१. कथाकार परिचय
नेपाली साहित्यमा कथा, निबन्ध र उपन्यास विधामा दर्विलो स्थान बनाइसकेका स्रष्टाको नाम नै धीरकुमार श्रेष्ठ हो । उनले घतलाग्दा कथा लेखेर बालसाहित्यमा योगदान पुर्याएका छन् । नेपाली व्याकरण र नेपाली पाठ्यपुस्तकको निर्माणमा समेत सक्रिय श्रेष्ठले शब्दाङ्कुर, दीपशिखा, ज्योतिपुञ्ज जस्ता साहित्यिक र वार्षिक पत्रिका निरन्तर सम्पादन गर्दै आएका छन् । २०३८ सालमा ‘दिदी’ शीर्षकको कथा छपाएर साहित्यमा हाम फालेका श्रेष्ठले आजसम्ममा आरम्भ अर्थात् सुरुवात (कथासंग्रह ०६३), घुर (उपन्यास ०६४), जेब्रा क्रसिङ (सचित्र बालकथा), तन्द्रामा अमेरिका (हाँस्यव्यङ्ग्य निबन्धसङ्ग्रह ०६५) लेखेका छन् भने कक्षा एकदेखि पाँचसम्मका ‘सरल नेपाली बालव्याकरण र रचना’, नर्सरीदेखि कक्षा पाँचसम्मका ‘मेरो प्यारो नेपाली’ किताबको संयुक्त लेखन र सम्पादन गरेका छन् । ‘एक जुगमा एक दिन, चैत्र २८’ नामक पुस्तकको लेखन एवं सङ्कलन पनि गरेका छन् । साहित्ययात्रामा निरन्तर साधनारत् एक साधकको नामले चिनिने व्यक्ति नै धीरकुमार श्रेष्ठ हुन् । साहित्यको श्रीवृद्धिमा तयसमा पनि आख्यान विधामा उनको हात श्रेष्ठ छ । यस सानो लेखमा उनै आख्यानकार श्रेष्ठद्वारा लिखित ‘आरम्भ अर्थात् सुरुवात’ (कथासंग्रह ०६३)मा समाविष्ट ‘सहर’ कथाको वस्तुवादी विश्लेषण गर्ने उद्देश्य राखिएको छ ।
२. शीर्षक, संरचना र विभाजन :
विवेच्य कथा ‘सहर’ ‘आरम्भ अर्थात् सुरुवात’ (कथासंग्रह ०६३)मा समाविष्ट १५ कथामध्ये अन्तिममा कथा हो । ‘सहर’ को अर्थ सुविधासम्पन्न, औद्योगीकरणले भेटेको, घना मानववस्ती भएको स्थान भन्ने बुझिन्छ । यहाँ, मानवीय संवेदनाशून्य भएका मान्छेहरूको बसोबास भएको ठाउँ नै सहर हुन गएको छ । आफ्नो स्वार्थमा लिप्त हुने मान्छेहरूले अरूको दुःख र मार्का बुझ्न नसकेका घटनाको इतिवृत्ति यस कथामा पाइन्छ । कथामा आएका आफ्नो शरीरमा नै समान झुण्ड्याएर घुम्दैफिर्दै व्यापार गर्ने व्यापारी, ढकी पसल थाप्ने र नगर प्रहरीको आगमनको सुइको पाउना साथ पसलै बोकेर टाप कस्ने साना व्यापारी, धारामा पानी आउँछ कि भनी जर्किन र गाग्राको लामो लाइन लगाएर बाटो कुरेर बस्ने मानिसहरू, नगर प्रहरीहरूको व्यापारी लखटाइ, पार्कको एकान्त ठाउँमा प्रेमालिङ्गनमा मस्त प्रेमिप्रेमिकाजस्ता पात्र र तिनले घटाएका घटनाहरूलाई नियाल्दा सहरी सभ्यताप्रति नै प्रश्न चिन्ह तेर्सिने गरेको छ । यी सबै, सबै कामकुरा समाजका कुरूप पक्ष हुन् । सोचविचारै नगरी अर्काको पछि लागिहाल्ने मानवीय स्वभाव, तागतदारले निर्धोलाई हरतरहले दवाउने प्रवृत्ति, चोरी, लुटपाटका घटनाहरूजस्ता निम्नस्तरीय कुराहरूले सहरमा नै प्रश्रय पाउने गरेका हुनाले र कथा पनि तिनै कुराहरूको सेरोफेरोमा घुमेको हुनाले लाक्षणिक अर्थमा कथाको शीर्षक ‘सहर’ राखिनु औचित्यपूर्ण, अर्थयुक्त र सामञ्जस्यमूलक ठहर्दछ । सहर सभ्य र सबैखाले मान्छे बस्न र अटाउनलायकको हुनुपर्छ भन्ने चाह प्रकट भएको देखिन्छ ।
लामाछोटा गरेर ‘सहर’ कथामा १३ अनुच्छेद छन् भने जम्मा १५४ हरफमा प्रस्तुत छ । कथा पाँच पृष्ठको वाह्य संरचनामा आबद्ध छ । विभाजनको स्पष्ट रूपरेखा तय नगरिएको भए पनि घटना र प्रसङ्ग परिवर्तनले यसको एकिन गर्दा निम्नअनुसारको अवस्था देखिन्छ ।
पहिलो अनुच्छेद सहरको सूक्ष्म परिचयमा केन्द्रित छ भने दोस्रो अनुच्छेद सहरको सूक्ष्म परिचयका सिलसिलामा नगररक्षक टोलीदेखि बच्न पेटी पसलेहरूको पीडादायी म्याराथुन दौडमा केन्द्रित छ । तेस्रो अनुच्छेदमा थोत्रे हिरोहोण्डा मोटरसाइकलवाला पात्रले ‘आयो, आयो’ शब्द सुन्नासाथ बन्द र हडतालका कारणले हल्ला चलेको भन्ठानी आफ्नो थोत्रे भए पनि हिरोहोण्डा जलाइनबाट बचाउनुपर्छ भनेर ज्यान छाडेर भागेको कुरामा केन्द्रित छ । चौथो अनुच्छेदमा काठमाण्डू सहरले पानीको अभावमा काकाकुल नियति भोगिरहेको र रातको दुई बजे ‘आयो, आयो’को आवाजसँगै पानी लिन धारामा पुग्दा क्षणभरमै पानी आउन बन्द भएको व्यथालाई समेटेको छ । ‘आयो, आयो’को आवाजसँगै साना व्यापारीहरूको भागदौड र पार्कको एकान्तमा प्रेमालिङ्गनमा मस्त प्रेमिप्रेमिकाको विपरीत दिशाको दौडाइलाई पाँचौँ अनुच्छेदले समेट्ने काम गरेको छ । छैटौँ अनुच्छेदले भने ‘आयो, आयो’को आवाजसँगै भागदौड हुँदा सडकका लुतेकुकुर पनि भीडको पछिपछि दौडेको हाँस्यस्पद प्रसङ्ग समेटिएको छ । गर्दन बाङ्गिएको मानिस त्यही बाङ्गो गर्दनको सहाराले हेर्दा आकाशतिर हेरिरहेको हुन्छ । उसको विवस परिस्थितिलाई ध्यानमा नराखीकन एउटा जमात उसकै नजिक उभिएर आकाशतिर हेरिरहेको अर्को हाँस्यास्पद क्षणको चर्चा सातौँ अनुच्छेदमा गरिएको छ । आठौँ अनुच्छेदमा पकेटमारालाई चिनाइदिँदा बदामव्यापारीले मरणासन्न हुने गरी पिटाइ खानुपरेको कुरामा केन्द्रित छ भने नवौँ अनुच्छेदमा बदामव्यापारीलाई म पात्रले चिनेको र उसलाई बाटो हिँड्ने कसैले पनि वास्ता नगरेर सम्वेदनाशून्य काम गरेको कुरामा केन्द्रित छ । दशौँ अनुच्छेदमा चाहिँ सहरका उद्दारकर्मीले मरणासन्न अवस्थाको बदामव्यापारीलाई भ्यानमा कोचेर लगेको देखाइएको छ । स–साना एघारौँ, बाह्रौँ र तेह्रौँ अनुच्छेदले सहरको बदाम व्यापारी पिट्ने केटाहरूमध्ये एकले ‘खाली शिशी पुरानो कागज’वालाको साइकल टिपेर भागेको र साइकलवाला ‘चोर चोर’ भन्दै लखेट्दै गर्दा कथा समाप्त भएको देखाइएको छ ।
३. कथानक
कथामा आएका घटनाहरूको नालिबेली वा रूपरेखा नै कथानक हो । कच्चा पदार्थ मानिने कथावस्तुलाई कथाकारले कथानकको कलात्मक साँचोमा ढालेर पूर्णता दिने काम गर्दछ । ‘सहर’ कथामा सहरको सूक्ष्म गतिविधि देखाइएको छ । सहरी सभ्यतामा पाइने असभ्यताको चिनारी दिइएको छ । नगररक्षकहरूदेखि बच्न साना पेटी पसलेहरूको बेलाबेलामा पीडादायी म्याराथुन दौडमा भाग लिनुपरेको विवशता देखाइएको छ । ‘आयो, आयो’को आवाजसँगै भागदौड हुँदा सडकका लुतेकुकुर पनि भीडको पछिपछि दौडेको हाँस्यस्पद प्रसङ्ग हेरेर हाँसिरहेको यस कथाको बदामव्यापारीको चरित्र चाहिँ गहन छ । ऊ पनि फिरन्ते व्यापारी हो । बदाम बेच्नु नै उसको दिनचर्या हो । ऊ दुःखलाई लुकाएर जिउन खोज्ने पात्र हो । उसले पकेटमारालाई चिनाइदिँदा मरणासन्न हुने गरी पिटाइ खानुपर्यो । उसलाई पिटेको देख्नेले कुनै प्रतिक्रिया देखाएनन् । सास छउँजेल आश रहन्छ भन्ठानेर होला व्यापारी म चोर हैन, यी पकेटमारहरूलाई चिनाइदिँदा रिसले मलाई भकुरिरहेछन्, मलाई बचाउनुस् भन्ने आशयका थुप्रै कुरा भनिरह्यो तर कसैले उसको कुरामा ध्यान दिएनन् । वैयक्तिक स्थार्थको जालोले बेरिएको सहर एक निर्धो मान्छेको उद्दार गर्न विउँझिएन । आफूले चिनेको बदाम व्यापारीलाई बाटो हिँड्ने कसैले पनि वास्ता नगरेर सम्वेदनाशून्य काम गरेको कुराले म’ पात्रलाई चिन्तित तुल्याउँछ तर ऊ पनि यथोचित भूमिका निर्वाह गर्न सक्दैन । केही समय पछि सहरका उद्दारकर्मीले मरणासन्न अवस्थाको बदामव्यापारीलाई भ्यानमा कोचेर लग्छन् । यसरी राम्रो काम गर्न खोज्ने पात्रले पीडाको आहालमा पौडिनुपरेको कुरा कथामा समेटिएको छ । पछि व्यापारी पिट्ने केटाहरूमध्ये केहीले ‘खाली शिशी पुरानो कागजवालाको साइकल टिपेर भागेको र साइकलवाला ‘चोर चोर’ भन्दै लखेट्दै गरेकोे देखाएर पिट्ने केटाहरू बदमास नै भएको पुष्टि गर्ने काम कथाकारले गरेका छन् । मुख्य पात्रसँग गाँसिएको कथा यत्ति नै हो ।
सहायक पात्रले भोगेका र घटाएका कुराहरूलाई अघि बढाउनु यहाँ मनासिव ठहर्दछ । थोत्रे हिरोहोण्डा मोटरसाइकलवाला सहायक पात्रले ‘आयो, आयो’ शब्द सुन्नासाथ ज्यान छाडेर भागेको देखाइएको छ । बन्द र हडतालका कारणले हल्ला चलेको भन्ठानी आफ्नो थोत्रे भए पनि हिरोहोण्डा जलाइनबाट बचाउनुपर्छ भनेर नै मोटरसाइकलवाला भागेको हो । देश बन्द र हडतालका कारणले आक्रान्त भएको देखाइएको छ । अर्को एक घटनामा काठमाण्डू सहरले पानीको अभावमा काकाकुल नियति भोगिरहेको देखाइएको छ । रातको दुई बजे ‘आयो, आयो’को आवाज आयो । पानी लिन धारामा पुग्दा क्षणभरमै पानी आउन बन्द भयो । पानीको अभावले मान्छेले भोग्नुपरेको व्यथालाई समेटेको छ । अर्को घटनामा ‘आयो, आयो’को आवाजसँगै साना व्यापारीहरूको भागदौड सुरु हुन्छ । अर्कातिर पार्कको एकान्तमा प्रेमालिङ्गनमा मस्त प्रेमिप्रेमिकाको लीलालाई पनि कथामा अटाएको छ । मान्छे पार्कमा छिरेकाले उनीहरूको एकान्त भंग हुन्छ । त्यसैले विपरीत दिशाको दौडाइमा उनीहरूले भाग लिनुपरेको छ । यसरी सहरमा केन्द्रित मेट्रो संस्कृतिलाई समेट्ने काम पनि कथाले गरेको छ । अर्को एक घटनामा गर्दन बाङ्गिएको मानिसको क्रियाकलापलाई समेटिएको छ । उसले आफ्नो बाङ्गो गर्दनको सहाराले हेर्दा आकाशतिर हेरिरहेको हुन्छ । उसको विवस परिस्थिति र वाध्यतालार्ई ध्यानमा नराखीकन मानिसहरू उसकै नजिक उभिएर ऊजस्तै आकाशतिर हेरिरहेका हुन्छन् । यसरी समाजको तीतो यथार्थलाई हाँस्यास्पद तवरले चर्चा गरेर कथाकारले हँसाउन पुगेका छन् । समग्रमा भन्दा सामाजिक यथार्थका पाटाहरूलाई शसक्त ढङ्गले समेटेर कथाकार धीरकुमार श्रेष्ठ पनि कथामनिषि गुरुप्रसाद मैनालीको आदर्शोन्मुख सामाजिक यथार्थवादको धारमा उभिन पुगेका छन् । समाजमा देखिएका दुर्बल पक्षलाई हटाउने चाहना र उद्देश्यका साथ कथाकार श्रेष्ठको मसी खर्च भएको कुरामा कसैको दुई मत रहँदैन ।
४. सहभागी र सहभागिता
समाजको सजीव चित्रणमा ‘सहर’ कथा केन्द्रित छ । कथामा आएका पात्रहरू मनग्यै छन् तर कुनै एक पात्रमा मात्र कथा रहन सकेको छैन । यो घटनाप्रधान कथा हो । घटना घटाउन र यथार्थलाई चित्रण गर्नमा आधारित रहेको कारणले पात्र केन्द्रित कथा हुन सकेको छैन । यस कथामा भएका पात्रहरू निम्न प्रकृतिका छन् ।
(क) उभयलिङ्गमा पर्ने पात्रहरू हुन् : नगररक्षकहरू, व्यापारीहरू, बटुवा, मान्छेहरू आदि ।
(ख) पुलिङ्गमा पर्ने पात्रहरू हुन् : थोत्रे हिरोहोण्डा मोटरसाइकलवाला पात्र, बदाम व्यापारी, म पात्र, प्रेमि, गर्दन बाङ्गिएको मानिस, पाकेटमार्ने मुन्द्रे केटाहरू आदि ।
(ग) स्त्रीलिङ्गमा पर्ने पात्रहरू हुन् : प्रेमिका, बहिनी आदि ।
यस प्रकार बदाम व्यापारी अनुकूल पात्र र पकेटमार्ने केटाहरू प्रतिकूल पात्रकारूपमा देखिएका छन् । अरू सबै जसो पात्रहरूको कार्यव्यापार आ–आफूमै केन्द्रित छ । उनीहरू गौण पात्रकै रूपमा आएका छन् । यसप्रकार सक्रिय भूमिकामा कमै मात्र देखिएका र कथामा सक्रियता दर्शाएका दुबै खाले सहभागीहरूको सहभागितालाई विश्वसनीय, सहज एवं यथार्थपरक ढङ्गले देखाउन खोजिएको छ ।
५. परिवेश
स्थान, समय र वातावरणलाई समेट्ने काम गर्ने कथाको एक तत्व परिवेशले कथानक र पात्रहरूलाई विश्वसनीय तवरले प्रस्तुत हुने आधार प्रदान गर्दछ । यो कथाको शीर्षकले नै कथा सहरीया परिवेशको हो भन्ने ठम्याउन सकिन्छ । टुँडिखेलको चर्चा र छेउछाउको अवस्थाको चित्रणले कथा काठमाण्डू केन्द्रित छ । यो कथा सानै समयावधिमा आधारित छ । काठमाण्डूका सडक पेटीमा छलिएर पिसाव फेर्ने मान्छेहरूको वाध्यता, विवसता र असभ्यताको मिश्रणको चर्चा, मौलाउँदै गएको मेट्रो संस्कृतिको ज्वलन्त नमुनाजस्ता पक्षहरू कथामा सशक्त ढङ्गले आएका छन् ।
६. उद्देश्य
प्रत्यक्ष वा परोक्ष उद्देश्यमा केन्द्रित रचनाले नै पाठकलाई गन्तव्य देखाउँछ । विना उद्देश्यको जीवन त बाँदरको पो हुन्छ, विना उद्देश्यको काम त पशुको पो हुन्छ भनिन्छ । त्यसैले ‘सहर’ कथाले परोक्षरूपमा राखेका उद्देश्यहरूलाई केलाउँनु यहाँ मनासिव ठहर्दछ । निमुखा वर्गको पीडादायी परिस्थिति, समाजमा गिर्दै गएको नैतिकता, ह्रासोन्मुख मानवीय सम्वेदना, सोझासीधालाई सताउने प्रवृत्ति, दण्डहीनताको ज्वलन्त नमुनाजस्ता पक्ष प्रस्तुत गरेर कथाले समाजको नाजुक पक्ष देखाएका छन् र तिनै कमजोरी हटाएर मानवताको जगेर्ना गर्न आह्वान् समेत गरेका छन् ।
७. दृष्टिविन्दु
घटनै घटनाले बनेको ‘सहर’ कथाका समाख्याता कथाकार नै रहेका छन् । उनको भूमिका तटस्स्थ छ । कथाकारले कथा पाठकलाई सुनाउँदै गरेको आधारलाई हेर्दा तृतीयपुरुष दृष्टिविन्दु हुन्छ । यस कथामा ‘म’ पात्र नै सर्वज्ञ भएर आएका छन् । कथामा घटनाको प्रस्तुति मात्रै छ, विश्लेषण गरेर पाठकले नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ । यस कोणबाट हेर्दा पाठकलाई असली न्यायाधीसका रूपमा कथाकार श्रेष्ठले स्वीकारेका छन् । यसरी सहरी सभ्यताको विकृत पाटोलाई आधार बनाइएको ‘सहर’ कथाले मानवीय मूल्य र मान्यता विरुद्धका कार्यका लागि खेद समेत प्रकट गरेको प्रतीत हुन्छ ।
७. भाषाशैलीय विन्यास
‘सहर’ कथामा छोटा तर अर्थयुक्त वाक्यको छनौट गरेर सरल, सहज र स्वभाविक कथ्य भाषाको प्रयोग गरिएको छ । अझ, सहरी सभ्यताको सजीव तस्विर प्रस्तुत गर्ने भाषा र शैलीको प्रयोगले कथालाई सुरुचिपूर्ण बनाएको छ । अतः सहज, स्पष्ट एवं स्वतःस्फूर्त प्रवाहमय भाषाशैलीय विन्यासको प्रयोगभएको कारणले ‘सहर’ कथा रोचक, घोचक, श्रवणीय र पठनीय बनेको छ ।
८. उपसंहार
नेपाली आख्यान विधामा निरन्तर कलम चलाइरहेका र विद्यालयस्तरका पाठ्यपुस्तक एवं साहित्यिक पत्रिकाहरूको सम्पादन, लेखन र प्रकाशन गर्दै आएका हुनाले स्रष्टा श्रेष्ठ एक श्रेष्ठ साहित्यसेवी भएको प्रमाणित हुन्छ । पाठ्यपुस्तकमा लेखिएका बालकथा, आरम्भ अर्थात् सुरुवात (कथासंग्रह ०६३), घुर (उपन्यास ०६४), जेब्रा क्रसिङ (सचित्र बालकथा) जस्ता कृतिमार्फत् एक कुशल कथाशिल्पीका रूपमा देखिएका छन् । ‘सहर’ कथामा भने विशुद्ध सहरीया परिवेशलाई कथात्मक संरचना प्रदान गरेका छन् । यसमा मानिसको निर्दयीपन, अभाव, छटपटी एवं बेचैनीलाई यथार्थपरक ढंगले प्रस्तुत गरेर कथाकार श्रेष्ठले कथा साहित्यमा एउटा इँट थप्ने काम गरेका छन् । त्यही कार्यको एउटा सानो नमुना ‘सहर’ कथा हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल : लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी,
फोन नं. ०३१५२००३८
सम्पर्क : ९८४२८२९२०६
