Skip to content


चण्डीप्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए । चण्डीप्रसादले आफ्ना छोराहरूलाई यसपाली माघेसक्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए । “आमा पनि जीवित छैनन्, जाउन् त बाउ,” भनेर साहिलो छोराले गोजीमा पैसा राखिदियो ।

गाउका बुढाबुढी, केही अधवैँशे, केही युवती र केटाकेटी गरेर दश बाह्र जना जति गए । धरानबाट चतरालाइनको बाटो हुँदै उनीहरू बराह मन्दिर परिसरमा पुगे । कोही मन्दिरको हातामै रहेको ढुङ्गो उचाल्न थाले, कोही आफ्ना पितृको कोका श्राद्ध गर्न थाले । यसरी त्यो दिन सबैको जाग्राम गरेर रात बित्यो ।

भोलिपल्ट चण्डीप्रसाद र अरू तीर्थयात्रीहरू डुंगामा बसेर कोशी नदीमा घुम्न थाले । सबै आ-आफ्नै सुरमा थिए । अलिकति कुहिरो पनि लागेको थियो । चण्डीप्रसादको छेवैमा एकजना युवती रमिली थिइन् । रमिलीका श्रीमान ब्यापारी थिए र सोही शिलशिलामा काठमाण्डौं, बिराटनगर गरिरहन्थे । चण्डीप्रसादले रमिलीलाई भने – “ए रमिली तलाईँ डुंगामा मजा आएन ?”

रमिलीले भनि -“हजूरबा पनि के के सोध्नुहुन्छ !”

“यस्तो डरमर्दो छ डुबियो भने कोशीमा । ए रमिली त र म यो कोशीपारि गएर उतै सधैको लागि बसौँ न । हुन्न ?”

अब रमिलीलाई रिस उठ्यो -“ए हजूर बा मुख बन्ध गर, यस्तो छाडा कुरा नगर ।”

चण्डीप्रसादले कुरा घुमाएर अन्त मोड्दै भने -“यो त कस्ती रहिछ, त र म मात्रै हो र, सबै डुल्न जाउँ पो भनेको त !”

यत्तिकैमा डुंगा चलाउनेले उत्रिने ठाउ आयो भनेकाले सबै उत्रिए ।

तीर्थबाट सबै फर्किए । चण्डीप्रसादलाई रमिलीसित आफ्नो ब्यबहार सम्झेर आफै प्रति नराम्रो लागेर आयो । उनले यस्तैमा एकदिन रमिलीसित बिनय गर्दै भने -“रमिली नरिसा है, त्यो दिन मेरो गल्ती नै भएछ, मैले नजाने के के भने, मैले आफू बुढो भैसकेको कुरा नै बिर्सेछु ।”

“उ बेला आखा देख्नु भएन, ल ल यस्तो कसैलाई झुक्केर पनि नभन्नु ।” यति भनेर रमिली फटाफट हिडी । चण्डीप्रसादले ठाने आज उनको गरुंगो मन हलुका हुँदै गइरहेको छ ।

अस्तु :

विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा हाल : अबुधाबी, यु ए इ

Leave a Reply

Your email address will not be published. Required fields are marked *