साहित्य अनि समाज
पारसमणि शम
साहित्य संस्कृत शब्द हो अनि यो शब्द सहित-बाट बनेको बताइन्छ। साहित्यको व्युत्पतिलाई संस्कृत साहित्यका आचार्यहरूले हितेन सह सहितः तस्य भावः साहित्यम् भनेर देखाएका छन्। जसको अर्थ कल्याणकारी भाव नै साहित्य हो।
साहित्यले जीवन र जगतको कल्याण चाहेको हुन्छ। साहित्यमा सहितको भाव हुन्छ, जसले लोक जीवनको कल्याणकारी भावनालाई सम्पादन गरेको हुन्छ। यसैले साहित्यमा शब्द र अर्थको योगका साथसाथै लोक कल्याणको भावना पनि हुन आवश्यक छ। संस्कृतमा सहित शब्दका दुई अर्थ लाग्दछन् स्वभाव र हितयुक्त। जसको अर्थ स्वभाव र हितको सन्तुलित रूप नै साहित्य हो।
साहित्य शब्दको व्युत्पतिले नै यसलाई लोकसॅंग जोडेको छ। लोक अर्थात् समाज। लोक साहित्यमा लोकको अर्थ व्यापक र विस्तृत छ। तर हामी यसलाई साधारण अर्थमा समाज भन्न सक्छौं। यो संसार नै एउटा समाज हो। यसैले साहित्यले समाजको हितको कामना गरेको हुन्छ। यदि समाज शारीर हो भने साहित्य त्यसको आत्मा हो। साहित्य मानिसको मस्तिकबाट उत्पन्न हुन्छ भने मानिस समाजको अभिन्न अङ्ग हो। जन्मदेखि मृत्युसम्म मानिस समाजबाट अलग हुनसक्दैन। उसको पालन -पोषण, शिक्षा- दीक्षा तथा जीवनको निर्वाह समाजबाट नै हुन्छ। मानिसले समाजमा रहेर अनेक प्रकारका अनुभव ग्रहण गर्दछ र जब उसले आफूलाई प्राप्त अनुभूतिहरूलाई शब्दद्वारा अभिव्यक्त गर्दछ तब त्यो साहित्य बन्नपुग्छ। अभिव्यक्तिको यही शक्तिले त्यस व्यक्तिलाई साहित्यकार बनाइदिन्छ। अत: जस्तो समाज हुन्छ त्यस्तै साहित्यको सिर्जना हुन्छ। जस्तो साहित्य हुन्छ त्यस्तै समाजको झलक त्यसमा देखिन्छ। साहित्य र समाजको सम्बन्ध युगौंदेखि रहॅंदै आएको हो। अर्को अर्थमा भन्नु हो भने साहित्य र समाज एउटै सिक्काका दुई पाटा हुन्, जो एका अर्का बिना पूरा हुनसक्दैनन्। साहित्यको सिर्जना समाजको लागि हुन्छ अनि समाजले नै साहित्यको सिर्जना गरिरहेको हुन्छ। यसैले त भनिन्छ साहित्य समाजको दर्पण हो।
साहित्यको सिर्जना मानव मनभित्र हुन्छ किनभने यो एउटा कला हो। कला अन्तरआत्ममा सिर्जना हुन्छ अनि यो कल्पनाद्वारा पूर्ण हुन्छ। तर मान्छेले कल्पना जीवन र जगतको अनुभवबाट प्राप्त गर्दछ अनि त्यो अनुभव समाजबाट प्राप्त हुन्छ। मानिस सामाजिक प्राणी हो अनि यसले समाजबाट प्रत्येक पल नयॉं नयॉं अनुभवहरू प्राप्त गरिरहेको हुन्छ। यी प्रत्येक अनुभवहरूलाई कल्पनाका माध्यमद्वारा मानिसले आफ्नो कलालाई सिर्जित गर्दछ यसैले त प्रसिद्ध ग्रिसेली आचार्य एरिसटोटलले साहित्यलाई जीवन र जगतको अनुकरण मानेका छन्। उनको मतानुसार साहित्य जीवन र जगतको नकल हो। जीवन र जगतमा भइ आएका घटनाहरूलाई साहित्यकारले आफ्नो कलाकारिताद्वारा नकल गरेर फेरि त्यही समाजमा फर्काइदिन्छन्।
साहित्यकार जुन समाज एवं वातावरणमा रहन्छ त्सस समाज एवं वातावरणका सबै स्थितिहरूले उसलाई सदा प्रभावित गरिरहेको हुन्छ। साहित्यको सामग्री समाज हो भने रचनाकारले केवल आफ्नो दृष्टिकोणद्वारा त्यसलाई व्यक्त गरिरहेको हुन्छ। जसबाट समाजको हित हुने गर्छ। साहित्यकारले आफ्नो रचनामा जे पनि समाजलाई दिन चाहन्छ त्ससलाई बढो चतुरतासित प्रस्तुत गर्दछ। उसले समाजका हरेक दुःख-सुख एवं समस्याहरूको चित्र समाजसामु प्रस्तुत गर्दछ। समाजको उत्थान-पतन, समाजको रीती-रिवाज, आस्था एवं संस्कृतिले स्पष्ट रूपमा साहित्यमा आफ्नो प्रभाव पारिरहेकै हुन्छन्। साहित्य पनि समाजको परिवर्तित स्वरुपसितै परिवर्तन हुँदै जान्छ।
आधुनिक सन्दर्भमा पनि साहित्य र समाजको परस्पर सम्बन्ध रहेको हुन्छ। दुवै एकार्काका लागि सिर्जित छन्। समाजमा भएका विसङ्गति र विकृति, प्रगति, उपलब्धि, अभाव, विसमता, समानता, सौन्दर्यता, प्रेम, स्नेह, मातृत्व, भातृत्व, देशप्रेम, विश्ववन्धुत्व जस्ता विविध पक्षहरूलाई साहित्यकारले आफ्नो साहित्य सिर्जनामा सिर्जित गरेको हुन्छ, जो नितान्त लोकहितका लागि रहेको हुन्छ।
जुन प्रकारले समाजको प्रभाव साहित्यमाथि पर्छ त्यस्तै साहित्यको प्रभाव समाजमाथि पनि परिरहेको हुन्छ। किनभने कवि अथवा लेखकले समाजको प्रतिनिधित्व गरिरहेका हुन्छन्। अत: उनीहरूले समाजलाई आफ्नो नवीन विचार प्रदान गरिरहन्छन्। जब समाजमा कुनै समस्या हुन्छ, समाजमा जीवन मूल्यको पतन हुनथाल्छ तब साहित्यले त्यसलाई हटाउन महत् भूमिका निर्वाह गरिरहेको हुन्छ। यस्तो बेला साहित्यकारहरूले समाजलाई नयॉं बाटो देखाउने काम गरिदिन्छन्। साहित्यद्वारा राजनीतिक, सामाजिक एवं सांस्कृतिक परिवर्तन भएको हामी पाउँछौं। आज विश्वमा धार्मिक कट्टरता, सम्प्रदायिकता, अलगाववाद तथा आतंकवाद जस्ता गम्भीर समस्यहरूको विनाशका लागि साहित्य प्रत्यनशील रहेको छ।
साहित्यकारले साहित्यको सिर्जना आफ्नो स्वार्थ पूर्तिका लागि गरेको हुँदैन। उसको सिर्जना समाजको उपयोगका लागि हुन्छ। चाहे त्यो ऋग्वेदका ऋचाहरू हुन्, चाहे त्यो वेदव्यासको भागवत् गीता होस्, बाल्कमिकीको रामायण, शेक्सपियरका नाटक, एरिस्टोटलको काव्यशास्त्रनै हुन् ती सबै समाजको उपयोग अनि मार्गदर्शनका लागि सिर्जना गरिएका छन्। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले रामायणको थालनीमा नै लेखेका छन् लोक्को गरूँ हित् भनी।
भानुभक्तले समाजको कल्याणका लागि रामायणको सिर्जना गरेको उनको पहिलो श्लोकबाटै स्पष्ट हुन्छ। रामायणको सिर्जना उनले गरेर छोडिदिए अनि त्यसलाई मोतिराम भट्टले भेला गरेर प्रकाशन गरिदिए। त्यसपछि त नेपाली समाजमा आमूल परिवर्तन आयो। भानुभक्तको रामायण पढ्नका लागि मानिसहरूले शिक्षार्जन गर्न शुरू गरे, जसद्वारा नेपाली समाजमा शिक्षाको व्यापक प्रचार प्रसार भयो अनि समाजमा चेतना जग सिर्जना भयो। यसबाटै साहित्यको सिर्जना लोक हितका लागि हो भन्ने कुरो स्पस्ट हुन्छ।
साहित्य सिर्जनाका लागि साहित्यकारले विषयवस्तुहरू समाजकै विभिन्न पक्षहरूबाट टिप्ने गरेका हुन्छन्। चाहे त्यो ऐतिहासिक , पौराणिक एवं सामाजिक विषयवस्तु किन नहोस्। यी सबै विषय वस्तु समाजमै सिर्जना हुन्छन् अनि यसैबाट साहित्यकारले आफ्नो दृष्टिकोणद्वारा समाजलाई त्यसको मूल्याङ्कन र विश्लेषण गर्ने अवसर प्रदान गर्दछ। वास्तवमा साहित्यकारले समाजका प्रत्येक घट्नालाई गहिरो दृष्टिले हेरेको हुन्छ। प्राचीनकालदेखि आजसम्म नै साहित्यकारले समाजको प्रत्येक परिवर्तनलाई हेर्दै आएका छन्। यसैले साहित्यको सिर्जना अनि समाजको भूमिका एकाअर्कामा सम्बन्धित हुन्छन्।
प्रत्येक समाजको आ-आफ्नै रहन-सहन, परम्परा, संस्कृति र संस्कार अनि इतिहास रहेको हुन्छ। तर साहित्यले यी सबैकुरालाई समेटेर प्रत्येक समाजका घटनालाई अर्को समाजसित साट्ने गर्दछ। शेक्सपियरका नाटकहरू, बाल्जाकका कथाहरू, लियो टाल्सटायका कथाहरू, मेक्सिम गोर्कीका उपन्यासहरू, ओ. हेनरिका कथाहरू, वर्ल्ड ह्विटम्यानका कविताहरू, शेली र किट्सका कविताहरू, तस्लिमा नस्रिनका उपन्यासहरू, प्रेमचंदका कथाहरू, रविन्द्रनाथका कविताहरू, बालकृष्ण समका नाटकहरू, लक्ष्मीप्रसाद देवकोटाहरू कविताहरू, ध्रुवचन्द्र गौतमका उपन्यासहरू, इन्द्रबहादुर राईका कथाहरू सबैलाई नै हेर्दा हामीलाई स्पष्ट भईहाल्छ, साहित्य र समाजको सम्बन्ध। यी सबै साहित्य सिर्जनाहरूमा समाजका विभिन्न घटनाक्रमलाई लेखकीय अनुभव र कल्पनाद्वारा सिर्जना गरिएका छन् अनि त्यसले समाजमा आमूल परिवर्तनको लहर लिएर आएको छ। यसैले समाजको उन्नति र विकासमा अनि मानव सभ्यताको विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ।
साहित्यले जहिले पनि मानिसलाई सकारात्मक बन्ने प्रेरणा दिइरहेको हुन्छ। यसले समाजका लागि मानिसलाई केही गर्ने उत्प्रेरणा प्रदान गर्दछ। राष्ट्रप्रेमको भावना जागृत गराउँछ अनि बसुदैव कुटुम्भकमको भावना विकसित गराउँछ। यो संसार मानव समाजको घर हो अनि यसमा मानव समाजले के कस्तो भूमिका निर्वाह गर्दा समाजको कल्याण गर्दछ त्यही कुरो बताइरहेको हुन्छ।
आफ्नो साहित्य सिर्जनामा विषय वस्तुका अतिरिक्त पात्रहरू पनि लेखक साहित्यकारहरूले समाजबाटै चुनेका हुन्छन्। समाजबाट टिपिएका पात्रहरूले एउटा विशेष समाजलाई प्रतिनिधित्व गर्नका साथै कतिपय पात्रहरू विश्वजनिन बन्नपुग्छन्, जसले समाजलाई कुनै न कुनै सन्देश दिइरहेका हुन्छन्।
कुनै पनि समाजलाई नजिकबाट चिनाउने माध्यम नै साहित्य हो। प्राचीन भारतको वैभवपूर्ण संस्कृतिलाई वेद, पुराण, रामायण, महाभारतजस्ता साहित्य सिर्जनाले चिनाएको छ भने ग्रीसेली सभ्यतालाई ओडिसी र इलियटजस्ता ग्रन्थहरूले चिनाउने काम गरेको छ। समाज र साहित्य मानव सभ्यताका ती पक्ष हुन् जो एका-अर्काबिना पूरा हुनसक्दैनन्। अतः कुनै एउटा पक्ष कमजोर बन्यो भने त्यस समाजको उत्थान र प्रगतिको क्रममा रोक लाग्छ भन्नसकिन्छ।
