Skip to content

यस्तो सन्तान जन्मियोस्

  • by


कोलाहल मच्चिएको छ
अस्पतालको शैयामा
प्रसव पीडाले छट्पटिएकी छिन् उनी
सायद आमा बन्ने चटारोमा छिन्
आँखाहरू कहिले उघार्छिन्
कहिले बन्द
ओठ च्याप्छिन् कहिले
अनि खोल्छिन् कहिले
जब आँखा उघार्छिन्
सेतो वस्त्रमा लपेटिएको चिकित्सक देख्छिन्
सेतो वस्त्रमा?
के भो र?
सेतै वस्त्रमा भए पनि चिकित्सक हुन्
पक्कै पीडा मुक्त गरिदेला नि
आशा अघोरै राख्छिन्
आँखा बन्द गर्छिन्
संसारै अध्यँरो देख्छिन्
आत्तिएर कराउँछिन्
मानौं उनी मृत्युको आगोशमा पुग्दैछिन्
चारतिर कतै रोदन् कतै भय
कतै चित्कार कतै अभय
यस्तोमा उनी आमा बन्दैछिन्
खै कस्तो सन्तान् जन्माउलिन्?
गर्भमै छ उत्तर
हुन त बाहिरी वातावरणले
के नै फरक पर्ला र?
जे रोप्यौं त्यहि फल्ला
बिज कस्तो छर्‍यौं
त्यस्तै उम्रिएला
यदयपी कामना छ
उनले एउटा सुन्दर सग्लो
स्वस्थ बच्चा जन्माओस्
न कि अपाङ्ग
जसलाई भोलि वैशाखी दिनुपरोस्
कसैले डोर्‍याउनु परोस्
कसैले देखाउनु परोस्
कसैले सुनाउनु परोस्
अहँ यस्तो सन्तान
नजन्मिएकै वेश
जन्मियोस त यस्तो सन्तान्
जो आफै हिड्न सकोस्
आफैमा सक्षम होस्
आफै निर्णय गर्न सकोस्
आफै राष्ट्र हाँक्न सकोस्
निडर, साहसी अनि स्पष्ट होस्
यस्तै सन्तान जमियोस्
हामी प्रतिक्षामा छौं
छिटै त्यो सन्तान प्राप्त होस्
यो प्रसव पीडा चाँडै सकोस्
हाम्रो लाखौं लाख शुभकामना छ ।

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *