Skip to content

तामा खाने दुम्सी

  • by


बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।

त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । ‘कस्को बच्चा रोयो’ भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो । उल्टै घरभित्र लगेर मलाई बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो ।

बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभएको थियो । बच्चा रुन सुरु गर्दा हामी सबै कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थ्यौँ । केही दिनसम्म यही क्रम दोहोरिरह्यो । तामाहरू चोरिँदा भए ।

दुम्सी मार्न बाँस झ्याङ्ग नजिक ठूलो खाल्डो खनियो । र, त्यसलाई टाँड पारेर हरिया झारपातले छोपियो । दुम्सी त्यसलाई सामान्य जमिन ठानेर भ्रममा पर्छ र खाल्डोमा खस्छ भन्ने ठानिएको थियो ।

त्यसै साँझमा बुबा गाई दुहँदै हुनुहुन्थ्यो । बच्चा रुन थाल्यो । आमाले मलाई घरभित्र पसाउनुभयो । बुबा पनि हत्त न पत्त घरभित्र छिरिहाल्ने दाउमा हुनुहुन्थ्यो । त्यत्तिकैमा बाँसघारीबाट आवाज आयो– ‘मरगेलिए, मरगेलिए, बचाऊ, बचाऊ ! ओ बासुदेवक बाबुजी ! हमरा बचाऊ ! गुहार बचाऊ ….!’ (मरेँ, मरेँ, बचाऊ, बचाऊ ! ए बासुदेवका बाउ ! मलाई बचाऊ ! गुहार बचाऊ ….!) के भएछ भनेर आगोको अगुल्टो हातमा लिएर बुबा दौडिनुभयो । पछिपछि हामी पनि त्यहाँ पुग्यौँ ।

पहिले तामा माग्ने मान्छे पो खाल्डोमा खसेको रहेछ ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
फोन नं -०३१५२००३८, ९८१४७०००९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *