Skip to content

आधुनिक प्रविधिले सताउँदा

  • by


सोचिरहेको कुरा एउटा हुन्छ भइदिन्छ अर्कै । एकसुरमा हिंडिरहेको मान्छेको ध्यान गन्तव्यविन्दु मात्र हो । ऊ गन्तव्यविन्दुमा नपुगीकनै अन्यत्र पुग्यो भने उसको मनमा युद्ध गर्ने योद्धाहरू जन्मिन्छन् । कसैका हातमा भाला हुँदा हुन्, कसैका साथमा बम र बन्दुक । आखिरमा युद्ध हुन्छ नै । त्यस युद्धमा ऊ स्वयम् थकित हुन्छ र लत्र्याकलुत्रुक पर्छ । त्यसपछि भने पछुताउँदै पुनः गन्तव्य विन्दुतर्फ लाग्छ ।

त्यस्तै परिस्थितिलाई मैले पनि पिउनुपरेको छ । त्यस्तै अवस्थालाई पचाएर जिउँनुपरेको छ । कतै शब्दमा उन्नलाई शिर निहुर्याउनुपर्ने अवस्था वहन गर्नुपरेको छ । सास रहुँञ्जेल संसारको फेसनलाई नस्वीकार्दा पाखे भइएला कि भन्ने त्रास पनि बोक्नुपरेको छ । आजको मान्छे भएभरको भार थाप्लोमा बोकिरहेको छ । चाहिँदोभन्दा अचाहिँदो भारले मान्छे निसासिएको छ । त्यही सांसारिक भारले थिचिएर मान्छे नालायक बन्दै छ । नियम मान्छु भन्छ, अघि सर्छ । मान्न सक्दैन, पछि सर्न जान्दैन । अघि बढ्न पनि सक्दैन र बाटो नै मोडिदिन्छ । मोडिएको बाटोले गन्तव्यमा पुर्याउँदैन । त्यसपछि भने संसारले एक सच्चा मान्छे गुमाउन पनि सक्छ र बदलामा एक पाखण्डी पाउँछ । अतः नाफामा हुनुपर्ने संसार घाटामा पर्न आउँछ ।

मन गुमाएको वखतमा म पुगेँ । मेरो होस नै केही दिन गुम भयो । मनमा आँधी आयो, तुफान आयो । मनले मनसँगै युद्ध गर्यो । त्यस युद्धमा धेरै नासिएर, मासिएर गए । आखिर सत्य जे थियो पर्दा बाहिर आयो । आउनुपूर्व नै जे नहुनु थियो भइसकेको थियो ।

म निजी बोर्डिङ्ग स्कूलमा पढाउँने मान्छे, हुन त अचेल निजी क्याम्पसतिर पनि पिरियड पाएको छु । ठूला विद्वान्हरूका शब्द सापटी लिन्छु र भोलिका कर्णधार र आजका निमुखा विद्यार्थीवर्गमा वितरण गरिदिन्छु । मेरा मुखका शब्द पाएर उनीहरू पनि छक्क पर्छन् । सरसँग शब्द र भावका ठूल्ठूला खानी छन्, सबै अवस्थालाई पर्गेल्ने सीप र दक्षता छ भन्ठान्छन् । हाम्रो सर भनाउँदोको बुद्धि भुत्तो भएको छ, दिमाखमा भुस भरिएको छ, रातभरि नपढे दुई शब्द सुनाउन सक्दैन भन्ने कुरा विचाराहरूलाई के थाहा ? नौलोपन छैन, नौलो सिर्जना छैन । एउटा बूढो माझी बनेर नाउ तारिरहेछु, तर्नेहरू धेरैले गन्तव्यको दिशा पक्रिसके, थोरै मात्र भड्किरहेका छन् । दुबै पक्षलाई हेरिरहेको छु, भोगिरहेको छु । भएको कुरा यही हो कि म मुखले बक्ने मान्छे मात्र नभई, मस्तिष्कले लेख्ने मान्छे पनि हुन चाहन्थेँ । यसका लागि कसरत गर्दागर्दा एक दशक वितिसकेको थियो र पनि विशिष्ट ठाउँमा मेरो कलमी पौरखले कसैको मुहार हेर्न पाएको थिएन । मन धुम्म थियो ।

संसार नै घुसपैठ, सोर्सफोर्स, भ्रष्टचार र भनसुनले चलेको छ । त्यसभित्र नपस्ने र नफस्ने मान्छे विरलै होलान् । घरमा होस् या बाहिरमा । सहरमा होस् या गाउँमा । झुप्री होस् या महलमा । जताततै भ्रष्टचार मौलाएको छ, आर्थिक हिनामिनाको भ्रष्टचार नभए पनि नैतिक भ्रष्टचार अवश्य सर्वत्र छ । यही समाजको एक सदस्यको नाताले मैले पनि नैतिक भ्रष्टचारमा फस्ने इच्छा राखेँ । सोझो औँलाले घिउ नआएमा औंलो बग्याउनुपर्छ भन्ने कुरा बूढापाकाबाट सिकेको थिएँ । त्यसैले साहित्यिक पत्रिकाहरूको पूर्ण ठेगाना भेला पार्ने अभियानमा जुटेँ । साहित्यिक मित्र रामविक्रम थापा र पुन्य कार्कीको सहयोगले साहित्यिक पत्रकारिता क्षेत्रको गोजी पात्रो हात लाग्यो र मेरो खोज पूर्ण भयो । त्यसपछि धेरै पत्रिकामा रचना प्रेषण गरेँ । सबै रचनाको तल आफ्नो फोन नंं. र इमेल ठेगाना पनि लेख्न थालेँ । साहित्य जगत्का लागि दुर्गम भेगको मान्छे परियो । रचना प्रकाशन भएको वा नभएको, प्रकाशन योग्य रहेको वा नरहेको केही थाहा हुन्नथ्यो । साहित्यिक मान्छे बन्ने लालच बोकेको मान्छे त हुँ तर कतै केही बोल्नुपर्दा शिर निहुरिहाल्थ्यो । बेइमानको खेती त मैले पटक्कै गरेकै थिइनँ र पनि यस्तो किन लाग्छ ? भित्रभित्रै पाक्नुको विकल्प मसँग थिएन । समग्रमा न यत्ताको मान्छे, न उत्ताको मान्छे नै मै हुँ भन्ने निष्कर्ष निस्कन्थ्यो ।

एक दिन मेरो मोवाइलको घण्टी बज्यो । यसो हेरेँ ‘फित्कौली नरनाथ’ लेखिएको थियो । मलाई व्यक्तिको नामभन्दा थर र सम्पादकको नामभन्दा पत्रिकाको नाम पहिले याद हुन्छ । सोही बमोजिम पत्रिकाको नाम पछि मात्र सम्पादकको नाम लेख्ने गर्छु । ‘फित्कौली नरनाथ’बाट फोन आउँदा मन गद्गद् भयो । अब के भनेर बोल्ने ? के भन्न त्यत्रा ठूला हाँस्यव्यङ्गयकारले फोन गरेका हुन् ? त्यस्ता खुंखारले पक्कै पनि मननीय कुरा नै गर्लान् । तेस्रो आयाम कविता आन्दोलन सम्बन्धी जिज्ञासा शान्त पार्न कवि दुबसु क्षेत्रीले एक पटक फोन गर्नुभएको थियो । त्यसबेला पनि साहित्य क्षेत्रका मनग्यै कुरा थाहा पाइएको थियो । आज पनि हाँस्यव्यङ्गयकार नरनाथबाट मनग्यै कुरा सुन्न र सिक्न पाइने भयो भन्ने सोच्दै थिएँ । हिम्मत जुट्दै थियो । समय वितेछ । फोन मिस्ड कलमा परिणत भयो । क्षणभरमै मनमा पीडा वोध हुन थाल्यो । एकै क्षणमा सोही फोन पुनः आयो । रोमाञ्चित हुँदै फोन उठाएँ ।

‘हजुर, नमस्कार’

‘तँ के र को होस् अनि कत्ति पानीमा छस्, हामीलाई पूरापूरी थाहा छ । तँलाईं यही् धर्तीमा बाँच्नु छ भने होस्को दबाई खाएर काम गर् । हैन धर्तीबाटै सुइकुच्चा ठोक्नुछ भने आफ्नो मनमौजी गर । आफ्नो अहम्ता प्रदर्शन गर्दै हिँड् । मृत्युको मुख देखेको छैनस्जस्तो छ । यो अन्तिम चेतावनी हो, अब फुकीफुकी पाइला चालिनस् भने तँ नन्दलालको रूपमा कदापि रहँदैनस् । तँ नन्दलाल हैन गन्देलाल हुन्छस्, गन्देलाल, बुझिस् ? पहाडपर्वतका गुहेकिराहरू मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए….कुरो सुन्दै छस् हैन…?

मोवाइलमा अरू तथानाम सुन्नै सकिनँ । मन थाम्नै सकिनँ । फोन काटिदिएँ र स्वीच अफ गरी एक कुनामा फ्याकी दिएँ । कत्रो गल्ती गरिएछ । अर्काको लहैलहैमा लागेर मोवाइल किनियो । सबै साथीहरूले मोवाइल नम्बर मागेर हैरान पारेकाले दुई चार पैसाका दरले खाई न खाई जोगाएको रुपियाँ भेला पारेर मोवाइल किनेको थिएँ । आज त्यही मोवाइलको कारणले थामिनसक्नुको पीडा गरायो । मैले सोचविचार गरेर नै ‘फित्कौली’लाई रचना पठाएको थिएँ । हाँस्यव्यङ्गयको नियममुताविक नै रचना सिर्जेको थिएँ त । यस्तो गाली खाने काम त मेरो रचनाले पक्कै गरेको थिएन । साहित्यिक मित्र इन्द्रकुमार श्रेष्ठले ‘फित्कौली’को ठेगाना उपलव्ध गराएर र रचना पठाउन प्रोत्साहन गरेकाले मात्र पठाएको थिएँ । फेरि रचना प्राप्त गरेकै आधारमा यस्तो उग्र रोष किन आउँनुपथ्र्यो ? कि यी राजधानीका सम्पादकहरू गाउँठाउँका कलमजीवीहरूका रचनाहरूलाई फुटेका आँखाले पनि हेर्न सक्दैनन् ? त्यत्रा ठूलाबडा मान्छेले मजस्तो झुत्रे मान्छेलाई गालीगलौज गर्नु किमार्थ उचित हैन । कि यो पनि एक प्रकारको हाँस्यव्यङ्गयात्मक कुराकानी गर्ने शैली हो ? यस्तै नाना थरीका विचारहरू तँछाडमछाड गर्दै मडारिरहे । पत्रिकालाई प्रेषण गर्न भनी ठीक्क पारेका आधा दर्जन रचनाहरूको जरो नै नराखी च्यातचुत पारी अगेनामा हालिदिएँ । ज्यान नै जाने कुरो सुने । अब बाँकी नै के रह्यो र ? पछि सामथ्र्य पुगेछ भने जवाफ फर्काउँला भनेर चित्त बुझाउने कोशिस गरेँ । साहित्य क्षेत्रकै विद्यार्थी भए पनि मलाई त्यस बेला एलर्जी भो साहित्य । मोवाइलको त मुहारै हेर्न मन लागेन ।

दुई दिनपछि मेरा मित्र अभितकुमार चौधरी मेरो डेरामा आएर मोवाइल स्वीच अफको कारण खोतल्न थाले । मैले वृतान्त बताएँ । ठूलाबडा मान्छे कैँटे हुन सक्छन् तर सानातिना मान्छेलाई थर्डक्लासको गालीगलौज गरेर तर्साउने बानी उनीहरूको हुँदैन भन्ने कुरा उनले बताए । मोफसलले नै साहित्य क्षेत्रको ठूलो हिँस्सा ओगटेको कुरा उनीहरूलाई पनि थाहा छ भन्दै उनी बाहिरिए ।

उनी गएपछि अन्तिम वाक्य पुनः सम्झन थाले–पहाडपर्वतका गुहेकिराहरू मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए….कुरो सुन्दै छस् हैन ? फित्कौलीका सम्पादक नरनाथ मैदानवासी त हैनन् । यदि भए पनि उनमा पहाडपर्वतप्रति श्रद्धा त अवश्य हुनुपर्छ । उनले त्यसो भन्नै नसक्नु पर्ने हो । के उनकै मोवाइलबाट आएको हो त ? फेरि शंका उब्जियो । मोवाइल स्वीच अन गरेँ । मैले सेभ गरेको नम्बर थियो ‘फित्कौली नरनाथ’को नाममा ९८४१५२१७४८ । पछि थाहा पाएँ । गालीगलौजको स्वर सुनिएको रहेछ ………. (यस खालि ठाउँमा कुन नम्बर लेख्दा उक्त झमेला आउने अवस्था हुन्छ ? कमन सेन्सले आफै बुझ्न आग्रह गर्छु ।) बाट । कुरो बुझ्दै जाँदा शिक्षणरत् रहँदा एउटी छात्रा मदेखि रिसाइछिन् र गुण्डा केटाहरूलाई मलाई धम्क्याउन पठाइछिन् । त्यो नम्बर पनि एउटा पसलेको रहेछ । कसले, कहिले, कसलाई, के भनेर फोन गर्छ त्यसको हेक्का राख्न नसकिने कुरा पसलेको मुखबाट सुन्न पाउँदा म छाँगाबाट खसेजस्तो भएँ । काम कुरो पहिले नै बिग्रिसकेको थियो । यो मोवाइल महिमाले मेरो मनमा ठूलो हलचल ल्याइदियो । रचना खरानी भए, फित्कौली र सम्पादक नरनाथका नाममा साहित्य क्षेत्रमा वितृष्णा जाग्यो । वितृष्णालाई तृष्णामा परिणत गर्न हम्मे पर्यो । कुरो नबुझीकनै मनमा आँधी ल्याउँदा पछुतो लाग्यो, पछुताइरहेको छु । जे भए पनि साहित्यिक धार नछाड्ने अठोट लिएँ, लिइरहेको छु ।

नन्दलाल आचार्य
तपेश्वरी १, गल्फडिया, उदयपुर

०६६/१०/२३ शनिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *