Skip to content

म, मेरो देश र मोरक्को

  • by


आमा दशैँमा आर्शिवाद के दिनुभयो ? जहाँ दशा दिएर दशैँ मनाउँनेको भीड देखिन्छ । म त गाँस, बास र कपासकै लागि कतै भोकै रिक्सामा भारी लादेर अनि कतै थाप्लोको नाम्लो बिसाउन नपाएका नेपालीहरूको रित्तो निधार देख्छु । सायद पसिनाले पुछियो होला उनीहरूको बिजय उत्सवको रातो टीका अनि कानको पहेलो जमारा नाम्लोले छेक्यो होला । युद्ध र आतङ्कको मारसँग बर्षौदेखि कि लास देउ कि स्वास देखाउँ भन्दै आसोच बारिरहेका नेपालीहरू कम्ति रोइरहेकाछैनन् ।

आमा, यो दशैँ कसको लागि र के को विजय उत्सव हो ? यो सदियौँदेखिको चिसो चुल्लो र नाङ्गो आङ्गमा आशाको दियो बाल्दै दशा खेपिरहेका गरिब नेपाली जनताको आवाज बोकेका छौ भन्नेहरू रिसोट, होटल, रेष्टुरेन्ट र आलीसान महलमा खसी, बोका, कुखुरा, हाँस, राँगा, बँगुर र बदेलको सेकुवा रोजीछाडी रेडलेवल र ब्यालकलेबलसँग हसुरेर डकारदै संविधान र जनताको हकहितको कुरा गरेको खबर मोरक्कोमा बसेर सुन्न पाउँदा एक्लै हाँसिरहेको छु ।

यो अफ्रिकामा अवस्थित फ्रान्सको उपनिवेश रहि सकेको मुख्यत अरबी र फ्रान्सेली भाषा बोलिने देश रहेछ । हाम्रो जस्तै बिभिन्न स्थानमा बेग्ला बेग्लै भाषा पनि सुन्न पाइन्छ । मुस्लिम देश भएर पनि यहाँका जनताले यूरोपेली संभ्यता अगालेको देखिन्छ । महिला कालो बूर्कामा हिडेको देख्न चामलको विया झै खोज्नु पर्छ । धेरै जसो अरब मुलका धनाढ्यहरू यहाँ मनोञ्जनको लागि आउने रहेछन् । हावापानीको हिसावमा हाम्रो पहाडी हावापानी झै यहाँ चिसो हावापानी छ । यहाँका महिलाहरू सुन्दर रहेछन् । सुन्दरताको रसपान गर्न कसलाई पो मन नलाग्ला यसैले होला बिभिन्न देशबाट धनाढ्य मान्छेहरू आएर घर बनाएर बस्दै सुन्दरताको रसपान गरिरहेछन् । यहाँ बिदेशीले जग्गा किनेर आफ्नो घर बनाएर बस्न दिइने रहेछ । यहाँको मुख्य खेती गौं रहेछ । फलफूलमा अंगुर, अनार र जैतुनको खेती नै गरेको देख्न पाइन्छ । यहाँको खानामा पाउरोटी मुख्य रहेछ । हाम्रो गाउँघरमा झै यहाँ पनि कतै कतै पशूपालन छ । गाई र भेडा यहाँका मुख्य पशूपालनमा पर्छन । यहाँ पनि नेपालमा जस्तै मजदुरी गर्ने गरिबहरू रहेछन् । एटलान्टिक महासागरसँग जोडिएको देश समुद्रको मनोहर छालमा अबस्थित राजधानी रावतमा छालाका राम्रा राम्रा झोला, ज्याकेट, जुता, पेटी, पर्स अन्य सामानहरू किन्न पाइन्छ । यो देशले महिला सुन्दरतापछि छालाको सामानमा नाम कहलाएको रहेछ । सुख्खा पहाडसँग अवस्थित उराठिलो मरुभूमिको टाटाउ भन्ने स्थानमा जाँदा त्यहाँको जहाजग्राउण्ड अनि पिच बाटो देख्दा सरकारले चाह्यो भने के हुने रहेनछ र जस्तो लाग्यो । यहाँ हरेक पहाडी बस्ती बस्तीमा पिचबाटो र बिजुलीबती पुगेको छ । मैले मोरक्कोको राजधानी रावतबाट एक घण्टाको बस यात्रामा पुगिने अनअउदा गाउँको ताल र पहाडसँग खेल्ने शौभाग्य पाएँ । यहाँ पनि केही बर्ष अघिसम्म राजाको शासन रहेछ । जनताले प्रजातन्त्र मागेको बखत रगतको खोला नबगाई यहाँको राजाले शासन सत्ता जनतालाई सुम्पेको भएर होला यहाँका जनताले राजालाई सम्मान गर्ने रहेछन् । माया गर्ने रहेछन् ।

हाम्रो देशमा राजालाई त के आमा, हजुरलाई माया गर्ने सन्तान देख्न पाइन । सायद म पनि सपूत हुन सकिन भएको भए यो दशैंमा ति चिसो चुल्होमा म न्यानो आगो बाल्ने थिए होला । बस्तीका झुप्रोहरूबाट पनि चुल्लो जलेको धुवा निक्लदो हो । आफ्नै बाझो बारी जोतेर कृषि क्रान्ति भित्राउथें होला । सुनेको छु, रसिया, जापान लगायत अन्य मुलुकमा बस्ने र काम गर्ने अग्रजहरूले नेपालको बिकासमा हात हाल्न थाल्नु भएको छ रे, गरिबी निवाकरणमा जोड दिनु भएको छ रे । यस्तो भएकै हो भने आमा बिदेशिएका सँच्चा सपूतहरूलाई बाह्य मात्र होइन सत्तामै बसेर पनि काम गर्ने मौका दिनु पर्छ होला । आमा नेपालीको सपना टुटेर आशा मरेको धेरै भयो । मैले सपना देखँे । त्यसलाई परा गर्न बिदेश आएँ । तर अरुले जस्तो सपना बाँडेर धोका दिएको छैन । सहिदको रगतमा होली खेलेको छैन । आमा यहाँ हाम्रो घरमा जस्तो चेलीबेटीको कपडा च्यातिदैन । उनीहरूको इच्छाले खोलिन्छ । आमाको बलत्कार गर्न बिदेशी गुहाररिदैन । यहाँ आमाको अगं अगं काट्न आफ्नै सन्तान लालहित छैनन् ।

आमा यहाँ जसले जे बेचे पनि उसको अधिकारभित्र रहेर उसकै भाउँमा बेचिन्छ । नाम जे दिए पनि दाम उसको हातमा पर्छ । उसको भविष्यको सहारा बन्छ । हाम्रो जस्तो पुरुषले मूल्य तोक्दैनन् । पुरुषले मूल्य कुम्लाएर महिलाहरूलाई नरकमा धकेल्दैनन् । जुन हिजो बम्बैसम्म पुराईन्थ्यो अहिले गल्फसम्म धकेलिएको छ जसमा केटी खोज्ने अनपढ गाँउलेदेखि एर्पोट छिराउने उच्चपद शिक्षित कर्मचारी समेल सामेले भैरेहेकाछन् । अहिले आएर यो पेशा हाम्रो आफ्नै शहर शहरमा उच्चपदस्थ पहुचवालाको छत्रछायाँमा फैलाइएको छ तर नेपाली चेलीहरूले उचित मूल्य त के आफ्नै अधिकार र इच्छामा आफ्नो बस्त्र खोल्न र लाउँन पाउदैनन् । हज्जारौं नेपाली जनताले रगत बगाएर ल्याएको संविधान यत्रो बर्ष बित्दासम्म दिन नसक्नेहरूले के नारी अधिकार र यो सभ्यताको देखासिकी गर्लान !

आमा म विश्व सामु नझुकेको सन्तान कसरी भन्न सक्छु ! अदृष्यमा अरुको ईशारामा चलिरहेछु । म बिदेशमा आफ्नो सपना पुरा गर्न साहुको ईशारामा चलेँ । तर घरमा त सपना टुटाउन दाजुहरू बिदेशी ईशारामा पालै पालो सत्ता हाकिरहेकाछन् । सत्तामा काले गोरे जुन दाइ गए पनि नेपाली हुन् र हामीलाई संविधान चाहिएको हो बिडम्वना यिनमा त सत्ता र भत्ताको होडबाजी चलिरहेछ । मोरक्कोमा पनि राजाको शासन थियो । जहाँ साधारण क्रान्तिमा बिना रक्तपात शान्ति आयो । हाम्रो देशमा भएको शान्ति पनि गयो । म घर आएर पनि आफ्नै गाउँमा रातबिरात के एक्लै दिउँसो हिन्न पाउँदिन । घरपरिवार छोडेर, यौवनमा जलेर, पसिना पोखेर कमाएको धन सपना टुटाउँदै यिनै दाइका भरौटेहरूलाई चन्दा दिनु पर्छ । नत्र अलविदा भन्छन् । देख्दा देख्दै यो कस्तो दिन आयो ? नेपाल बुद्ध जन्मेको देश म कसरी भन्न सक्छु जहाँ हरपल हत्या, लुट, बलत्कार र आतङ्क आफ्नै दाजुहरूले पालैपालो मच्चाइरहेकाछन् । अरु कसैले होइन सत्ता र भत्ता खाएका दाइहरूले अदृष्यमा रहेर यो सबै गरिरहेकाछन् । यसैले तै चुप मै चुप बसिरहेछन् । आमा, धेरै बर्ष भयो । शान्ति हराई । विश्वास मर्यो । माया घरमा छैन । हज्जारौं नेपालीको रगतमा होली खेल्दै हाम्रा दाइहरू, यो के को बिजय उत्सवमा रिसोट, होटल, रेष्टुराँ र महलमा बसेर दशैं मनाई रहेकाछन् । आमा, कृपया एक पल्ट सोधिदिनु न । केको बिजय उत्सवमा दशैं मनाईरहेछन् ।

धन्यवाद ।

बसन्तमोहन अधिकारी
मोरक्को

Leave a Reply

Your email address will not be published. Required fields are marked *