Skip to content


“हाम्रा मानिसहरू आज हामीलाई भेट्न आउँछन,” रोबोटले भन्यो ।

“चुप लाग!” रोड रान्किन झोक्कियो । कुर्सी फनक्क घुमाएर उठ्दै बरण्डातिर गयो र एकोहोरिँदै कतै हेरिरह्यो ।

“हाम्रा मानिसहरू–” दश फिट अग्लो, बेलनाकार रोबोट मशीनी आवाजमा बोल्दै थियो जब रोड रान्किनले उसलाई रोक्यो । “तिम्रा मानिसहरूको मलाई मतलब छैन,” रान्किनले भन्यो र केही एकडमा फैलिएको आफ्नो खेतीबारीको वरीपरी उभिएका ‘केश’का रूखहरू पल्तिरबाट आउँदै गरेको धुलोको मुस्लो तिर नियाल्न थाल्यो । “आ.. यो छिमेकी फेरि पनि आउँदै छ ।”

उसले बारीमा काम गरिरहेका रोबोटहरूलाई छिटो छिटो इशारा गर्दै भन्यो । “छिटो गर, तिम्रा सबै साथीहरूसँगै जङ्गलभित्र लुक्न जाऊ ।”

“यो ठीक होइन,” रोबोटले भन्यो । “हामीलाई सबैको सेवा गर्न बनाइएको हो ।”

“तर तिमीहरू सयवटा मात्र छौ, अनि म अरूसँग बाँडन चाहन्न ।” रान्किनले भन्यो ।

“यो ठीक होइन,” रोबोटले दोहोऱ्यायो ।

“ठीक बेठीकको कुरा मसँग नगर,” रान्किनले भन्यो । “तिमीहरू आदेश मान्न बनाइएका हौ, मलाई तिमी रोबोटहरूको बारेमा एक-दुइवटा कुरा थाहा छ । तिमीहरूको एउटै नियम छ, आदेश मान्नु र जबसम्म मेरो छिमेकीले तिमीहरूलाई आदेश दिँदैन, तिमीहरू मेरा लागि काम गर्छौ । अब जाउ जङ्गल पछाडि र लुक जबसम्म ऊ जाँदैन ।”

“हामीलाई भेटन आउनेहरूलाई स्वागत गर्न जान्छौँ आज ।” रोबोटले भन्यो ।

“हुन्छ, जाउ,” रान्किनले भन्यो ।

रोबोटहरू सबै पंक्तिबद्ध भएर खेतबारीको बिचोबिच जंङ्गलभित्रतिर लागे ।

एउटा पुरानो कार केही समयपछि आएर रोकियो । एउटा अग्लो, ठूला हात-पाखुरा भएको घुर्मैलो रङ भएको मानिस, रान्किनको कारबाट निक्लिएर बरण्डा भएतिर आयो ।

“अहो! बारोज,” रान्किनले भन्यो ।

“हेलो,” बारोजले भन्यो । “तिम्रो बाली त खुब राम्रो बनाएको रहेछौ, कसरी गर्छौ होला ? थुप्रै एकड जमीन छ तिम्रो त टाढा-टाढासम्म, तर मलाई त एउटा सानो टुक्रा पनि भारी भइसक्यो । पक्का तिमीलाई यो ग्रहको बारेमा ज्यादा जानकारी छ मलाई भन्दा ।”

“बस, बैज्ञानिक खेती हो,” रान्किनले यसै जवाफ दियो । “हेर, तिमी यहाँ केही कामले आएको कि त्यसै मुख फाल्न ? मेरो धेरै काम छ ।”

बारोज थकित र चिन्तित देखिन्थ्यो । “ती कैला जीवहरूले मेरो खेतीको सत्यानाश पारे,” उसले भन्यो । “सोचेँ तिमीसँग त्यसबाट जोगिने कुनै उपाय होला ।”

“छ, नि,” रान्किनले भन्यो । “एक-एक गर्दै टिपेर फाल । मैले त्यसै गरेको हो ।”

“के साँच्चै,” बारोजले भन्यो । “मीलौँ मील हिँडेर ती जीवहरूलाई फाल्नु ! पक्कै तिमीसँग अर्को उपाय हुनुपर्छ ।”

रान्किनले बारोजलाई आँखा तर्दै हेऱ्यो र भन्यो, “मैले जति भन्नु थियो भनेँ । दिनभरी बड्-बड् सुन्न मसँग समय छैन । तिम्रो पनि त काम होला नि ?”

“रान्किन,” बारोजले भन्यो, “मलाई थाहा छ, तिमी टेरान साम्राज्यको अपराधी थियौ, र तिमी यो ग्रहमा कानुनी सीमा छल्न आएका थियौ । मलाई लाग्यो अपराधी नै भए पनि, कुनै पनि मानिस, आफ्नो छिमेकीको सहयोग यस्तो निर्जन ग्रहमा पक्कै पनि गर्छ होला । आखिर तिमीलाई पनि त सहयोग चाहिन्छ नि ।”

“मेरो विगतको सोच तिमी आफूसँगै राख,” रान्किनले भन्यो । “यो सम्झ कि मसँग बन्दुक पनि छ । अनि तिमी पनि त श्रीमती र बच्चाहरूसँग त्यो जमीनमा बस्छौ । स्मार्ट बन र मेरो बारेमा ज्यादा नसोच ।”
“गएँ म,” बारोजले भन्यो । बरण्डा बाहिर थुक्दै धुलो भरिएको बाटो हुँदै कारमा चढेर हुइँकियो ।
रान्किन रिसाउँदै ऊ गएतिर हेरीरह्यो । त्यस्तैमा पछाडिबाट भुनभुन आवाज आयो र ऊ फर्कियो । एउटा ठूलो ग्लोब आकाशबाट अवतरण गर्दैथियो । रान्किन आश्चर्यमा पऱ्यो ।

प्रहरी ? यो ग्रह टेरान साम्राज्यको अधिनभन्दा बाहिर पर्थ्यो । टेरान साम्राज्यमा सेफ तोडेर एक हजार क्रेडिट चोरेर ऊ यहाँ आएको थियो किनकि यो ग्रह क्लीयर्चन संगठीत समूह अन्तर्गत पर्थ्यो र यदि ग्रह दुर्घटनाबाट सुरक्षित भए ऊ पनि सुरक्षित थियो ।

सुरक्षाभन्दा पनि बढी त के थियो भने यो ग्रहमा पहिल्यै नै एक शय रोबोटहरू थिए । तिनीहरू कहाँबाट आए त्यो त उसलाई थाहा थिएन तर यो कुरामा गर्व गर्थ्यो कि रोबोटहरू चलाउनमा उसलाई पर्याप्त ज्ञान थियो । तिनीहरूको सेवाबाट नै उसले त्यहाँ खेतीपाती शुरूआत गरेको थियो । वर्तमान गतिमा ऊ चाँडै नै एक विशाल खेतीबारीको मालिक हुने कुरामा शंका थिएन ।

ती रोबोटहरूको ग्रहबाट आएको होला । रोबोटहरू पनि त भन्दै थिए नि उनीहरूलाई भेटन कोही आउँदैछ । शायद क्लीयर्चन संगठीत समूह अन्तर्गतका होलान । तर तिनीहरू आउनु राम्रो कि नराम्रो ?
उसले पढे अनुरूप, र रोबोटहरूले भने अनुसार त्यहाँ अरू रोबोटहरू थिए । त्यो राम्रै थियो किनभने रोबोटहरूसँग चल्न उसलाई राम्रोसँग आउँथ्यो ।

त्यो सेतो ग्लोब केशका रूखहरू पछाडि कतै अदृश्य भयो । रान्किन पर्खी बस्यो ।

करिब आधा घण्टा पछि उसका कामदार रोबोटहरू पंक्तिबद्ध हुँदै जङ्गलबाट बाहिर आए र तिनीहरूसँगै केही खैरा रोबोटहरू पनि अग्र पंक्तिमा थिए । उसले सोच्यो मालिक को यो कुरा पहिल्यै नै निर्क्योल गर्नेछ ।
“त्यहिँ रोक्किऊ,” ऊ चिच्यायो ।

चम्किला रोबोटहरू रोक्किए, तर खैरा रोबोटहरू भने अगाडि बढिरहे ।

“रोक्किऊ,” रान्किन फेरि चिच्यायो ।

उनीहरू रोक्किएनन, जब उनीहरू बरण्डामा उक्ले अनि बल्ल रान्किनलाई बल्ल बन्दुकको होस भयो ।

दुई खैरा रोबोटहरूले उसको पाखुरामा आफ्ना हातहरू राखे बिस्तारै तर बलिया धातुका हातहरू ।

तेश्रोले भन्यो, “हामी तिमीमाथी निसाफ सुनाउन आएको । तिमीले हाम्रो कानुन तोड्यौ ।”

“मतलब?” रान्किनले भन्यो “तर रोबोटको एक मात्र कानुन आदेश मान्नु हुन्छ ।”

“हो, तिम्रा टेरान साम्राज्यका रोबोटहरू र यी कामदार रोबोटहरूको एउटै कानुन आदेशको पालना गर्नुहुन्छ । तर यी रोबोटहरू कुनै त्यसभन्दा माथिका कानुनबाट बाँधिएका हुन्छन । तिमीले यिनीहरूलाई त्यो कानुन तोड्न बाध्य बनायौ र त्यो तिम्रो अपराध हो ।”

“कस्तो अपराध?”

“हामी क्लेर्चन संगठीत समूहवासीहरू, एक रोबोट प्रजातिहरू हौँ । हाम्रा निर्माताहरूले हामी भित्र एक कानुन प्रवेश गराएका छन् । हामी यो कानुन हामीद्वारा स्वशासित सम्पूर्ण ग्रहहरूमा लागु गरिरहेका छौँ । यी कामदार रोबोटहरू तिम्रो आदेश मान्दा पनि त्यहि कानुनको पालना गरिरहेका थिए । र अब हामी तिमीलाई हाम्रो राजधानी लैजान्छौँ र त्यहाँ तिम्रो अपराधको सजायँको फैसला हुनेछ ।

“कस्तो कानुन? कस्तो अपराध?”

“हाम्रो कानुन अनुसार,” त्यो ठूलो रोबोटले भन्यो, “छिमेकीलाई सहयोग नगर्नु अपराध हो।”

अनुवादकर्ताः एकदेव अधिकारी
The Helpful Robots
Robert J. Shea
Published in Fantastic Universe, September 1957

Leave a Reply

Your email address will not be published. Required fields are marked *