राजविराज–८, सप्तरी निवासी, शिक्षा, सञ्चार र अन्य सामाजिक कार्यमा सक्रियताका साथ जुटिरहेकी जुझारु व्यक्तित्वको नाम हो– करुणा झा । साहित्यसाधकले जेजस्तो जीवन भोगेको छ, जुन कुरामा आफू रुझेको छ र जेले आफूलाई छोएको छ, त्यसलाई नै हुबहु लिपीवद्ध गर्छ । यसो गर्दा कतै आफूलाई चरम आनन्दमा पुर्याएका कुरा पर्न सक्छन्, कतै नराम्ररी बिझाएका कुराहरू व्यक्त हुन सक्छन् । साधक स्रष्टा मात्र नभई जीवन र जगत्को द्रष्टा पनि हुन पुग्छ । त्यस्तै आफूले भोगेको युगीन पीडा, छटपटी बेचैनी, सङ्गति–असङ्गति, आशलाग्दो समय र विरसिलो अवस्था सबैको प्रतिनिधित्व सर्जक झाबाट भएको छ । उनको २०६८ सालमा ‘भगजोगनी’ शीर्षकको मैथिली कविता सङ्ग्रह साझा प्रकाशन, ललितपुरले प्रकाशन गरेको छ । त्यसमा कवयित्री झाले वर्तमान युगको चरम विसङ्गति, अतृप्ति, छटपटी र किंकर्तव्यविमूढतालाई समेटेकी छिन् । उनका अधिकांश कविताले वर्तमान बोकेका छन्, विगतलाई झपारेका छन् र भविष्यलाई खबरदारी गरेका छन् । मानिसले भूतबाट पाठ सिक्दै एवम् समुन्नत भविष्य बनाउने आशावादी सोचका साथ वर्तमान समयको भरमग्धुर उपभोग गर्नुपर्छ भन्ने ठहर उनका धेरै जसो कविताले गरेका छन्् । उनी हावामा महल ठड्याउँदिनन् । खोक्रो आदर्शको पछि दगुर्दिनन् । तर, समाजका कुरूप पाटाहरूलाई सर्वाङ्ग नग्न बनाउन चाहिँ छाड्दिनन् । उनका कवितामा कोमल, करुण र हृदयस्पर्शी भाव पनि आएका छन् । खरा, दह्रा र मनमस्तिष्कमा आँधीबेहरी ल्याउने खालका विद्रोही स्वरहरू पनि परेका छन् । कतै काँचो शैली छ, कतै पाको शैली छ । तर, लयप्रधान भई उनका कविता सप्तकोशी बगेझैँ सलल बगिरहेका छन् । कवितामा शब्दसंयोजन गर्दा केही हिन्दी र एकाध अङ्ग्रेजी भाषामा प्रयुक्त शब्दहरू परेका छन् । तिनीहरूले कविताको मूल्यलाई र मैथिली भाषाको कोमल मर्मलाई त्यति विघ्न स्खलन भने गरेका छैनन् । जनजिब्रामा सहजै बसेका शब्दहरूलाई मात्र मैथिलीकरण गरेका कारणले समेत कविताहरू युवापिँढीका लागि पठनीय र श्रवणीय लाग्छन् ।
‘भगजोगनी’ कविता सङ्ग्रहमा जम्मा ३८ वटा कविताहरू छन् । ‘सरस्वती बन्दना’बाट सुरु भएर ‘सहिद–सलाम’ सम्म पुर्याउँदा ‘भगजोगनी’को काम पूर्ण भएको छ । हिन्दू धर्मावलम्बीहरू सरस्वतीलाई विद्याकी देवी ठान्दछन् । उनको आराधनाले ज्ञान, विवेक र प्रज्ञाको चक्षु खुल्ने कुरा बताउँछन् । आराधनापश्चात् गरिएको शैक्षिक कार्य सफल हुन्छ भन्ने मान्यता राख्छन् । त्यसकै प्रभावले हुन सक्छ, ‘भगजोगनी’ कविता सङ्ग्रहको पहिलो कविता ‘सरस्वती वन्दना’ राखिएको छ । अँध्यारो नाश गरी उज्यालो पारी दिन बरदान माग्दै कवितामा भनिएको छ–
शारदे ज्योतिर्मयी माँ
ज्योतिके बरदान दिअ
अज्ञान तम के दूरी क’ माँ
ज्ञानपूँज प्रकाश भरि दिअ । (पृ.१)
यस्तै संसार निर्दयी छ, यहाँ हरथोक/सर्वथोक सर्वस्वीकार्य भावका साथ बाँच्न प्रयत्न गर्नुपर्छ । जन्मका लागि पनि र मृत्युका लागि पनि मानिस स्वतन्त्र छैन । मुत्यु चाहँदा पनि स्वीकार्न सकिन्न, जन्म बदल्न भन्दा पनि मिल्दैन । जस्तो छ, त्यसैलाई स्वीकार्य भावले आत्मसात् गर्नुको विकल्प नरहेको दार्शनिक दृष्टिकोण व्यक्त गर्न समेत कविताहरू पछि छैनन् । यस कोटिमा ‘सपना’ र ‘फेर आबू कन्हैया’ जस्ता कविताहरू पर्दछन् ।
भनिन्छ, कलाकार/साहित्यकारको लिङ्ग हुँदैन, तोकिएको भूगोल हुँदैन । उनीहरूको जगत् अथाह हुन्छ जसलाई कसैले नाप्न खोजे नाप्न सक्दैन, जोख्न खोजे जोख्न सक्दैन । त्यसमा पनि कवि/कवयित्रीहरूको विचरणभूमि नितान्त फरक ढङ्गको अलौकिक हुन्छ । तर, सधैँ कवि भएर, कलाकार नै गनिएर कोही रहन सक्दैन । व्यवहारिक जीवन व्यतितमा नलागीकन सुख हुन्न । जीवनभोगाइका तीतामीठा क्षणहरूले नै साहित्य सिर्जनामा मद्दत पुर्याउँदछ । कवयित्री झा नेपालीय मधेसी जनजीवनभित्रकी नारी प्रतिभा भएकीले उनले आफूले भोगेको सामाजिक जीवनका कठोर पाटाहरूलाई कवितात्मक आकार दिन चुकेकी छैनन् । नारी चार पर्खालभित्र जकडिएर रहने पुरुषको अहङ्कारको खेलौना हैन, सृष्टिकी अपार शक्ति हुन् भन्ने आशय पाइन्छ । उनी नारीलाई सन्तानोत्पादनको यन्त्र र मनोरञ्जनको खेलौना ठान्ने प्रवृतिप्रति रोष व्यक्त गर्दै सुतेका नारीलाई जगाउने प्रण गर्दछिन्–
हमरा अहसास भ’ चुकल अछि
हम एकैसम सदी के नारी छी
जागि चुकल छी हम आ जगायब हम सबके
अइ क्रान्तिकें जनजन तक पहुचायब
सब सुतल नारी चेतनाकें हम जगायव । (पृ.७)
यत्तिखेर देश र जनतालाई राम्रो र हाम्रो संविधान चाहिएको छ । त्यससँगसँगै दिगो शान्ति, सद्भाव र सौहार्दता चाहिएको छ । हरेक नेपाली नेपालभित्रै अट्न सक्ने संस्कार, रीतिथिति र व्यवहार चाहिएको छ । राज्यका हरेक तह र तप्का तथा संयन्त्रहरूमा हरेक वर्ग र सम्प्रदायका मानिस पुग्न सक्ने नीति र कानुन चाहिएको छ । त्यसभन्दा बढ्ता निर्मित र पारित समझदारी र कानुन कार्यान्वयनको लागि सचेत र सक्रिय रहनुपरेको छ । यिनै सन्दर्भलाई टिपनटापन गरेर कवयित्री झाले कवितात्मक रूप दिन खोजेकी छिन्–
बनू कर्मरथी, कर्म क रथ पर चढि
चलू मंजिल दिस, शुभपथ पर बढि
धरती उगैल चाहे कताबे अंगारा
चाहे नभ बरसाबै मूसलधारा । (पृ. ४५)
प्रकृतिले हामीलाई जीवनदान मात्र दिएको छैन, जीवन जिउने कला पनि सिकाएको छ । प्रकृतिझैं अटल भई अविरल यात्रामा त निस्कन सकिन्न । प्रकृतिको हुबहु अनुकरण गरेर आदर्शमय धरोहर खडा गर्न पनि सकिन्न तर प्रकृतिको लीलाप्रति मख्ख र मस्त बन्न सकिन्छ । कवयित्रीले पनि प्राकृतिक सौन्दर्यता र सुवासमा धन्य भएको कुरा बखान गर्न पछि परेकी छैनन ।
अलसायल यौवन जकाँ
भोरक रौद भेल
फूलक बोझक नीचा
खुशबु लचकि गेल । (पृ. ११)
गुणीको कदर गर्नु, असहाय अशक्तलाई मद्दत पुर्याउनु मानवीय धर्म हो । अझ, पुर्खाहरूको त्याग र सहिदहरूको बलिदानीको अमर गाथाबाट सौभाग्यशाली हुन नसक्नु कृतघ्न हो । सच्चा मानव हुनुछ भने अमरगाथाको सम्मान गर्नुपर्छ । पुर्खा र सहिदहरूको सपना, जपना र कामनालाई मूर्तरूप दिन कटिबद्ध भएर लाग्नुपर्छ । कवयित्री झामा पनि यस खाले सोचको विकास भएको देखिन्छ । उनले ‘देशक वीर’ र ‘सहिद–सलाम’ शीर्षकका कवितामा सहिद र पुर्खाहरूको महिमागान गाएकी छिन् । उनीहरूको सपना हामीले लत्याएमा निर्दोष आँसुले सराप्ने कुरा उठाएकी छिन् । देशको दुर्गतिप्रति ठूलो चिन्ता गरेकी छिन् ।
अहाँक शहादत के परन्तु, मोल कियो चुका सकत
अधर्म आ आतंक मिलि, अहाँके सब बिसरि चुकल
अहाँ सबहक बलिदानक नाम
ई सब केलनि बदनाम । (पृ. ५५)
उनलाई नेपालीय मधेसी हुनुमा गर्वबोध छ । मुलुकलाई गाह्रो र साह्रो परेको बेला अघि सरेर प्राणको प्रवाह नराखी देश र जनताको हक र अधिकारका लागि लड्ने वीरपुर्खाको वीरताको बखान गर्दै कविता भन्छ–
जखन, जखन आयल मुसिवत
मुस्किलमें पडल प्रदेश
प्राण के क गेला ओ अर्पण
बचाबै लेल अपन मधेश । (पृ. २२)
मातृभूमिप्रति सरोकार नराख्ने कोही हुन्न । गुणलाई बेवास्था गरी कृतध्न हुनु घोर अपराध कर्म हो । विशाल छाती बनाएर सोच्ने हो भने आकाश छानो हो, पृथ्वी मातृभूमि हो । त्यस विशालतामा हामी हराउन सकौंला । मौलिक पहिचानलाई ओझेलमा पार्न सकौंला । त्यसैले पनि जन्मभूमि र कर्मभूमिको सेवामा जीवन समर्पित गर्न सके हामी धन्य मात्र हुँदैनौँ, मौलिक अस्तित्वसहित गर्वका साथ शिर ठाडो पार्न सक्छौँ । यही र यस्तै चेतना कवयित्री झाका कवितामा पनि प्रशस्तै पाइन्छन् । उनी मिथिलाको महिमागान गाउन पछि परेकी छैनन् । आफ्नो आस्था, विश्वास र सर्वस्व मातृभूमि मिथिलाकै लागि समर्पण गरेको खुलासा गर्न चुकेकी छैनन् । यस कोटिमा ‘मातृभूमि मिथिला’, ‘हमर मिथिला’ जस्ता कविता परेका छन् ।
अपन चरणके अमृत सँ
सदा शान्ति बरसाबै
कोशी कमला बहै जयत
निर्मल प्रेम सुधा दर्शाबै । (पृ. ७)
बौद्धिक वर्ग चेतनाका संवाहक र युग परिवर्तनका नायक हुन् । सडकमा चिच्याउँदै र उडन्ते गफ छाट्दैमा कहीं जनचेतना जाग्दैन । जबसम्म समाजका बेथितिहरू, थितिमा परिणत हुन्नन् तबसम्म परिवर्तनको ढोलक बजाउनु, असारका भ्यागुता कराएझैं सार्थकहीन हुन्छ । अतः वर्तमान झल्काउने र थर्काउने आवाज बुलन्द हुनु जरुरी छ । मौनतामा समर्थन मात्र हुन्न, विमति पनि झल्कन सक्छ । बौद्धिक क्रान्ति गर्ने पाटा र बाटाहरू फरक–फरक हुन्छन् । यिनै भावभूमिमा ‘मौन समर्पण’, ‘अभिलाषा’, ‘नव निर्माण क आधार’, ‘समय नहि अछि’ जस्ता कविता परेका छन् ।
विषधर जकाँ जखन डसत राति
अन्हरिया अहाँ कें क’ देत घाइत
हम बनि समायब उरमें चंदन
क’ रहल छी हम मौन समर्पण । (पृ. १०)
यस युगका मान्छेलाई व्यवहारिक कामकाज गर्न र भूमिका निर्वाह गर्न समय नभएको तर इमेल, इन्टरनेटबाट कुराकानी गर्न, राती अबेरसम्म समय दिन सकेको वास्तविकतालाई ओकल्न समेत उनी पछि परेकी छैनन् ।
लेकिन हमरा पूरा समय अछि
राति देर तक कम्प्युटर पर बैसबाके
नेट पर चैट करबा के समय अइ
फेसबुक के फेस सँ दोस्ती करबा के समय अछि
मेल आ फिमेल सँ
इमेल सँ विवाह करबाक समय अछि । (पृ. ३९)
समाजका अमिल्दा पाटाहरूलाई मिलाउन साहित्यकार/बुद्धिजीवीहरूको मसी खर्चिइनुपर्छ, आवाज घन्किइनुपर्छ । अग्रगामी कदमलाई पृष्ठपोषण गर्नुपर्छ, पश्चगामी र यथास्थितिवादी सोच एवं क्रियाकलापलाई धरासायी बनाउन जमर्को रहनुपर्छ । यही मान्यता बमोजिम कवयित्री झा पनि आफ्नो कलमलाई तिखार्न चनाखो र सक्रिय रहेको भेटिन्छ । उज्यालो दिनको चाहना र समाजको अग्रगतिको कामनामा उनले शब्दहरू खर्च गरेकी छिन् । यस कोटीमा ‘हमर की दोष ?’, ‘आतङ्कवाद’, ‘प्रजातन्त्र’, ‘संसार’, ‘द्रोणाचार्य’ र ‘लोकतन्त्र के चारिम स्तम्भ’ जस्ता शीर्षकका कविताहरू परेका छन् ।
नेता सब साँप बनल
जनता बनल छिपकली
सत्ता के भूख विकट
नइ आदि अछि, नई अंत
राजा गेल, रानी गेल
आब अछि प्रजातन्त्र । (पृ.२१)
उनी अत्याचार र अन्याय थुप्रदै गए, पत्रकारिता जगत् खम्बा बनी पाखण्डीका शिर माथि बज्रने उद्घोष गर्न पछि छैनन् ।
यदि ई हिस्सा रुकल त
लोकतन्त्र के ई चारिम खंभा
अहि के उपर खसि पडत
हम त लोकतन्त्रके चारिम स्तम्भ छि । (पृ.५२)
‘भगजोगनी’ शब्दको नेपाली अर्थ ‘जूनकीरी’ भन्ने हुन्छ । निष्पट्ट अँध्यारालाई चिर्दै आफ्नै शरीरमा भएको सानो बत्तीको भिलिकमिलिकमा दिनचर्या विताउने जूनकीरी अँध्यारो नाश गरी उज्यालो आह्वान् गर्ने जीव विशेष हो । त्यसमा जस्तो विशेष गुण अरू कुनै प्राणीमा हुन्न । यहाँसम्म कि जूनकीरी मरेपछि पनि प्रकाश दिने काम बन्द गर्दैन । त्यसैले कतिपय अरू जीवले जूनकीरीलाई आफ्नो गुँडमा लगेर टाँसेका हुन्छन् । त्यसले बत्तीको काम गरिदिने गर्छ । यसप्रकार हरतरहले आफू मेटिएर भए पनि जगत् उज्यालो पार्ने काममा जूनकीरी सक्रिय रहन्छ । त्यसै गरी काव्यात्मक सुधापान गराउन कवयित्री झाका कविताहरू सशक्त रहेका छन् । विशेषतः कवितामा लय हुनुपर्छ, अन्त्यानुप्रासयुक्तताले लय निर्माणमा भूमिका खेल्छ । यी दुवै गुण ‘भगजोगनी’ मा सशक्तरूपमा देखापरेका छन् । त्यसैले उनका कविता गद्य भए पनि पद्यजस्ता लाग्छन् । कुनै शास्त्रीय विधिविधानलाई अवलम्बन गर्न भने सकेको पाइन्न । वाचनका दृष्टिले उत्कृष्ट छन् । शुद्ध मैथिलीे भाषालाई आत्मसात् गरेर अघि बढ्न भने कवयित्रीले अरू प्रयास गर्नुपर्ने हुन्छ । हिन्दी र अङ्ग्रेजी भाषाका जनजिब्रोमा झुण्डिएका शब्दहरूको बाहुल्यताले मैथिली भाषाको गरिमामय मधुर र करुण परम्परा थेग्ने कुरामा प्रश्न चिन्ह लाग्न सक्छ । मैथिली भाषामा गालीगलौज गरे पनि त्यसमा मधुरता र कारुणिकता झल्कन्छ । यसको कारण यस भाषामा प्रयोग हुने कोमल शब्दहरूको करामत हो । यस प्रकार ‘भगजोगनी’ कविता सङ्ग्रहमा भाषागत केही कमजोरी भए पनि विचारगत दृष्टिले परिपूर्ण र परिपुष्ट अवस्था वोध हुन्छ । मैथिली भाषाको आफ्नै प्रकार र प्रकृतिको गौरवमय परम्परा भएकोे र विशाल शब्दभण्डार रहेको कारणले अभिव्यक्तिमा अन्य भाषाका शब्दहरू नलिई नहुने अवस्था कमै पर्छ । अभावलाई पूर्ति गर्न शब्द डाक्नुपर्छ तर अभाव नभईकन पनि डाक्न थाल्दा अतिशयोक्ति हुने खतरा बढ्न सक्छ भन्ने कुरामा चाहिँ कवयित्रीले हेक्का राख्नु आवश्यक देखिन्छ ।
कवयित्री करुणा झाले गरेको प्रयत्न र पाएको सफलता सम्पूर्ण नेपाली नारीहरूको लागि गर्ववोध गर्ने र अनुकरण गर्न लायकको छ । माटोलाई माया गर्ने, परम्परा र संस्कृतिप्रति मोह दर्शाउने, युवापिँढीलाई मार्गनिर्देश गर्ने, लैङ्गिक असमानताका कारणले नारी जगत्ले सामाना गर्नु परेका चुनौतिहरू देखाउने, सृष्टिको चक्र चलाउने मात्र हैन क्रान्तिको आगो ओकल्ने सामथ्र्य नारी वर्गमा रहेको आभाष दिलाउने, हाम्रो समुन्नत भविष्य बनाइदिन प्रयत्न गर्न वीरसहिदहरूको त्याग आदि विषयहरूको विशद् चर्चा गर्ने जस्ता प्रयत्नहरू कवयित्रीबाट भएको छ । यस प्रकार उनी एक सचेत सर्जकको भूमिका निर्वाहमा प्रयत्नशील रहेकी देखिन्छिन् ।
कृति – भगजोगनी
विधा – कविता
कृतिकार – करुणा झा
संस्करण – पहिलो, २०६८
मूल्य – रू. १२७।–
प्रकाशक – साझा प्रकाशन
–नन्दलाल आचार्य
