हो !
यसपाली पनि
म आउन पाउँदिन
दशैंमा ।
यसै सिजनमा
भिक्टोरिया क्रस खोज्नुछ
अफगानिस्तान वा इराकतिर
परमवीरचक्र खोज्नुछ
कारगिल, जम्मू वा यतै कतैतिर ।
म आफनै सीमामा उभिएर
देशलाई जमराले सिँगार्नुपर्ने वेला
दिनभरि अलकायदा खोजेर
रातभरि अनिदो बसेर
त्यतिवेला
म लडेको हुनेछु
ह्विस्कीको मातले
वा
ढलेको हुनेछु गोलाले,
मेरो माटोले मलाई खोज्दा…..
या,
म पुगेको हुनेछु
भिक्टोरिया क्रससँगै बसाई सरेर
या,
म आईपुग्नेछु
कफिनमाथि परमवीरचक्र बोकेर
त्यसैले साँच्चै हो
म आउन पाउँदिन यो दशैंमा !
तिम्रा आशीर्वादहरू
आँशुमा डुबाई बगाइदिनु उसैलाई
वा
सम्झी आफनै
दिनु कसैलाई ।
कुकुरलाई पनि
जुठेल्नाभरि बग्रेल्ती
हड्डीहरू भेटिने वेला
म आउन पाउँदिन दशैंमा
एकछाक मीठो गास
खुशीसँग व सेर खान तिमीसँग
म आएँ त्यहाँ भने–
रौनकताहरू हराउनेछन
यूरोप, अमेरिका, अष्ट्रेलियाका
जुठेल्नाहरूमा यहाँ,
म नआएर त्यहाँ
ल्याइदिनुपर्नेछ दशैं
जुठेल्नाहरूमा यहाँ
त्यसैले, साँच्चै
म आउन पाउँदिन यो दशैंमा !
तिम्रा कोसेली र सगुनहरू
सम्झी आफनै
बाँडिदिनु अरु कसैलाई ।
नभएपनि खोजेर
हातमा राखिदिने वेला,
म आउन पाउँदिन दशैंमा
एकफेर ढोग भेटेर
दुईचार सय राखिदिन तिमीलाई !
बाँधिएका छन् हातखुट्टा
यूरो, डलर, पौण्डले
छेकिएको छ बाटो
रियाल, दिनार, रिङ्गिट, ऐन, वन वा भारुले
त्यसैले, साँच्चै
म आउन पाउँदिन यो दशैंमा !
काढेर ऋण, उधारो दशैं
तमसुक राखिदिनु उसैलाई
सम्झी आफनै, बोलाई
मनका दक्षिणा
आशीर्वाद दिनु कसैलाई ।
दीपेन्द्र “अपजसी”
बडादशैं २०१२
वागलुङ, हाल ओस्टण्डे, बेल्जियम

dipendra jee kasto jibanta
dipendra jee kasto jibanta satyata paskanu vo