“तपाईँ जस्तो गज्जबको मान्छे मैले कोही भेटेकी छुइन ।” केटीले भनी । “तपाईँको कथा सुनौँ न ।”
होचो, खाइलाग्दो एशीयाली मूलको बाघजुङ्गे मानिसले भन्यो, “पुरै कथा भन्न त एक युग लाग्छ ।” ऊ झ्याल बाहिरको पहेँलो र रातो सूर्यलाई एकतमासले हेरीरह्यो । यसरी दुवै रङ्गको सूर्यलाई हेर्न ऊ अझै अभ्यस्त थिएन । वास्तवमा त्यो भन्दा महत्त्वपुर्ण अन्य प्रशस्त कुराहरू थिए जसमा ऊ अभ्यस्त हुनै थियो ।
लामा मसिना हात-खुट्टा भएको रोबोट वेटर माथिबाट उड्यो । पहिलोपटक त्यसलाई देख्दा राक्षस हो कि भन्ने सोचेर ऊ लड्नसमेत तयार भएको थियो । उनीहरूलाई निकै गाहारो परेको थियो ।
“उनीहरूलाई पहिल्यै मसँग अप्ठ्यारो परिसकेको थियो ।”
“म कल्पना गर्न सक्छु । उनीहरूले यो कुरा कसरी प्रष्ट पारे?”
“गाह्रो काम थियो त्यो । औषधिविज्ञानको पुरै इतिहास दिनुपऱ्यो उनीहरूले । मलाइ यो बुझ्न वर्षौँ लाग्यो कि म या त अनन्त नीलो आकाशमा विचरण गर्दैछु या पृथ्वी भन्दा तल कहिँ छु ।” ऊ केटी तर्फ हेर्दै मुस्कुरायो । काममा नियुक्तीको साथै आफू जन्मेको स्थानभन्दा अनगिन्ती प्रकाश वर्ष टाढा आवास पाएपछि पहिलो पल्ट भेटेको केटी थिइन उनी ।
“कहिलेदेखि बुझ्न थाल्नुभयो ?”
“मेरो आफ्नै इतिहास समेत सम्पुर्ण बृत्तान्त सुनाएपछि अलि-अलि चित्र पाएँ । गज्जब, त्यसपछि त आफैँ उनीहरूलाई नै इतिहास भन्न थालेछु ।”
“तपाईँलाई धेरै थाहा छ ।”
“हो,” गर्वरहित मुद्रामा ऊ भन्दै गयो । “जे होस, उनीहरूले मलाइ बाइसौँ शताब्दीमा बल्ल उछिने – उनीहरूले मलाइ कालान्तरको वर्णन गरे जुन हाम्रो पालामा फरक थियो – उनीहरूले हात खुट्टा गुमाएको व्यक्तिको शरीरमा फेरी हात खुट्टा उमार्ने प्रविधी सिकीसकेका थिए ।”
“त्यो पहिलो पाइला थियो ।”
“धेरै समय लिएको दोश्रो पाइलामा मृत शरीरमा जीवन सञ्चार गरी बृद्धिक्रमलाई जागृत गर्ने तरिका सिकेका रहेछन ।”
“यो मैले राम्रो बुझीनँ ।”
“अँ, मैले बुझे अनुसार, जीवको अवशेष युक्त कुनै बस्तुको टुक्राले उक्त जीवको सम्पुर्ण संरचनाको स्मृतिलाई कायम राखेको हुन्छ । त्यहाँ कुनै व्यक्तिको अवशेष भएमा त्यसबाट उक्त व्यक्तिको सम्पुर्ण संरचनाको पुन-निर्माण गर्न सकिन्छ । त्यसपछिको काम भनेको समयसँगै निर्माण पकृयालाई पछाडि लैजानुपर्ने मात्र रहन्छ । उनीहरूलाई यो कुरा मलाई बुझाउन हम्मे परेको थियो ।”
“आकाशगंगाहरू बीचको यात्राले हामीसँग बिस्तारको लागि क्षेत्र बढेको छ, अचम्म छैन त?” केटीले भनी । “मेरो मतलब एकपटक जीवनयापन गरेका प्रत्येक मानवलाई पुनर्जिवित गराइएको छ ता कि उनीहरू सँधै बाँच्न सकुन ।”
“हामीलाई पनि सँधै स्थानको अभावै खट्कीरह्यो । तर यो युगले त्यो समस्यालाई मैले भन्दा राम्रोसँग समाधान गरेछ । यो कुरा बुझाउँदा मेरो सम्पुर्ण मनोवैज्ञानिक सम्भार भएको थियो ।”
“तपाईँको विगतको बारेमा भन्नुहोस,” प्रभावित हुँदै केटीले सोधी ।
“छ हजार वर्ष अगाडि, मेरो जन्म पृथ्वीको गोबी मरूभूमीमा भएको थियो ।” पेयपदार्थको चुस्की लिँदै चंगेज खाँ ले भन्यो ।
Robert J. Shea को लघुकथा Resurrection को भावानुवाद ।
अनुवादः एकदेव अधिकारी
