“कहिले राजधानी धाउँछु, कहिले घर पुग्छु, कहिले कहाँ हुन्छु, कहिले यहीं रहन्छु ! कुन बेला कुन चिजको खाँचो पर्छ भन्नै सकिँदैन ।” एकाएक रामाधिन एक्लै भुत्भुताइरहेका भेटिए ।
“भएको चाहिँ के हो ?” मैले प्रश्न तेर्साएँ ।
उनको मनको फेहरिस्त बुझ्दा पत्ता लाग्यो– बल्लतल्ल राजी गराएछन् । विदेसबाट पैसा आएछ । त्यो पैसा लिन नागरिकताको फोटोकपी चाहियो रे । कहाँबाट नागरिकता पाउनु ! राजविराजमै छाडेर राजधानी भित्रेको तीन महिना टेकी सकेको थियो । प्राइभेट क्याम्पसको जागिर छाडेर पी.एच.डी. गर्ने कोसिस गरिरहेका थिए । सफलता हात परेको थिएन । कसै गरेर साथीहरूसँग आर्थिक सहयोग जुटाएर काठमाडौंमा टिक्ने ध्याउन्नमा थिए । विदेशमा बस्ने साथीको तर्फबाट पैसा आएको थियो । पैसा निस्कन सकेको थिएन । घर पुगेर नागरिकता लिएर फर्किंदा, आएको पैसा पनि फर्की सक्ने प्रबल सम्भावना थियो ।
मैले पनि कुनै सल्लाह दिन सकिरहेको थिइन । हामी दुबै मौन थियौँ । हठात् बब्लु यादवजीको प्रवेश भयो । उनले समेत वस्तुस्थिति र परिस्थिति बुझे र एक्कासी आवाज निकाले, “हम अपन सर्टिफिकेट सभ हावामा राख्ने छी । जखन काज परते, तखन फोटो कापी निकालै छिए ।” (मैले त आफ्ना प्रमाण पत्रहरू हावामा राखेको छु । जहिले काम पर्छ, तहिले फोटो कापी निकाल्छु ।)
अरू कुरा सोध्न सकिएन । उनी हिँडिहाले । दिमाखमा तरङ्ग ल्याइदिए । हावामा प्रमाणपत्रहरू कसरी राख्ने होला ! प्रश्न तेर्सियो । खोजयात्रामा ननिस्कीकन सुख पाइएन । विश्वविद्यालयमा पुगेर पहिले बुझाएको फोटोकपी मागी त्यसैको फोटोकापी गरी काम चलाइयो ।
रामाधिनले पैसा हातमा परेपछि हामी दुबैका सम्पूर्ण कागजपत्र मगाए । ती पाँच दिनमा राजधानीमा हाम्रो हात परे । अब कसरी हावामा राख्ने ? उत्तरविहीन प्रश्न मडारिरहन्थ्यो । बब्लुजीलाई उपाय सुल्झाउन कर गरियो । उनले धेरै भन्नै चाहेनन् । केवल यत्ति भन्दिए, “विज्ञान आ प्रविधिके ईस युगमे सभ टेन्सन दुर भ’जेतै । ओकर उपयोग करबाक चाही ।” (विज्ञान र प्रविधिको यस युगमा सबै टेन्सन हल हुन्छन् । त्यसको उपयोग गर्नुपर्छ ।)
वास्तवमा हातहातमा विज्ञानप्रविधिको सुविधा पुगेको छ । उपयोग गर्न जान्ने मालामाल भएको छ । नजान्ने पछि परेको छ । कोठामा बसीबसी संसारभर घुम्ने र जागिर खाई पैसा कमाउन सक्ने क्षमता पनि मान्छेमा नै विकसित भएको । नजान्ने र सही उपयोग नगर्ने मान्छे, सानोतिनो समस्याबाट समेत पार पाउन सकिरहेको छैन ।
हामी गन्थन गर्दा भयौं । अन्त्यमा थाहा पाइयो– स्क्यानिङ्ग गरेर कागजपत्रहरू इमेलमा राख्ने र चाहिएको बेला प्रिन्ट गरी काम चलाउने !
हावामा सर्टिफिकेट राख्ने कुराको रहस्य बोध हुँदा पी.एच.डी.को विद्यार्थी बन्न लागेका हामी दुबै मुखामुख गर्न थाल्यौं । अवोध बालकझैं भएको महसुस गर्न थाल्यौँ ।
नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार – लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
फोन नं -०३१५२००३८, ९८१४७०००९९
