सायद बुढ्यौलीले अलि बढि नै च्यापेर ल्याएकोथ्यो । त्यसमाथि त्यो क्रुर मान्छेको सहन नसक्ने कुटाई । बाध्य भएँ । बाउलाई पनि साथमा लान मैले भनें तर उस्ले कुनै चासो देखाएन त्यसप्रति । ऊ कठोर भएको थियो ।
आज ठ्याक्कै ६ महिना बितेछ मैले त्यो डेरा छाडेर यहाँ आएको । हामीले छोडेर आएपछि त्यो क्रुर मान्छे को हविगत जे हुनुथ्यो त्यही भएछ । काम गर्ने क्रममा हातमा परेको एसिडले हात पुरै पाकेको कटहर जस्तो गलेछ । पिपै पिपले भरिएछ । उमेरले पनि ३ बिसा छोईसकेको थियो । कमजोरी अनि रक्सीको स्लो प्वाईजन्ले ओछ्यान परेको सुनेकोथेँ । तर जान सकिरहेको थिइन ।
“बिजोग भएछ सुब्बा दाइको त । सधैं रक्सी पिएर स्वास्नी कुट्थ्यो । अहिले सबैले छोडेर गएपछि हेर पाप धुरीबाट कराएको । कसले स्याहार्ने? मर्छ होला अब यही कोठामा डुङड्ङ्ती गन्हाउने भयो । उफ्!”
यस्तै हल्ला ल्याईपुर्याउथेँ कानेखुसी गर्नेहरूले ।
म कसरी त्यो क्रुर मान्छे जसरी निठुर भएर बस्न सक्थेँ? जे भए पनि नारी हृदय थियो मेरो । करुणाका लहरहरू सामुद्रिक आँधी झै लहरिदैंथ्यो । अन्यायी, अत्याचारी, दुराचारी जे जस्तो भए पनि त्यो मान्छे मेरो लोग्ने थियो । दुई छोराहरूलाई नाम दिएको थियो । आधा पेट भए पनि खान दिएको थियो । आपत विपत सन्चो बिसन्चोमा कुकुरलाई त माया गरिन्छ भने त्यो त मान्छे थियो भलै विवेकहिन थियो तर मान्छे त थियो ।
मनले मान्दै मानेन । छोरा नभएको मौका पारेर हेर्न गएँ त्यो मान्छेलाई । साँच्चै बोली बसिसकेछ । घाउले हात पुरै ढाकिसकेछ । कपाल, दाह्री जुङ्गा बढेर जोगी जस्तै देखिनथालेछ । कोठा पुरै गन्हाईरहेथ्यो । मलाई देखेर बररर आँशु झार्यो । बोल्न खोजे जस्तो लाग्यो । पानी पिलाईदिएँ । झन दर्के झरी झै दर्कियो । कस्तो नमिठो लाग्यो । त्यस्तो कठोर मान्छे पनि रुदोँ रहेछ पहिलो पटक् देख्दै थिएँ ।
जाउलो पकाउन खोजेँ । भाँडा सबै रित्तै । अन्न भनेको केही भेटिनँ । के खाएर बाँचेको होला जस्तो लाग्यो । भक्कानो फुट्यो । अंगालो मार्ने मन् भयो तर सकिन किनकी मैले कहिल्यै त्यसरी आफूखुसी हात समातेको समेत थिइन । धक लाग्यो ।
तातो पानी तताईदिएँ । घुटुघुटु पिउँदा रुद्र घण्टी हल्लेको प्रष्टै देखिन्थ्यो । नशा सबै निला देखें । सायद यही अवस्थामा अब केही दिन रहने हो भने बाँच्दैनन् जस्तो लाग्यो । असीम माया पलाएर आयो त्यो मायै नभएको मान्छेप्रति ।
उल्टो खुट्टा म फर्किएँ । रातभरि निन्द्रा लागेन ।
त्यो क्रुर मान्छेको दुब्लो ख्याउटे अनुहार रातभर् छल्न आईरह्ह्यो ।
बिहान चिया पिउने समयमा छोरालाई सबै सुनाएँ । त्यो क्रुर मान्छेलाई घरमा ल्याउने आशय प्रकट गरेँ ।
ऊ मौन रह्यो । सायद बिगतले घोच्यो त्यसैले काँडा हुन मन परायो ।
कुनै उत्तर नै नदिई उठेर गयो ।
मैले पनि बालहठ गरिरहेँ । लगातारको मेरो अनुरोध भनुँ वा करलाई अन्त्यमा उसले स्वीकार्यो र आज त्यो क्रुर मान्छे मेरो अगाडि लतमन्न छ ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Nice
Katha Ramro 6. sabai kura kramik pru ma nai aagi badeko. Nepali haru ko karunik bisaya marmaha 6. 70% nepali mahila haru le bhogeka samasya sanga mel khane vayako le derai nepali le yo katha man parau 6an vanne malai lag6. Samagrama banda katha salla bageko ramro 6.
धन्यवाद हजुरलाई अज्ञात
धन्यवाद हजुरलाई अज्ञात भए पनि यति सुन्दर प्रतिकृयाको लागि।
Katha padada kheri katha mai
Katha padada kheri katha mai dubna pugechhu… marmik chha….yesto bhawnatmak rachna haru malai padna mann lagchha arulai ni sunauna mann lagchha tyesaile ma Bina Ji dwara rachit yo katha lai facebook ma pani Share garna chahanchhu….
धन्यवाद हरि जी
धन्यवाद हरि जी यहाँको यो प्रतिकृयाको लागि आभार प्रकट गर्दछु ।