Skip to content

मेरो मायाको जिम्दारी खोसिएको पत्तै पाइन


तिम्रो मायामा मेरो जिम्दारी थियो
कहिले सुकुम्बासी पस्यो थाहा नै भएन
मायाको मझेरीमा बाँध कुलो कसेको थिएँ
कतिबेला भत्कियो कोनी पत्तै पाइन
साँध सिमाना हरुमा तार बार गरेको थिएँ
कुन बाढीले बगायो थाहा नै पाइन
ढुक्कसँग बसेको थिएँ आँगनमा

बिश्वासको सिकुवामा पलेंटी कसेर
दाल भात गुन्द्रुक – गर्जो टारेकै थिएँ
दशैं तिहार तीज सारी चोलो दिएकै थिएँ
माइती जाँदा दुइ चार मैना छोडेकै थिएँ
घर ब्यबहार सबै ताला चाबी सुम्पेकै थिएँ
हाट बजार मेलापात खुसीमा रहर थिए

यो के भो

यो मायामा प्वाल परेको छ
विश्वासमा घात भएको छ
के गर्नु कर्म यस्तै रहेछ भनी बाँची रहेछु
हरपल घात प्रतिघात सही रहेछु
मायाको नाममा अभिशाप बोकी रहेछु
निष्ठुरताको ज्वाला तापिरहेछु

तिम्रो मायामा मेरो जिमिन्दारी थियो
कहिले सुकुम्बासी पस्यो थाहा नै भएन
मैले पत्तै पाइन् / मलाई थाहा नै भएन
मेरो संसार हराएको थाहा नै भएन
मेरो जिम्दारी खोसिएको पत्तै पाइन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *