Skip to content

प्रिजमभित्रका जुमेलीका कविता

प्रिजमभित्रका जुमेलीका कविता
पारसमणि शम

जहॉं पुगेर मनको आगो फूल बनिदिन्छ
बतासको भाका र खोलाको स ल ल ल बनिदिन्छ
बनिदिन्छ रूखको सुस्केरा,
त्यो लोकमा मेरो शब्दको हलो चल्छ
अहा, त्यहीं नै मेरो कर्मको दीयो बल्छ|
-मेरो श्रम शिविर
कविलाई सृष्टिकर्ता भनिन्छ| आफ्नो मनका कल्पनाले कविले आफ्नै लोक बनाउँछ यसैले त होला हामी पूर्वकाहरू कविलाई ब्रह्म भन्छौं| नेपाली कविता साहित्यको प्रसङ्गमा प्रविण राई जुमेलीले आफ्ना मनका आगोका फिलुङ्गाहरूलाई जुन कलाकारिताले फूल बनाएका छन् ती फूल खुल्ला आकाशमुनि फुलेको सुन्दर डेलिया झैं मुस्कुराएका छन्, उनको नयॉं कविता संग्रह इम्पास्टो अक्षर-मा| लगभग एक दशकपछि उनको यो दोस्रो कविता संग्रह हो, पाठकका हातमा पुगेको| यसभन्दा अघि सन् १९९५-मा प्रकाशित उनको कविता संग्रह घाउका आवर्त्तहरू-ले नै उनलाई एक प्रबुद्ध कविका रूपमा चिनाइसकेको छ| सिर्जना निरन्तर रूपमा फस्टाएर जाने कुरो हो| उनको यो नयॉं कविता संग्रहभित्रका कविताहरूले प्रवीण राईलाई नेपाली साहित्यका एक प्रबुद्ध कविका रूपमा कुनै शंका बिनै प्रमाणित गरिदिएको छ|
मूलतः ७ खण्डमा विभाजित यस संग्रहलाई नाम दिने पहिलो कविता इम्पास्टो अक्षरहरू-मा उनले जुन प्रकारले कवितात्मक रङ्ग पोतेर त्यसलाई शब्दहरूले संवेदनशील प्रकारले रङ्ग्याएका छन्| त्यसमा उनको कविता कारिता यसरी बोल्छ-
मुटुको छाप बोक्ने अक्षरहरू
यो शहरको क्यान्भसमा धस्न सकिन्न भनेर
म मेरो व्यवसाय र बजार बदलाउन सक्तिनँ
अक्षरै-अक्षरको इजेल, क्यान्भस, प्यालेट र रङ्गहरूसित
यो समयको कथालाई
म मेरो कलाकृति बनाउनेछु
मेरा उदास शत्रुहरूको भावलाई
म मेरै शैलीको नवीन परम्परामा उतार्नेछु॥
उनले यस कवितांशमा जुन प्रकारले ‘मेरै शैलीको नवीन परम्परा-’को उल्लेख गरेका छन्| ती यस कविता संग्रहमा चरितार्थ भएका छन्| उनको नामको पछि आएको ‘जुमेली’ उनको गाउँ ‘जुम’-बाट बनेको शब्द हो| यदि कुनै समय तपाईं उनको घरको पुग्नुभएको छ भने जुमको उकालो-कठिन मार्गमा गाड़ी दगुर्छ र जुन हिसाबले त्यो कठिन मार्गमा चालकले नियन्त्रण बनाउँछ उनका कविताहरू पनि त्यस्तै छन्| जुमको उकालोमा गाड़ी हॉंक्दा चालकले नियन्त्रण गुमाए त्यहॉं दुर्घटना हुनसक्छ, उनका कविताहरूमा पनि निन्त्रण र संयम गुमाउने पाठकले अर्थको सायद गुदी भेट्टाउन सक्दैन| बाटो कठिन छ तर आँट गर्नेले त्यो पारगर्छ| नगर्नेले अर्को बाटो रोज्छ| जुमेलीका कविता केही क्लिष्ट छन्तर चबाउँदा चबिन्छन्, यसलाई निक्कै कसरत गरेर चबाउनु चाहिँपर्छ| उनका सबै कविता अप्ठ्यारा र क्लिष्ट पनि छैनन्| उनी लेख्छन्-
गाउँकी युवती हाट भरेर फर्किँदा
उसको मनको तहभित्र उमेरमै बली चढ़ेको
रहर, उमङ्ग र तुष्टिहरू बरको रूखले देखेको छ|
-रूपान्तरित वृक्षहरू
समाजमा व्यप्त विसङ्गति, विकृति र असभ्यपनप्रति जुन प्रकारले उनका कविताहरूले व्यङ्ग्य गरेका छन् त्यो एउटा माझिएको कलाकारको व्यङ्ग्य वाण बनेको छ| छलि बलिलाई मार्नका निम्ति रामले जुन प्रकारले लुकेर वाण हानेका थिए, सुग्रिब र बलिलाई युद्धमा छुट्याउन नसकेर सुग्रिबलाई माला लगाउन लगाएका थिए अनि जुन प्रकारले शनि ग्रहले बक्र दृष्टि राख्छ त्यस्तै त्यस्तै जुमेलीका कविताहरू क्यान्भसभित्र रङ पोत्दै कतै लुकेर, कतै छलिएर, कतै आफ्नै स्थानबाट बक्र दृष्टि गरेर व्यङ्ग्य वाणहरू छोड़िरहेका हुन्छन्|-
तर प्रश्‍न यो उठ्छ आज
कि भोलि यो कालदीर्घा बनिएपछि
आज चित्र कोर्ने यी सगु दाज्यु नरहला
यी मफि भाइ पनि नहोला
त्यस समय त्यहॉं कसले बनाएको चित्र राख्नू?
त्यस बेला जनताले मलाई गर्लान् प्रश्‍न
कि यो के बनायौ तिमीले भनी
मैले के जवाब दिनू अनि?
-चित्रकला प्रदर्शनीको……
अनि फेरि विकृति र अमानवीयताप्रति उनीभित्रको कवि यसरी अट्टाहस गरेर हॉंस्छ-
रक्ताम्मे गल्लीहरू बुद्ध माग्छन्,
उजाड़ अनुहारहरू बसन्त माग्छन्
भट्किएका समाज संस्कार माग्छ
दबिएको रहस्य आकार माग्छ|
यतिबिघ्न हल्ला छ मागहरूको सुन्ने कतै कान छैन
कसले कोसित के मागिरहेछ कुनै पहिचान छैन॥
-दोस्रो गरीबी
यिनका कविताहरू एउटा सजिएको चित्रकला झैं देखिन्छन्| कतै कतै एब्सट्रयाक र उत्ताराधुनिक चित्रकलाको छाप पनि यिनका कवितामा पाइन्छ| प्रकृतिलाई अनि भावनालाई यिनले जुन प्रकारले इन्द्रेनीका सात रङ्गभित्र रङ्ग्याएका छन् त्यसलाई हेर्दा स्पष्टसँग सातै रङ देखिँदैन| यसका लागि प्रिजम चाहिन्छ| प्रयोगशालामा गएर हामी जसरी सूर्य किरणका सात रङ प्रिजममार्फत हेर्छौं सायद उनका कवितालाई पनि प्रिजममार्फत विभिन्न अर्थमा हेर्न सकिन्छ।

जुमेलीका कविताहरू ———– प्रिजम (बौद्धिक पाठक -सप्त रङ्ग)——————– विभिन्न अर्थतिर उन्मूख |

७ खण्डमा विभाजित यस खण्डमा उनले ४५ वटा कविता विभिन्न भाव र संवेगलाई लिएर लेखेका छन्| उनका संवेगलाई पाठकले जुन अर्थमा लिए पनि धेरै पछि हामीले एउटा मीठो कविता संग्रह फेला पारेका छौं भन्ने कुरो चाहिंँ घ्रुव सत्य हो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *