Skip to content


“आधा घण्टा अगाडि ढोका ढक ढक गर्या थियो । अब फेरि गर्ने बेला भयो । सायद अब चाहिँ ढोका नै फोर्छ कि ? त्यो जुँगे नै आउन बेर छैन । कहाँ फँसियो यार । मेरो साथीहरू निदाएको बहाना गर्दैछन् । उ-उ- फेरि कोही आए जस्तो छ । हे प्रभु अब चाहिँ पक्कै आयो । भगवान प्लिज मद्दत गर । ए होईन रहेछ । अगाडि के के हुन्छ । थाहा छैन यति चाहिँ लेखिराख्छु । पछिलाई सम्झना हुन्छ ।”

म आर. आर. क्याम्पसमा बी.ए. तेस्रो पढ्दैछु । मेरो साथीहरू, जस्तो कारणले म यहाँ फँसे तिनीहरूको परिचय यस प्रकार छ । गोपाल, जनयुद्धमा हिडेको एउटा पुर्व जनमुक्तिसेना । खै के भएर हो उसले अवकासको सरकारी दान पाएनछ । विचरा विछिप्तिएर पाँच महिना अगाडि काठमाण्डु आएको थियो । ऊ मेरो सानैदेखिको साथी हो । विनित, मभन्दा तीन बर्ष अघिल्लो पुस्ताको विद्यार्थी हो । ऊसँगको सबैले डिग्री सकाई सक्यो । ऊ आधा दशकदेखि बी.ए. पढ्दै छ । ऊ पनि मेरो सानैदेखिको साथी हो । त्यस्तै अर्को साथी विमल, विचरा कतारमा दुई बर्ष जेल बसेर अस्ति चार महिनाअघि मात्रै नेपाल बालबाल आई पुग्यो । तीन कक्षा पढेर जागिर खान्छु भनेर शहर पसेको केटो पन्ध्र बर्षपछि भेट्दा पनि उस्तै छ । अर्को साथी हो तोम्बे, मान्छे मोटो छ मोटो नै बुद्धि । मान्छे कुट्नु, कुटाई खानु नै जन्मिएको जस्तो । तीन कक्षामा पाँच पटक फेल भएपछि पढाई छोडिदियो । उसैको तालमा लागेर आज फँसियो । म पनि कहाँ गतिलो विद्यार्थी हो र । बी.ए. पढ्न थालेको ५ वर्ष भई सक्यो । अझै कति हो लागेको विषय थाहा छैन । केटी साथी बनाउन चाहिँ पी.एच.डी. नै गरिसकें ।

कुरा एक महिना अगाडिको हो । काठमाण्डुमा बाँच्नै गारो भो । बल्लबल्ल नागरिक पत्रिकाको ग्राहक खोज्ने काम पाको थिएँ । काम सुरु गरेको पाँचौ दिन मै तोम्बेले करोडौंको माल छ भनेर नुवाकोट बोलायो । अनकनाउँदै नुवाकोटको एउटा गाउँमा पुगें । गोपाल, विनित, विमल सबै जना पुगि सकेछन् । केटाहरू दिन दहाडै झल्लुराम भएर बस्दा रहेछन् । ढाँट्नु हुदैन मैले चाहिँ खाईन ।

सबैले प्लान सुनाउन थाले – “म त काठमाण्डुमा घर किन्छु । म त आरवन बाईक किनेर डार्लिङलाई नगरकोट घुमाउन लान्छु । म घरको रिन तिर्छु यार । म त ठमेलको एउटा बारमा गएर जिन्दगीको लास्टै मजा लिन्छु यार ।” यस्तै यस्तै योजनाहरू सुनेर म दंग परें ।

“के हो देखा न त करोडौंको माल ? उनीहरूको प्लानमा मेरो पनि प्लान मिसाउन मलाई हतार भयो । तोम्बेले घरको चोटाबाट प्लास्टिकमा पोको पारेर एउटा सेतो बस्तु मेरो अगाडि ल्यायो । गोपालले वरिपरि झुमिएर बसेको तामाङको सिंगान बोकेर बसेको बच्चाहरूलाई खेद्यो ।” माथि चोटाबाट तामाङ बुढो खोक्दै कराउन थाल्यो ।

“ल हेर यो दाईने शंख, यसको मुल्य एक करोडभन्दा माथि छ थाहा छ तँलाई ? यो तामाङ बुढोलाई दश वीस हजार खुजुरा फँकी दिए पुगि हाल्यो । ए चुप चुप सुन्ला है” गोपालले करोडौंको माल देखायो । सुरु भयो मेरो पनि प्लानको बर्षा । यो गर्छु त्यो गर्छु । छोडिदिएँ नोकरी ।

त्यसपछि हामी यो ठमेलको पाँचतारे गुरुङको होटलमा आएर बसेको आज ११ दिन भयो । गोपाललाई कहिले मलेसियाबाट, कहिले अस्ट्रेलियाबाट, कहिले हङकङबाट, कहिले चाईनाबाट फोन आउन थाल्यो । अन्तिममा हङकङको एजेण्डले दुई करोडमा लिने भयो । हामी ११ दिनदेखि यो होटलमा दिनको दश पन्ध्र हजारको दरले खाईरहेका छौं । गोजिमा फुट्या कौडी छैन । गोपालले तालमाल मिलाएछ । आजसम्म बस्योैं । सायद होटलवालले विश्वास गर्यो हामीसँग करोडौंको माल छ भन्ने कुरा । हामी बिहानदेखि बेलुकीसम्म पुरा झ्याप भएर बस्यौं । हामीले फोन बाटै चितवनमा जग्गाको बार्गेनिङ गर्न पनि भ्यायौं । गाउँमा त पुरै दिपावली सुरु भईसक्यो रे । ११ दिनमा विनित र मैले दुई वटा महत्वपुर्ण परिक्षा छुटाईसक्यौं । अब अर्को वर्ष पनि आर.आर.को हावा खानुको विकल्प छैन । सुन्दर फुलबुट्टा भरेर योजना बुन्दैमा ११ वटा दिनहरू वितायौं । आज बिहानदेखिको घटना यस्तो रह्यो ।

बिहान चार बजे नै सबै जना उठ्यौं । नुहाईधुवाई सकेर शंखलाई पुजा गर्यो । अनि काम विभाजन गर्यौं । आज बिहान जब ढोका ढक ढक गर्छ, गोपालले विस्तारै ढोका खोल्ने स्वागतम् गर्ने, मैले ईङलिसमा हाउ आर यू ? भनेर सोध्ने, विनितले बस्ने सोफा देखाउने, विमलले केही लिनु हुन्छ कि? भनेर सोध्ने, तोम्बे चाहिँ उनीहरूलाई चाहिँने कुरा लिन जाने, यस्तै योजना बनाएर बस्यौं । विनितले सबैलाई पुग्ने नयाँ पुरानो टाईकोट चोरेर ल्यायो या कहाँबाट उनै जानुन् । हामी योजना मुताविक तयार भएर बस्यौं । ढोकाको ढक ढकको आवाजको ब्यग्र प्रतिक्षामा बस्यौं । त्यो ढोकाको ढक ढक हाम्रो बन्द भएको भाग्यको ढोकासँग तुलना गर्यौं । पहिलो पटक बिहान ६ बजे ढोका ढक ढक गर्यो । आ–आफ्नो पोजिसनमा बस्यौं । गोपाल ख्याउटे गालाबाट अलिकलि हाँसो जवरजस्ति निकालेर खैनिले लगेको थोते दाँत फिस्स देखाउँदै विस्तारै ढोका खुल्यो । Well come sir, भन्यो । रुम सर्विस सर, चार पुटे होटलमा काम गर्ने मान्छे पो आएछ । तोम्बेले भित्र बोलाएर दुई लात हान्यो । विचरा रुदै गयो । करिव ७ बजेतिर फेरि ढोका ढक ढक गर्यो । फेरि पोजिसनमा बस्यौं गोपाल विस्तारै ढोकामा गयो । ढोकालाई ढोग्यो । अनि खोल्यो । Well come sir, “सर यिनीहरू हो, एक लाख पन्ध्र हजार दुई सय एक्काईस रुपैयाँ पुगिसक्यो । आज दिन्छु भनेको छ । चिनेर राख्नुस् सर् भाग्न नपागोस” ।

होटलवाल साहुले ठमेलको जुँगे पुलिस लिएर आएछ । “सर हामी दिन्छौं आज फरक पर्दैन । यदि आज हामीले साहुको पैसा दिएनौं भने सर हामीलाई जेलमा लगे पनि हुन्छ” ।

तोम्बेले पहिलो पटक ईमान्दार बन्छु भन्ने बाचा गर्यो । साहुजी फर्कियो । ८ बज्यो, ९ बज्यो, १० बज्यो । हाम्रो भाग्यको ढोका ढक ढक गरेन । ११ बजेतिर ढोका ढक ढक गर्यो । हामी जर्याक जुरुक उठ्यौं । फेरि पोजिसनमा बसौं । अब चाहिँ पक्का हो २ करोड लिएर एजेण्ड नै आयो । गोपाल टाई मिलाएर ढोकाको नजिक गयो । ढोकालाई ढोग्यो । अनि विस्तारै खोलेर छिर्यो । काम पुरा हुन पाएन । ढोकामा कलेजको अर्को साथी हरि ठिङ्ग उभिराछ । विनितले तानेर भित्र ल्यायो । “किन आईस तँ ? कलेजमा तिमीहरूको खोजी भईराछ सबैलाई थाहा भयो तिमीहरू करोडौंको मालिक हुँदै छ रे भन्ने कुरा, म त बल्ल तिमीहरूलाई पत्ता लगाएर आको, खै पैसा पायो ? हरिले भन्दै गर्दा हामी आधा गलिसकेका थियौं । अरु को को आउदै छ ? विनितले हरिलाई भन्यो । म त भागेर आको” ।

हाम्रो भाग्यको ढोका ढक ढक गरेन । हामी सबै जना निरास भईसकेका थियौं । करिव १ बजेतिर ढोका ढक ढक गर्यो । अब चाहिँ पुरा विस्वास भयो । मुटुको धड्कन तेज हुन थाल्यो । पुर्व योजना अनुसार गोपाल विस्तारै ढोकामा गयो । ढोका खोल्यो । “सरहरू खाना नखाने आज? त्यही चार पुटे ढोका टिङ्ग । तोम्बे फेरिअघि बढ्यो । विचरा चारफुटे भाग्यो । हामी थाक्यौं । फोन गर्न पनि नेपालको नम्बर हामीसँग थिएन । एजेण्ड पहिला पनि यहाँ आएकोले लोकेसनको समस्या थिएन सायद ।

दिउँसो ३ बज्यो । सबै जना निरास भईसकेका थियौं । कोही निदाई पनि सकेको थियो । म नागरिक पत्रिकाको काम छोडेकोमा पछुतो मान्दै अर्ध निद्रामा थिएँ । ढोका ढक ढक गर्यो । मैले वास्ता गरिन । सायद क्याम्पसको अरु साथीहरू पनि हुन सक्छ भनेर । ढोका फेरि ढक ढक गर्यो । मलाई रिस उठ्न थाल्यो । अरु साथीहरू पनि उठेन । फेरि ढक ढक गर्यो । म झनै नसुने झैं गरि निदाउने प्रयास गर्न थालें । अन्तमा ढक ढक रोकियो । मलाई कस्तो कस्तो महसुस भयो । कुदेर बाहिर आएँ । एजेण्डहरू बाहिरिन गेटमा पुगि सकेका रहेछन् । हतार हतार रोकें । उनीहरूलाई भित्र ल्याएँ । उनीहरूसँग एक, एक करोडको आर्कशक दुई वटा सुरकेस थिए । साथीहरू सम्हालिदै उठे । हाम्रो पुर्व योजना सबै फेल खायो । साथीहरू एकोहोरो सुरकेसतिर हेर्न थाले । तोम्बे त झनै सुरकेस मै घोप्टुँला जस्तो गर्न थाल्यो । गोपालले शंख देखायो । चाईनिज एजेण्डले नियालेर हेर्न लाग्यो । निकै बेर नियालेर हेरेपछि उनीहरू एकाआपसमा हाँस्न थाल्यो । अट्टहास नै हाँस्न थाल्यो । उनीहरू यसरी हाँसे कि हामी अचम्ममा पर्यौं । हाम्रा साथीहरूले पनि हाँसोमा अलिअलि हाँसो थपे सायद । अन्तमा उनीहरू सगैंका नेपाली एजेण्डले हाँसोको रहस्य खोल्यो । “भाई हो, यो त शंखे किरा पो हो त” ।

हाम्रो सपना तोपको गोलीले उडायो । उनीहरू बाहिरिए । कोठामा सन्नाटा छायो । हामी कोही कसैले कसैको मुख हेरेका छैनौं । आँखाबाट हाम्रो सपनाहरू तप्प तप्प खसिरहेको छ । मेहनत बिनाको फलकोपछि लाग्दा यस्तै हुँदो रहेछ । कसरी तिर्ने त्यो एक लाख अब । एक छिन पनि ठमेलको जुँगे पुलिस आई पुग्छ । ऊ फेरि ढोका ढक ढक गर्यो । हस्त यति नै लेखें एकछिन पनि के हुन्छ थाहा छैन । ढोका फेरि एकोहोरो ढक ढक ढक गरिराछ बाई ।

राजु स्याङतान
खयरमारा– ६ महोत्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *