Skip to content


सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले बूढाको स्वरमा गाउनुभयो, मैले बाल्यकालदेखि साँचेर राखेको त्यही छिमेकी आमैको स्वरले गाएँ। पछि सुन्दा गजब लाग्यो।

त्यही दोहोरी गीतमा बूढीआमै बनेर मञ्चमा नाच्दा सबैले मन पराए। मेरो जीउडाल अग्लो भएकाले साडी लगाउँदा ताल न बेतालको भकारी जस्तो देखिए पनि ढाड कुप्रो पार्दा बूढीआमै सुहाउँदो भयो। स्वर पनि बूढीआमैको बनाउँदा अझ् सुहायो। पछि त्यही गेटअपमा माओवादी सशस्त्र युद्धको कथा समेटेर गणेश रसिकको ‘घरबेटी आमा, आँगनमा देउ न मलाई बास…’ भन्ने पुरानो गीतको लयमा गाउँदा दर्शक रोएका थिए। गीत र नाचले मात्र चित्त नबुझेर पछि ‘आमा’ टेलिफिल्म नै बनायौं।

त्यो सिरियलमा संविधानसभाको चुनावअघि मरेकी एक जना आमैले बल्ल–बल्ल नेपालमा आएको यस्तो ऐतिहासिक अवसरमा भोट खसाल्न फिर्ता जान पाऊँ भन्दै स्वर्गमा विद्रोह गर्छिन्। उनले ठूलो खल्लीबल्ली मच्चाएपछि सबै धर्मका देवताको बैठक बसेर संविधानसभाबारे सोधपुछ गर्छन्। एक भागको त्यो सिरियल संविधानसभा के हो भनेर नेपाली जनमानसलाई बुझाउन सफल भयो। पछि जातीय सद्भाव, सुव्यवस्था, शान्ति प्रक्रिया आदि कुरालाई समेटेर १५ भागको लामै सिरियल बनायौं, सबैले मन पराए। त्यसमा मेरो भूमिका बूढीआमाकै थियो।

आमाको भूमिका गर्नु भने एकदमै कठिन थियो, जस्तो कि आमा हुन गाह्रो हुन्छ। भारतमा कमल हसनले महिलाको सजीव भूमिका गर्दा मिडियाहरूले धेरै चर्चा गरेका थिए। नेपालमा भने मिडियाको आँखा नै सानो भएकाले होला, मैले गरेको आमाको सार्थक भूमिकाबारे त्यति चर्चा भएन। एउटी महिला, त्यो पनि ८० वर्षकी आमाको ‘फिलिङ्स’सहित अभिनय गर्नु आफैंमा गाह्रो काम थियो। किनभने, हाउभाउ र अनुभव व्यक्त गर्ने आमाहरूको तरीकालाई उमेर र ठाउँले फरक पारिरहेको हुन्छ। एउटा सन्तान पाएकी शहरबजारकी उमेरदार आमाको अभिनय हो भने उति गाह्रो हुँदैनथ्यो होला। अथवा वृद्ध नै भए पनि शहरकी हुन् भने सेतो विग लगाए पुग्थ्यो होला। तर, गाउँकी बूढीआमैले ढुङ्ग्री, लाछा, बाह्रहाते गुन्यूँ लगाउँछिन्। मैले धेरैबेर ढुङ्ग्री लगाउँदा कान दुख्थ्यो। टाउकोमा विगसहित मेकअप गरेर दिनभरि छायाङ्कन गर्दा एकदम गाह्रो हुन्थ्यो। खिच्दा जति कुप्रो पर्‍यो उति राम्रो, तर ढाड दुखेर हैरान हुन्थें। लगातार दुख्न थालेपछि रु.१८ हजार खर्च गरेर स्क्यानिङ नै गर्नु पर्‍यो।

तर, मेरो सिरियल हेरेका बूढीआमैहरूले समेत भेट्दा ‘कस्तो ठ्याक्कै गर्न सकेको’ भन्थे, मलाई ठूलो सन्तुष्टि मिल्थ्यो। मैले गरेको अभिनयमध्ये सबभन्दा राम्रो चरित्र पनि यही हो। निर्वाचन आयोगले हरेक पटक विज्ञापन बनाउँदा यही चरित्र खोज्छ। भर्खरै एउटा विज्ञापनमा पनि ‘आमा’ नै बनेको छु। सात वर्षको हुँदा बुबा र ११ वर्षमा आमा गुमाउनु परे पनि छिमेकी आमैले मलाई आमाको अभिनय गर्ने आधार बनाइदिइन्। बाल्यकालको छापले गर्दा आमाको भूमिका निर्वाह गर्न सफल भएँ।

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *