Skip to content

निःशुल्क नोकर्नी

  • by


शनिबारको दिन थियो । ऊ ढिलै गरेर उठ्यो । दलानमा विद्यार्थी भरिएका रहेछन् । शनिबार पनि विद्यार्थी ! केही सोध्न आए होलान् भन्ठानी हत्त न पत्त दाँत माझ्यो, मुख धोयो । उनीहरू सामु बस्न तयार भयो ।

“सर ! अरू दिन मौकै पाइन्न । व्याकरणमा समस्या छ ।” किताब दिँदै छात्रा सोनाले भनिन् । उसले पनि उनीहरूसँग एक घण्टा वितायो ।

झल्याँस्स सम्झ्यो । ए ! आज शनिबारका दैनिक पत्रिकाहरूले मेरा रचनाहरू त छापिनन् भन्दै पत्रिका पसलतिर दौडियो । समयमा नपुगे पत्रिका किन्न त के हेर्न पनि नपाउने राजविराज क्षेत्रको शिक्षक थियो ऊ । नभन्दै एक दैनिकले ‘चार लघुकथा’ शीर्षकमा उसका लघुकथा छापिदिएछ । खुशी हुँदै रु. १०।– तिरेर पत्रिका लियो र साइकलको डालीमा राख्यो ।

घर फर्किंदा मनमा कुरा खेल्न थाल्यो– आज शुभ दिन रहेछ । मुख गुलियो पार्नैपर्छ । पसल पुग्यो । जेरी किन्यो र डेरा पुगी पत्नीका हातमा थम्यायो ।

“आई कत सँ सूरज उगल ।” (आज कताबाट सूर्य उदायो ।) पत्नीको प्रतिक्रिया सुन्यो ।

ऊ खुशी साट्न चाहन्थ्यो । पाएन । खुत्रुक्कै भयो । मेचमा बस्यो र पुस्तक पल्टाउन थाल्यो ।

पत्नी पनि भर्खरै ल्याएको पत्रिका पल्टाउन थाली । श्रीमान्का रचना भेटिछ । मुख बिगारी । ऊ अझ सशङ्कित भयो ।

पतिको खुशीमा खुशी हुन नसक्ने पत्नी पनि संसारमा हुँदा रहेछन् भन्ने आशयका कुरा गर्न ऊ वाध्य भयो । कोसँग खुशी साट्नु भनी अलमलमा पर्यो ।

“जँ अहाँ हमर दुःख सँ दुखित नही होयव, तखन हम अहाँके खुशीमे कोना खुस होयब ?” (जब तपाईं मेरो दुःखमा दुखित हुनुहुन्न, तब म तपाईंको खुशीमा कसरी खुशी हुन सक्छु ?) उसले पनि प्रतिप्रश्न तेर्साई । उसले पनि पतिपत्नीको सुमधुर मेलबाट मात्रै व्यवस्थित परिवारको परिकल्पना गर्न सकिन्छ भन्ने आशयको जवाफ फर्कायो । सुखदुःखमा मिलिजुली सहभागी हुने बाचाबन्धन गरेकाले नै पति र पत्नी भएका हुन् भन्ने सन्तुलित कुरा अघि सार्न समेत ऊ पछि परेन ।

“अहाँके काज करैत, करैत हमर देह सुकि गेलै ।” (तपाईंको काम गर्दा, गर्दा मेरो शरीर सुकी सक्यो ।)

जवाफमा ऊ मुस्कुरायो र टाउको हल्यायो । वास्तवमा पत्नीले घरायसी कामकाज चाहिँ गरिदिएकै थिई । आफ्नी लेखपढ गरेकी पत्नी पनि हरेक काममा सहयोगी भएको उसले पाएको थियो । तर, साहित्य भने पछि उसको मनमा वितृष्णा उत्पन्न हुँदो रहेछ भन्ने कुरा भने भर्खरै मात्र बुझ्न सकेको थियो ।

“अहाँ खाली बसाहा जँका माथ हल्लाबु ! सब कुछ करैवला हम अहाँके निःशुल्क नोरिया छी । अहाँके माथपर कोनो जिम्मेवारी नही छै ।” (तपाईं खाली बसाहा जस्तो टाउको हल्लाउनुस् ! सबैथोक गर्ने म तपाईंकी निःशुल्क नोकर्नी छँदै छु । तपाईंको टाउको माथि कुनै जिम्मेवारी छैन ।) पत्नीले आक्रोश पोखी ।

ऊ भने ‘निःशुल्क नोकर्नी’ शब्दकै वरपर घुम्न थाल्यो ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
फोन नं -०३१५२००३८, ९८१४७०००९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *