Skip to content


सके तिमी
देशभित्र बस
नसके
देश बाहिर
जे भन तिमी
देश त देश नै हो ।

तिमीले बुनेको सपना
तिमीले तुनेको खुशी
र तिम्रो टुक्रा टुक्रा बिस्वास
देशका कोठाहरूमा सजिएका छन्
तिम्रो श्रम र पसिनाको थोपा थोपा
देशका डाडा काडाहरुमा सिचिएका छन् ।

जे भन तिमी
देश त देश नै हो ।

देश तिम्रो बिहान हो
जति टाढा भए नि स्मृति गाढा हुन्छ
देश तिम्रो मुहान हो
नजिक हुदा उमंगहरूको बर्षा गर्छ
देश तिम्रा प्रियजनहरूसितै खिल्खिलाउछ ।

जे भन तिमी
देश त देश नै हो ।

तिमी टाढा हुदैमा
तिमीबाट देश टाढा हुदैन
मनमा छाईरहन्छ
मुटूमा आईरहन्छ
तिमी नजिक हुदैमा
देश धेरै हुदैन
आत्मीयता संगालिरहन्छ
माया सजाई रहन्छ ।

जे भन तिमी
देश त देश नै हो ।

देश तिम्रो
उकालिदै गरेको प्राप्ति
देश तिम्रो
उन्मुक्त उर्बर माटो
देश तिम्रो
अखण्ड सपना र ओत ।

देश बिना
तिम्रो अस्तित्व नै छैन।

सके तिमी
देशभित्र बस
नसके
देश बाहिर
जे भन तिमी
देश त देश नै हो ।

अस्तु :

दमक, झापा
हाल : अबुधाबी, यू ए इ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *