Skip to content

सम्झौताको कठपुतली(लघुकथा )


जवान हुँदै गएपछि प्रदिपको हजुरबुबासँग विद्रोह गरी प्रदिपको बुबा अमरले क्रान्तिकारी सिद्धान्त अपनाई समाजलाई कुनैपनि हालतमा परिवर्तन गर्ने सोच बनाएको थियो । अमर कुनैपनि कुरामा सम्झौता नगरी आफ्नो सिद्धान्तमा अडिग रहेर जिइरहेको थियो । जब अमरको बिहे भयो, प्रदिप जन्मियो, प्रदिपका भाइबहिनीहरू जन्मिए, यस्तो प्रक्रिया हुँदै गर्दा अमरले आफ्नो सिद्धान्तलाई वलिदान दिँदै गयो र ऊ पनि सम्झौताको कठपुतली हुनथाल्यो ।

समयले कोल्टे फेर्दै गयो ।

प्रदिप पनि जवान भइसकेको थियो । उसले पनि आफ्नो बुबासँग विद्रोह गर्यो । समाजलाई कुनैपनि हालतमा परिवर्तन गर्ने सोच बनायो । उसले पनि समाजका कुनैपनि यथास्थितिवादी सोचहरूसँग सम्झौता नगरी धेरै–धेरै सङ्घर्ष गर्नथाल्यो । जब प्रदिपको बिहे भयो, छोराछोरीहरू हुनथाले, परिवारप्रति आफ्नो दायित्वहरू बढ्दै गयो, उसले पनि क्रमशः क्रान्तिकारी सिद्धान्तलाई विस्तारै–विस्तारै तिलाञ्जली दिँदैगयो र आज ऊ पनि सम्झौताको कठपुतली भएको छ ।

२०६९—०५–०५ ( लघुकथा दिवसको अवसरमा )
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *