Skip to content

जद्दी कविको जिद्दी बालक
पारसमणि शम

कविताले आफ्नो परिभाषा आफैं गरिरहेको हुन्छ| आजको प्रयोगधर्मी कविता युगमा कविताको परिभाषा कसैले पनि दिन सक्दैन| यसैले कविताहरूले आफ्नो परिभाषा आफ्नै प्रकारले दिइरहेका हुन्छन्| यस अर्थमा भन्नु हो भने कविताहरूका अनेकौं परिभाषा आज हामीमाझ छन्| कविता वास्तवमा आज छुट्टै र सशक्त साहित्यिक विधा मात्र नरहेर विश्‍वका विभिन्न सत-असत वर्णन गर्ने अनि भावना र कल्पनाका माध्यमद्वारा कविले आफ्नो मात्र होइन समस्त विश्‍व कै अभिव्यक्त गर्ने माध्यम बनेको छ| आज कविता वैयक्तिक विषय रहेन| कविता आज सार्वजनिक विषय भएको छ| हो, कविताको सिर्जना एउटा निर्दिष्ट कविले गर्दछ तर त्यो कविको नितान्त व्यक्तिगत अभिव्यक्ति भएर पनि त्यो उसको अभिव्यक्ति हुँदैन| त्यो सार्वजनिक अभिव्यक्ति हुन्छ, त्यो विश्‍वको अभिव्यक्ति हुन्छ| कविता कसैको पेवा हुँदैन| कविता कविको पैतृक सम्पत्ति होइन अनि त्यो उसक ो आफ्नै पेवा पनि होइन, तर कविताले मान्छेका मनहरूलाई चिरेर कविलाई ती मान्छेका मनहरूसम्म पुर्‍याउने अनि कविको छाप छोड्ने माध्यम बन्नेगर्छ| निबन्धमा झैं कवितामा हिजोआज कविको व्यक्तित्वको छाप पनि पाइन्छ र हुनु पनि पर्छ| आजको कविता हिजोको कवितासँग पटक्कै मिल्दैनन्|
आज कै कविताको सन्दर्भमा कुरा गर्नुपर्दा सिक्किममा विगत एक दशकदेखि सक्रिय रूपमा कविता लेखन क्षेत्रमा रहेका अनि समस्त नेपाली साहित्यमा नै एउटा स्थान बनाउने कोशिश गरिरहेका युवा कवि भीम ठटालका कविताहरूको प्रसङ्ग आउँछ| भीम ठटालले आफ्ना कविताहरूलाई आफ्नो पेवा बनाएका छैनन्| सॉंच्चै भन्नु हो भने उनका कविताले अङ्गिकार गरेका विषयवस्तुहरू समस्त विश्‍वका आम मानिसको विषयवस्तुहरू हुनेगर्छन्| कवितालाई एउटा छुट्टै स्वाद र गोरेटो दिने कोशिश गरिरहेका भीमका कविताहरूले नेपाली साहित्यका पाठकहरूलाई एउटा अलग्गै स्वाद दिइरहेका छन्| हुनसक्छ, यसअभियानमा कवि भीमलाई निकै लामो समय लाग्नसक्छ तर उनको अभियान भने जारी रहेको देखिन्छ| कुनै पनि कविले पाठकहरूको हृदयमा एउटा छुट्टै छाप बनाउने प्रचेष्टाका लागि लामो समय कुर्नुपर्ने हुन्छ तर यसको विपरीत कवि भीमले आफ्नो नयॉं तथा पहिलो कविता संग्रह जिद्दी बालक-बाटै यसो गर्न सकेका छन्|
हालै कविता भनेपछि हुरुक्कै हुने कवि भीमको नयॉं कविता संग्रह जिद्दी बालक बजारमा उपलबद्ध भएको छ| कविता संग्रहको शीर्षक जिद्दी बालक झैं कवि भीमले पनि आफ्नो पहिलो कविता संग्रह प्रकाशनमा निकै जिद्दी गरेकाले नै होला यसमा धेरै प्राविधिक कमजोरीहरू छर्लङ्ग देखा परेका छन्| कविता संग्रह निक्कै हतारमा प्रकाशन गरिएकोले पनि यसमा शुद्धा- शुद्धीमा कवि भीमका आँखा नपुगेको देखिन्छ| तर यसको अर्थ कविता संग्रह स्तरीय छैन भन्ने चाहिँ होइन| कवितामा प्राविधिक कमजोरीहरू अनि केही छुट पुट शुद्धाशुद्धीको कमजोरीले पाठकको कविता ग्राह्य क्षमतालाई कतै पनि प्रभाव पार्दैन| यसैले कवि भीमको यो नयॉं कविता संग्रह जिद्दी बालक भित्रका कविताहरूमा हामी धेरै कुरो पाउँछौं, जसका लागि हामीले संग्रह नपढ़ी हुँदैन|
कवि भीम बिम्ब र प्रतीकलाई हत्केलामा कुनै प्रेमीकाले प्रेमीले दिएको गुलाफको फूल खेलाए झैं अनि त्यसलाई माया गरेर छात्तीमा टँसाए झैं आफ्ना कविताहरूमा खेलाउँछन् अनि छात्तीमा टसाउँछन्| यो उनको कविता धर्मिताको सफलपक्ष हो| बिम्बको प्रयोग गर्न खप्पिस बनिसकेका कविको कविताभित्र हामी पाठक झ्वाम्म डुबुल्की मारेर पौड़ी खेल्न सक्छौं अनि सहजै समुद्रपार पनि हुनसक्छौं| उदाहरणार्थ एउटा कवितै हेरौं-
मैले सबैलाई चबाइसकेको छु|
ब्रह्मालाई मैले चबाएको छु|
जब मलाई सुपारीको तल्- तल् लाग्छ;
विष्णुलाई चबाइसकेको छु मैले
पानको पात्को जब मलाई रहर चल्यो,
महेशलाई चबाएको मैले छु
चुनाको स्वाद लिने जब मन भयो मलाई|
आज मैले धेरै दक्षता प्राप्त गरेर
यी तिनैवट्टा वस्तुहरूलाई एकैचोटी चबाएको छु
बनारसी पानसँगै; अत्तर छरेर
अनि खयरले रात्तिएका रगतहरू मैले
ब्रह्मा, विष्णु र महेश पानका रहल अपच टुक्राहरूसँगै प्याच्च थुकेको छु-
घिनलाग्दो तवरमा-
जसरी कुनै जमानामा मलाई नालायक छोरो सम्झी
मुखैमा खकारेका थिए|
(पर्मात्मा)
उनका कवितामा हामी मानिसका मनभित्रका अनेकौं भावनात्मक पक्षहरू देख्न पाउँछौं| उद्वेग, उच्छवास, सहिष्णुता, करूणा, लोभ, मोह, ईर्ष्या, द्वेष, राग, प्रेम, ममता, घृणा, अपेक्षा, उपेक्षादेखि लिएर आशा निराशा अभिलाशासम्म नै हामी पाउँछौं| अर्कोपक्ष हामी के पाउँछौं भने कवि भीमका कविताहरूमा तीव्र व्यङ्ग्य| त्यो व्यङ्ग्य कुनै मानव समाजप्रति हुनसक्छ, कुनै व्यवस्थाप्रति हुनसक्छ, कुनै राजनीतितर्फ हुनसक्छ तथा त्यो कुनै पनि परिवारप्रति हुनसक्छ अनि नितान्त व्यक्तिवादी पनि हुनसक्छ त्यो छुट्याउने काम पाठकको हो, कविको होइन| यसैले कवि भीमका कविताहरू सार्वजनिक हुन् भनेर भनिएको छ| उदाहरणार्थ-
सड़कमा सधैं बिहान मज्दुरी दोब्बर हुने
आशाका मलामीहरू नाली सफा गर्छन्|
( परेवा र पोष्टर)
कवि भीमका १०० कविताहरूको यस संग्रहमा विश्‍वजनिन विषयहरू समावेश छन्| आजको विश्‍वका तमाम विषयवस्तुहरूलाई आफ्नो यस कविता संग्रहमा अटाउने प्रचेष्टा गरेर त्यसलाई विश्‍वको कविता बनाउने कोशिश गरेका छन्| आजको विश्‍वका विभिन्न समस्याहरूलाई, विश्‍वमा दिनप्रतिदिन भइरहने घटनाक्रमलाई साथसाथै विश्‍व राजनीति, अर्थजगत, सांस्कृतिकवाद, हैकमवाददेखि लिएर परिवर्तनका द्योतकहरू अनि इतिहासका पाटाहरूलाई कविले जुन प्रकारले प्रस्तुत गरेका छन्त्यसलाई हामीले एकपल्ट नहेरी हुँदैन|
कविका कवितामा आञ्चलिक स्वरहरू पनि जत्ताजत्तै छछल्किएका छन्| प्रकृति प्रेमदेखि लिएर जाति प्रेम अनि त्यो भन्दा पनि माथि मानवप्रेम उनका कवितामा पाइन्छ|
कवि कविता संग्रहमा आफ्नो विषयमा पनि केही भन्ने जिद्दी गर्छन्| भीम ठटाल (१९९९)- नामक कवितामा कवि भन्छन्-
म एउटा गुरूबाबु हुँ!
सत्य, भविता, तथ्य, दृष्टिकोण
सामान्य ज्ञान, प्रश्‍न, श्रेष्ठता पाइएछ!
दृष्य, सुन्दरता, कल्पना, गुमाइएछ
आहा! शताब्दीमात्र कहॉं हो र
उमेरसँगै स्वयंलाई गुमाइएछ|
समग्रमा भन्नुपर्दा भीम ठटालका यी सय कविताहरूले कविताका पाठकहरूलाई आजको विश्‍वमा देखा परेको कवितात्मक प्रयोगधर्मितालाई चिन्ने सानो अवसर दिनेछ अनि विश्‍वका विभिन्न कवितात्मक दृष्टिकोणलाई आ-आफ्नै तरिकाले हेर्न सिकाउनेछ| आज कविताको व्याख्या र विश्‍लेषण गर्न नसकिने युगमा कविले कुन परिदृष्यमा कविताको सिर्जना गरे अनि त्यो पाठकले कुन समयमा के कस्तो वातावरणमा कुन मनस्थितिले अध्यययन गर्दछ त्यसैमाथि कविताको अर्थ र त्यसमा प्रयुक्त विषयवस्तुहरू निर्भर हुने गर्छन्| एउटाले पढ़ेको कविता अर्को व्यक्तिलाई मन नपर्न सक्छ, एउटाले राम्रो छ भनेको कविता अर्कोले नराम्रो छ भन्नसक्छ, एउटाले एउटा अर्थ निकालेको कवितामा अर्कोले अर्कै अर्थ खुट्याउनसक्छ| यसैले कविताका विषय अनेक छन् अनि अर्थ अनेक छन्| सॉंच्चै भन्नु हो भने आज धेरै पछि एउटा हृदय ग्राह्यीय कविता संग्रह हामीमाझ उपस्थित छ|
कृति- जिद्दी बालक
विधा- कविता संग्रह
कवि- भीम ठटाल
प्रकाशक- कवि स्वयं
संस्करण- प्रथम, मार्च २००६
मूल्य-रु. ५०/-
पृष्ठ-१२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *