Skip to content


रबरजस्तो कति तन्काउनु मनलाई
आरनजस्तो कति पिटिरहनु बुद्धिलाई
कहिलेकाहीँ मनलाई झिकेर, आफैँबाट सङ्लो पानीमा धोइबस्छु
अनि, अरूको मनमा खुसी हुन्छु, कति खाँद्नु उही ओसिलो बुद्धि खप्परमा
कहिलेकाहीँ बुद्धिलाई खप्परबाट झिकेर घाममा सुकाउँछु
अनि, अरूको बुद्धिमा आनन्द लिन्छु
जन्मिएदेखिका अनेक बोझले, फलामको डल्लोजस्तो बनेको भारी टाउको
घाँटीबाट थपक्क झिकेर पुस्तक र्‍याकमा राखेर
अरूकै सपनामा म घन्टौँ मस्त निदाउँछु ।
कति आफ्नै टाउको, आफ्नै मन
आफ्नै बुद्धिको कैदी बन्नु
म हाँस्नै लागेका बेला तिमी हावाजस्तो आउँछौ, मेरा खुल्नै लागेका ओठ दबाएर
तिमी घनघोर वर्षाअघिको आकाशजस्तो बन्छौ
म भने तिमीसँग कुनै विवाद नगरीकनै घर र्फकन्छु
र, कहिल्यै अनुभूत गर्न नसकेको खुसी हुन्छु ।
कति हिँड्नु यी बाटाहरू मेरै मात्र खुट्टाले
खुट्टा झिकेर कम्मरबाट कहिलेकाहीँ सिँढीमा राख्छु
अनि, अरूको यात्रा हेरिबस्छु, अरूले गरेको सुन्दर यात्रा हेर्नु, बताउनु
यात्राबारे सिक्नुजस्तो जिन्दगीको रमाइलो के नै छ र !
कहिलेकाहीँ यी दुवै हात झिकेर
बैठक कोठामा राख्छु अनि अरूकै पौरख हेरेर गर्व गर्छु
अरूकै सफलतामा ताली पिट्छु, कति आफ्नै पौरखको रामायण सुनाउनु
सबै आफैँ मात्र गर्न खोज्नु नै दुःख रोज्नु रहेछ
आखिर अरू बाँचे त म पनि बाँच्ने रहेछु
भर्खरै आर्यघाट गएर तिमी र म सँगै फर्केका छौँ
सत्य त नाङ्गो रहेछ/सत्य त अन्त्य रहेछ
खुसीका लागि कति दुःख खेप्नु, हाँसोका लागि कति भ्रम बाँच्नु
प्रिय मित्र, दुःखको आहालबाट बाहिर आउन सक्छौ ?

नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *