बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।
त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो ।
त्यस दिनदेखि तामा चोरिन थाल्यो । बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभयो । बच्चा रुन सुरु गर्दा हामी सबै कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थ्यौ ।
केही दिनसम्म यही क्रम दोहोरिरह्यो । तामाहरू चोरिँदा भए । दुम्सी मार्न बाँस झाँङ नजिक ठूलो खाल्डो खनियो । र, त्यसलाई टाँड पारेर हरिया झारपातले छोपियो । दुम्सी त्यसलाई सामान्य जमिन ठानेर भ्रममा पर्छ र खाल्डोमा खस्छ भन्ने ठानिएको थियो । साँझमा बुबा गाई दुहनुहुँदैथ्यो । बच्चा रुन थाल्यो । आमाले मलाई घरभित्र पसाउनुभयो । बुबा पनि हत्त न पत्त घरभित्र छिरिहाल्ने दाउमा हुनुहुन्थ्यो ।
त्यत्तिकैमा बाँसघारीबाट आवाज आयो– ‘मरेँ, मरेँ, बचाऊ, बचाऊ ! ए बासुदेवका बाउ ! मलाई बचाऊ ! गुहार बचाऊ ….!’
के भएछ भनेर आगोको अगुल्टो हातमा लिएर बुबा दौडिनुभयो । पहिले तामा माग्ने मान्छे पो खाल्डोमा खसेको रहेछ ।
